गोरक्ष समाचारदाता
दाङ, ७ मङ्सिर । साहित्यप्रेमीका लागि शनिवार घोराहीमा विशेष दिन बन्यो । फाइन प्रिन्ट र अध्ययन मञ्च दाङको संयुक्त आयोजनामा भएको घोराहीस्थित सिद्धार्थ एकेडेमीमा आयोजना गरिएको ‘फाइन प्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ ले साहित्यप्रेमीलाई ऊर्जा थप्ने काम गरेको छ ।
साहित्यिक क्षेत्रको विकास र लेखन अनुभव आदानप्रदानलाई केन्द्रमा राखेर आयोजना गरिएको साहित्य उत्सव कार्यक्रमले लेखक तथा पाठकका बिचमा अन्तरक्रियासँगै लेखकका अनुभव सुनाउने अवसर जुराइदिएको थियो । लेखक र पाठकबिच सिधा सम्पर्क स्थापित गरी लेखन अनुभव साझा गर्ने अभियान अन्तर्गत कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले जानकारी दिएका छन् ।
साहित्य उत्सव कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो, चर्चित कलाकार तथा साहित्यकारसँगको संवाद सत्र । कार्यक्रममा लोकप्रिय अभिनेता महानायक राजेश हमालसँग लेखक सूर्य बिसी, ददी सापकोटासँग साहित्यकार तथा पत्रकार डा. सुदीप गौतम, चर्चित उपन्यासकार सुविन भट्टराईसँग प्रसना बस्नेत र डा. नवराज केसीसँग साहित्यकार घनश्याम अस्तित्वले संवाद गरेका थिए ।
संवाद सत्रहरूमा लेखन प्रक्रिया, साहित्यिक चुनौती र सिर्जनात्मकताका विविध पक्षमा खुलेर छलफल भएको थियो । साहित्य उत्सवले स्थानीय तहमा साहित्यिक वातावरण सिर्जना गर्न र नयाँ लेखकलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, शिक्षक, विद्यार्थीदेखि साहित्यप्रेमी नागरिकसम्मको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्न आयोजकलाई सुझाव दिएका छन् ।