लमही चेम्बरको अध्यक्षमा बुढाथोकी

टेकबहादुर पुन
लमही,७ मसिर । लमही चेम्बर अफ कमर्स, लमही दाङको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले किरण कुमार बुढाथोकीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।

अध्यक्षमा बुढाथोकीसहित वरिष्ठ उपाध्यक्षमा शशी परियार, उपाध्यक्षमा प्रमोद बस्नेत, महिला उपाध्यक्षमा निरु ज्ञानवली,महासचिवमा नारायण भुषाल,सचिवमा कमला चुदाली,कोषाध्यमा चिरन खनाल,सह–कोषाध्यक्षमा सपना पाण्डे, सदस्यहरुमा उत्तम बिष्ट, हरिराम चौधरी, निर्मल भुषाल, राजेन्द्र श्रेष्ठ, रोसन खनाल, मोहन केसी, शेषमणी अधिकारी, कृष्ण थापा, रामचन्द्र शर्मा, खेमराज घिमिरे, सरिता भुसाल, विशाल सुनार, जबुल मिया रहेका छ्न ।

नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै प्रमुख अतिथि सचिव अजय न्यौपानेले चेम्बरले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । व्यवसायी हकहितको संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणमा सबै पक्ष एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । अधिवेशनमा आगामी कार्यदिशा, व्यवसाय प्रवर्द्धन तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत चर्चा गरिएको थियो ।चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शशी परियारले स्वागत मन्तव्य राखेका थिए ।

सदस्य नारायण प्रसाद भुषाल, वरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीलगायतले संगठनको भूमिका र सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रमोद बस्नेतले प्रस्तुत गर्दै अघिल्लो कार्यकालको आम्दानी–खर्च विवरण, लगानी तथा आर्थिक अवस्थाबारे व्याख्या गरे । आर्थिक पारदर्शिता र अनुशासन चेम्बरको प्राथमिकता रहेको उनले स्पष्ट पारे । महासचिव केशव अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका अन्तिममा निवर्तमान अध्यक्ष सितल भुषालले पद हस्तान्तरण गर्दै समर्थन र सहयोगका लागि आभार व्यक्त गरेका थिए ।