उत्तरबाहिनीमा हुने श्रीमद्भागवत सप्ताहको तयारी पूरा

दाङ,८ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थित उत्तरबाहिनी क्षेत्रमा मंसिर ९ गते मंगलबारदेखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

ज्ञान महायज्ञ आयोजक मुल समितिले सोमवार महायज्ञस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय (सस्कृत गुरुकुल) सञ्चालन तथा आश्रममा मन्दिर निर्माणका लागि सञ्चालन हुन थालेको महायज्ञको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरीले महायज्ञ सञ्चालन गर्ने उत्तरबाहिनी क्षेत्रमा रहेको क्षेत्र सरसफाई, मञ्च व्यवस्थापन, प्रचारप्रसारलगायत महायज्ञको सम्पूर्ण व्यवस्थापनको काम सकिएको बताए । उनका अनुसार महायज्ञस्थलमा प्रमुख बाचिका समेत आइपुगेकी छिन । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचलको मंगलवार दिउँसो घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

दाङको इतिहासमा पहिलोपटक स्थापना भएको संस्कृत गुरुकुल वेद विद्यालयलाई प्रवद्र्धनसँगै प्रचारप्रसार गर्ने उक्त क्षेत्रमा मन्दिर निर्माण गर्ने उद्देश्यसहित उत्तरबाहिनी क्षेत्रमा महायज्ञको आयोजना गरिएको संस्कृत गुरुकुलका व्यवस्थापक एवं महायज्ञ मुल आयोजक समितिका सदस्य सचिव प्रकाश भट्टराईले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले संस्कृत गुरुकुललाई स्थानीय समुदायलाई जोड्नेसँगै प्रसचारप्रसारका लागि आयोजना गरिएको महायज्ञलाई सञ्चारका क्षेत्रबाट सम्पूर्ण सहयोग रहने बताए ।

मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने महायज्ञमा दान गर्न दाताहरु उत्साहित रहेको दाता पहिचान समितिका भरतराज रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूका नाम शिलालेखमा उल्लेख गरिने छ । महायज्ञ मुल आयोजक समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन प्रचारप्रसार उपसमितिका संयोजक निशानदाजु भट्टराईले गरेका थिए ।