टरिगाउँ एयरपोर्टमा ओर्लिए बालेन …

खेमराज रिजाल
तुलसीपुर, ६ मङ्सिर । म एकाएक राप र तापसहितको उज्यालो घाम, सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरा, एयरपोर्टमा रनवे विस्तार गर्नुपर्छ भन्ने नागरिकको भिडमा पुगेँ । जहाँ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन ओर्लने कार्यक्रम तय भएको थियो ।

रनवेको नजिकै पार्किङ स्थलमा पुगेर बालेनलाई स्वागत गर्ने तयारीमा पुगेकी थिएँ । प्लेन आयो, बालेन ओर्ले, यो एयरपोर्टको धावनमार्ग सानो भयो, बहत्तर सिटे प्लेन यहाँ चाहिन्छ भनेर बालेनलाई भन्न मात्र लागेको थिएँ, झसङ्ग व्युझिएँ । त्यो त सपना पो रहेछ ।

यो सरकारले सकेन, सायद बालेनलाई भनेर जेन–जी सरकारले एयरपोर्ट बनाउँछ कि भनेर बालेनलाई सम्झेकी थिइन्, उनले । यो सपना थियो रे, बिहिबार रातिको, तुलसिपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको । तुलसिपुरमा लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानका क्रममा सञ्चारकर्मीसँगको छलफल कार्यक्रमको अध्यक्षता गरेकी स्यानी चौधरीको सपना हो, त्यो ।

‘कार्यकालको साढे तीन वर्ष बितिसक्यो, धित मारिसकेकी थिएँ, फेरि सपनाले एयरपोर्ट व्युँझाइदियो’, तुलसिपुर उपमहानगरपालिका उपप्रमुख चौधरीले फेरि एयरपोर्ट नै बोलिन् । यत्रो नगरपालिका जल्यो, के बन्ला एयरपोर्ट भन्दै खिन्न देखिएकी स्यानीले लैङ्गिक हिंसाको कार्यक्रममा पनि एयरपोर्टको कुरा लेख्न सञ्चारकर्मीहरूलाई आग्रह गरिन् ।

‘मेरो त कार्यकाल सकिन लाग्यो तर तपाईंहरूले लेख्न नछाड्नु होला है, यहाँ बहत्तरसिटे जहाज आउने एयरपोर्ट बनाउन गाह्रो छैन । खाली इच्छाशक्ति मात्रै जागृत गराइदिने हो । एयरपोर्टमा कुनै नेताले राजनीति गर्ने होइन’, उनले भनिन् ।

दाङको समग्र समृद्धि ठुलो जहाज ओर्लने एयरपोर्ट नभएकै कारण अल्झनमा परेको छ । स्वास्थ्य सेवाको स्तर वृद्धि गर्न सुपरस्पेसलिस्ट डाक्टर चाहिन्छ तर जहाज नियमित नभएको भन्दै डाक्टर आउन मान्दैनन् । लगानीको यहाँ थुप्रै सम्भावना छ तर लगानी गर्न बहुराष्ट्रिय कम्पनी आउँदैनन्, हवाई सेवा नियमित नभएकै कारण । ‘त्यो भएर दाङको भविष्य खोज्ने हो भने तपाईंहरूले एयरपोर्टलाई अभिन्न अभियानकै रूपमा लैजानु होला । मेरो यति मात्र सुझाव हो’, स्यानीले यति भन्दै लैङ्गिक हिंसा विरुद्धको अभियानको बिट मारिन् ।

स्यानीले एयरपोर्टको आवाज स्थानीय स्तरमा उठाउने अब्बल नेतृ हुन् । उनी उपप्रमुख भएबित्तिकै एयरपोर्टको स्तरवृद्धिमा आवाज उठाउन थालिन् । नगरपालिकाकै इन्निनियर लगेर फेरि सर्भे गराइन् । पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणमा आफैँ फाइल लगेर गइन् । एयरपोर्ट क्षेत्रको झाडी सफा गर्न आफैँ नगर प्रहरी लगेर पुगिन् ।

एयरपोर्टभित्रको इन्धन डिपोको ब्राउजर अन्तै लान खोज्दा तुलसिपुर उद्योग वाणिज्य संघको टिमको नेतृत्व गर्दै आफैँ एयरपोर्टमा ताल्चा लगाइन् । बजेट अधिवेसनमा पनि ध्यानाकर्षण गराउन उनी राजधानी पुगिन् । आश्वासन भरपुर पाइन् तर बजेटको किताब आउँदा टरिगाउँ एयरपोर्टको स्तरोन्नति गुमनाम … ।

त्यसो त हवाई सेवा नियमित गराउन तुलसिपुर उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा वायु सेवा कार्यालय खोलेर टिकट बेच्यो । तुलसिपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले टिकटको ग्यारेन्टी स्वरूप नेपाल वायु सेवा निगमको अफिसमा धरौटी नै जम्मा गरे । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसेले एयरपोर्टको धावनमार्ग लामो बनाउन एक रुपैयाँ अभियान नै सञ्चालन गरे तर हवाई सेवाको दिगो सुनिश्चितता अन्योलमा छ ।

टरिगाउँ विमानस्थलमा यतिसम्म बेइमानी भयो कि त्यसको बेइमानीको प्रमुख पात्र भनेकै नागरिक उडड्ययन प्राधिकरणका वर्तमान नेतृतव अर्थात प्रदीप अधिकारीले प्राधिकरणको नेतृत्व गर्दासम्म एयरपोर्टको स्तरोन्नतिमा कुनै प्रगति हुने छैन भनेर तुलसिपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले गोरक्षसँगको अन्तर्वार्तामै स्पष्ट भनेका छन् ।

राज्य संयन्त्रले प्रदीपको त्यो गोटीलाई कहिल्यै चिर्न चाहेको छैन । कारण यसमा भैरहवा र नेपालगन्जको राजनीतिले प्रत्यक्ष प्रभाव पारेको छ । दाङका दृढइच्छाशक्तिको वा केन्द्रसँग पहुँच भएको नेतृत्व छैन । नगरेका होइनन्, प्रतिनिधि सभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री दीपक गिरीले दाङबाट प्रतिनिधि सभामा नेतृत्व गर्ने सांसदहरू, पालिकाका अध्यक्षहरू, उद्योग वाणिज्य संघका अध्यक्षसमेतलाई नेतृत्व गरेर पर्यटन मन्त्रीकोमा एरपोर्टमा बजेट हाल्न डेलिगेसन गए तर बजेट आउँदा ‘हात्ती आयो, हात्ती आयो फस्सा’ जस्तै भयो ।

टरिगाउँ विमानस्थल २०११ साल मङ्सिर महिनामा सञ्चालनमा आएको हो । पश्चिम दाङ्का तत्कालीन नेता झग्गुप्रसादको पहल थियो, त्यो । अहिले कसले यो जस लिने भन्नेमा यहाँका नेतामा होडबाजी जस्तै छ । तुलसिपुरमा प्लेन नचलेसम्म दारी नकाट्ने अडान लिएका झग्गुप्रसाद जस्तो अडान लिने नेता भएनन् । त्यो बेला टरिगाउ विमानस्थलमा ल्यान्ड गर्ने डकौडा एयरको विमान हो, त्यो विमानको सिट क्षमता २८ सिटको थियो । त्यो विमान चल्दासम्म कम्तीमा पनि फ्लाइट रुटिङ निश्चित थियो । सातामा दुई दिनसम्म पनि भयो, सातामा एक दिन पनि भयो अनि हवाई ट्रान्जिटका रूपमा थियो, तुलसिपुर एयरपोर्ट ।

यो एयरपोर्टबाट भैरहवा जान सकिन्थ्यो, नेपालगन्ज पनि जान सकिन्थ्यो, धनगढी जान सकिन्थ्यो, त्यसपछि रुट बदल्ने अवसरहरू पनि थिए । डकौडाले बिदाई लिँदै गर्दा ट्वीनअटर आयो तर त्यसले नियमित सेवा दिन सकेकै छैन । दिइहाले पनि सोह्र यात्रुलाई त हो । अब समय बदलिएको छ । नेपाल वायु सेवा निगमका विमानले तुलसिपुर एयरपोर्टमा नियमित सेवा दिन सक्ने छैनन् । किनकि ट्वीनअटर अब कोल्याब्रेसनमा जाँदै छन् ।

अब नेपालमा चल्ने भनेका जहाज एटिआर सेभेन टु सम्मका जहाज मात्रै हो । यसका लागि कम्तीमा टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाई अहिलेको अवस्थामा डबल बनाउनु पर्ने देखिन्छ । एटिआर सेभेन टु सम्मका जहाज अवतरण गर्न धावनमार्गको लम्बाई कम्तीमा १५ सय मिटर बनाउन आवश्यक देखिन्छ । के आगामी बजेटमा यो सम्बोधन होला ? दाङले दुईदशकदेखि यही प्रश्नको लागातार उत्तर खोजिरहेको छ ।