जातीय गर्वले होइन, मानवीय चेतनाले उचो देखिने समाज निर्माणमा जुटौँ

पवन नेपाली

नेपाली समाज अहिले पनि एउटा गहिरो सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नेपाली जातिय सङ्क्रमण, राजनीतिक सङ्क्रमण मात्र होइन, मानसिक सङ्क्रमणमा छ । हामीले धेरै पटक सुनेका शब्दहरु ः ‘नयाँ नेपाल’, ‘अग्रगमन’, ‘परिवर्तन’, ‘समानता’ भन्ने कुरा अझै पनि कागजमै टाँसिएको घोषणा पत्र जस्तै लाग्छन् । किनकि वास्तविकतामा, केही मानिसको दिमागी रोग जातीय अहंकार, श्रेष्ठताबोध, र दलितलाई दबाउने पुरानो प्रवृत्ति अझै उस्तै ज्यूँका त्यूँ देखिन्छ ।

यो कुरा सन्तोष परियारले रवि लामिछानेको राष्टिय स्वतन्त्र पार्टी (रवि लामीछाने क्लब) छोड्ने राजनीतिक निर्णयको उत्पन्न विवाद जति ठूलो होइन । सत्य त यो हो, उनीमाथि भएको जातीय टिप्पणीकै कारण हाम्रो समाजको वास्तविक अनुहार फेरि नाङ्गै देखिएको छ । सन्तोष परियारलाई आलोचना गर्न, उनको राजनीतिक कदमलाई व्याख्या गर्न, वा उनीप्रति असहमति जनाउन सबैलाई अधिकार छ ।

तर, असहमति व्यक्त गर्ने नाममा उनको क्षमतालाई दलित भएको आधारमा होच्याउने, अपमानजनक शब्द बोल्ने, वा उनीमाथि सामाजिक हिंसा प्रदर्शन गर्ने अधिकार कसैलाई छैन । यो आलोचना होइन– त्यो त जातीय घृणा हो । सन्तोष परियारको क्षमता ‘दलित’ शब्दभित्र सीमित छैन । दलित हुनु एक पहिचान हो, एक ऐतिहासिक यथार्थ हो, तर क्षमता, बुद्धि, योग्यताको मापदण्ड होइन ।

हामीले कहिल्यै विचार गर्छौँ ? किन, एउटा दलित नेता सक्षम देखिँदा, बोल्दा, उठ्दा, विरोध गर्दा त्यसै क्षण केही मानिस भित्रबाट पुरानो जातीय रोग उत्तेजित हुन्छ र पल्किन्छ किन एकजना नेतालाई ‘उनी दलित भएका कारण यस्तो ग¥यो’ भनेर भन्न सहज लाग्छ, तर किन उनी सक्षम छन्, योग्य छन्, बौद्धिक छन भन्न गाह्रो पर्छ । कारण सरल छ, हाम्रो समाजमा अझै पनि धेरै मानिसले दलितको क्षमतालाई सहजै स्वीकार्न नसक्ने पूर्वाग्रही जातिवादी मनोरोग बोकेर हिँडेका छन् ।

त्यसैले सन्तोष परियारले रास्वपा क्लव छोडे पछि, उनी विरुद्ध उछालिएका केही शब्दहरु– ‘यो त जातकै कारण यस्तो भयो’, ‘दलित क्षमतावान नै हुँदैनन’, ‘उनीहरुको कामै यस्तै हुन्छ’, यी सबै वाक्यहरु आलोचना मात्र हैन यी त नसुनिने, असह्य, र युगौँदेखि चल्दै आएको जातीय उत्पीडनको प्रतिध्वनि हुन् ।

रास्वपा वा ‘घण्टी क्लब’ पार्टीको नाम परिवर्तनले संस्कृति बदलिँदैन । ‘घण्टी क्लब’को व्यक्ति र समुदायप्रतिको दृष्टिकोण कति परिष्कृत छ । सन्तोष परियारले पार्टी छाडे, त्यो उनको राजनीतिक निर्णय हो । तर, त्यसपछि देखिएको व्यवहार उनीमाथि भएको तिरस्कार, यो कुनै पार्टीको पक्ष–विपक्षभन्दा गहिरो छ । यो त हाम्रो समाजको सामूहिक जातिय रोग हो । जहाँ कसैलाई उचो देख्न नसक्ने मानसिकता जातको भित्तामा ठोकिएर झन् झल्किन्छ ।

राजनीतिक असहमति गर्नेलाई सम्मान गर्नुपर्ने ठाउँमा, दलित भएको आधारमा उनलाई सानो बनाउने प्रयास, उनको योगदानलाई अस्वीकार गर्ने प्रवृत्ति, त्यो पनि सामाजिक सञ्जालदेखि चिया गफसम्मले देखाउँछ कि ‘नयाँ पुस्ता’ भनेर गर्व गर्ने हामी अझै पनि सोचमा पुरानै छौँ । आलोचना गरौँ तर जातमा नझरौँ नेपालमा राजनीति गर्न पाउने हरेक व्यक्तिको भावना व्यक्तिगत अधिकारसँग गाँसिएको विषय हो ।

कोही मन परोस् वा नपरोस्, यो लोकतन्त्रकै सौन्दर्य हो । तर, आलोचनाको हक प्रयोग गर्ने नाममा जातीय अपमान गर्नु भनेको लोकतन्त्र होइन दुराचार हो । हामी कति विचलित मानसिकतामा पुगेका छौँ भने कसैको क्षमता, विचार, काम, सिद्धान्तमाथि प्रश्न उठाउन गाह्रो हुन्छ । तर जन्म, जात, थरमाथि टिप्पणी गर्न धेरै सजिलो । यति सजिलै कसैले भन्न सक्छ ‘दलित भएर त यस्तो गर्छन्’, ‘यिनिहरुलाई त यत्तिकै दिन मिल्छ’,

‘पौडी प्रतियोगितामा गराउत दलितको हालक के हुन्छ ।’ ‘तालिम, शिक्षा, अभ्यासले के फरक पर्छ जन्म त त्यही हो’ यी वाक्यहरु जतिसुकै सामान्य लागे पनि नेपाली सम्पूर्ण दलित समुदायका मानिसको आत्मसम्मान माथि एक पटक होइन, हरेक क्षण चोट पु¥याइरहेका हुन्छन् । यी यावत कुराले नेपाली शासन व्यवस्था र पार्टी वा क्लब अहिले पनि दलितको क्षमता स्वीकार गर्न नसक्ने मानसिकता देख्दा बहुदल, गणतन्त्र हुदै देश चलिरहँदा हाम्रो विफल छ भन्ने ठुलो प्रमाण हो ।

दलित समुदाय दशकौँदेखि अधिकार, सम्मान, अवसर र समान व्यवहारका लागि लड्दै आएको समुदाय हो । त्यसैले कुनै दलित व्यक्ति आफ्नो श्रम, बुद्धि, संघर्ष र प्रतिबद्धताबाट अगाडि बढेपछि त्यसप्रति सम्मान गर्नु त हाम्रो दायित्व र अग्रगमन हो । तर, केही मानिस भित्रै–भित्रै डराउँछन् ‘दलित व्यक्तिहरु उठे भने, समान बने भने, हामी कता पुग्ने’ यही डरले उनीहरुलाई जातीय टिप्पणी गर्न प्रेरित गर्छ । यो डर होइन, यो श्रेष्ठताबोधको पतनको डर हो ।

यथार्थ के हो भने कसैलाई समान बनाउँदैमा हाम्रो क्षमता र योग्यता घट्दैन बरु हाम्रो समाज उचो हुन्छ, सोच उचो हुन्छ, भविष्य उचो हुन्छ । भन्दै परिवर्तनको लडाइँ लड्नु सन्तोष परियार मात्रको होइन, जातीयता आधारमा गरिने विभेद हाम्रो हो । सन्तोष परियार व्यक्तिमात्र हुन्, उनी माथि भएको जातीय आक्रमण भने हाम्रो सामूहिक चेतना प्रतिको प्रश्न हो । यदि हामीले यस्ता घटनालाई सामान्य मान्दै जाने हो भने, हामी कागजमा समानता लेखेर, मन्चमा समानताको भाषण गरेर, घर–सडकमा भने विभेद गरेर दुईवटै चरित्र बोकेर हिँड्ने दम्भ र आडम्बरी समाज बन्नेछौँ ।

यस्तो समाजले प्रगतिशीलता होइन आफ्नै पतन लेख्दै जान्छ । नेपाली अग्रगामी युवाले उत्तर दिनु पर्ने समय आएको छ । आज सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय शक्ति युवा पुस्ता हो तर दुर्भाग्य के छ भने, यसै पुस्ताले प्राय गाली गर्ने शैली, व्यक्तिको हैसियतलाई जातसँग जोडेर हेर्ने प्रवृत्ति, अर्काको सफलतामाथि तुच्छ टिप्पणी गर्ने बानी अझै धेरै देखिन्छ । यदि युवा पुस्ताले सोच बदलेन भने नेपालमा राजनीतिक परिवर्तन जति पटक भए पनि मानसिक परिवर्तन कहिल्यै हुने छैन ।

त्यसैले जात होइन, चेतनाले उचो बनौँ, सन्तोष परियारमाथि गरिएको जातीय टिप्पणी विरुद्ध बोल्नु उनी समर्थक बन्नु होइन, मानव बन्नु हो । हामी २१औँ शताब्दीमा छौँ, तर धेरै जसोको सोच अझै ‘जात’ को खोरभित्र, यो खोर तोडेर बाहिर नआउनु सक्नुको उदाहरण यी बेला–बेला सामाजिक संजालमा जातिय अपमान हुनु वास्तविकता यही हो ।

हामी सबै नेपाली दलित, जनजाति, मधेसी, पहाडी, ब्राह्मण–क्षेत्री सबै समान बाटो हिँड्नुपर्छ, समान सम्मान पाउनु पर्छ, समान अवसर पाउनु पर्छ । जातले होइन, न्याय, क्षमता, मानवताले मूल्याङ्कन हुने दिन आउनै पर्छ । सन्तोष परियारमाथि भएको जातीय आक्रमण उनीविरुद्ध होइन, स्वतन्त्रता, समानता र सम्मानका साथै मानवता विरुद्ध ठूलो अपराध हो । अब समय आएको छ, यसलाई केवल ‘सामाजिक सञ्जालको गाली’ भनेर हल्का पार्ने होइन, हाम्रो सोच परिवर्तनको अवसर भनेर बुझौँ र जुटौँ, हामी सबैले एकै स्वरमा भन्नुपर्छ । ‘जातीयता होइन, मानवता नै हाम्रो परिचय हो ।’

(लेखक नेपाली कांग्रेस लुम्बिनी कार्यसमितिका सदस्य तथा विद्यार्थी विभाग प्रमुख हुन ।)