गोरक्ष समाचारदाता
तुलसीपुर, ७ मङ्सिर । तुलसीपुुर उपमहानगरपालिका–१७ फोर्टिनाइनमा १५ वर्ष पहिले स्थापना भएको श्री कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिले बाल बचत कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीले शनिवार आयोजना गरेको १३औँ साधारणसभाका अवसर पारेर बाल बचत कार्यक्रममा जोडिएका नौ जना बालबालिकालाई सम्मान गरेको छ ।
अभिभावकले ती बालबालिकाका नाममा हरेक महिना एक हजार रुपैयाँका दरले जम्मा गर्ने छन् । त्यसबाट आएको मुनाफा बालबालिकाकै क्षेत्रमा खर्च गरिने बालबालिकाका अभिभावकले जनाएका छन् । एक सय ३४ जना शेयर सदस्य रहेको सो सहकारीको साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा तुलसिपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरीले सहकारी सञ्चालकले संस्थागत उत्तरदायित्व, पारदर्शिता तथा मर्यादालाई उच्च प्राथमिकता दिँदै सहकारीलाई उत्पादनसँग जोड्न आग्रह गरे ।
सूचना प्रविधिको पछिल्लो युगलाई आत्मसात गर्दै बचतकर्ताको बचतलाई सुनिश्चितता र सुरक्षित गर्न सहकारीले समयानुकूल परिवर्तन भएका नियम कानुन र कार्यविधिलाई आत्मसात गर्न आग्रह गरे । ‘पछिल्लो समयमा कतिपय ठुला सहकारीमा बचतकर्ताका पैसा अपचलन भएको छ, तपाईंहरूले यसो गर्नुहुने छैन भन्नेमा म पूर्ण विश्वस्त छु’, प्रमुख अतिथि पुरीले भने, ‘तपाईं सञ्चालकहरूप्रतिको विश्वासकै कारण म समेत यो सहकारीमा शेयर सदस्यका रूपमा जोडिएको छु ।’
कार्यक्रममा विशिष्ट अतिथि तथा छर्छरे खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष गेहराज पौडेलले हरेक सहकारीले बचतकर्ताको रकम सुरक्षित गर्ने मात्र नभएर लगानीमैत्री वातावरण बनाउनेमा जोड दिए । ‘ऋण लगानी बढाउनु सहकारीको मेरुदण्ड हो तर गरेको लगानीलाई उठाउन सक्ने स्पष्ट आधार देखेपछि मात्र लगानी गर्नुस्’, पौडेलले भने, ‘तपाईंले गरेको ऋणको किस्ता निर्धारित समयमा उठाउन सक्नुभएन भने त्यसले भविष्यमा सहकारीमा समस्या ल्याउन सक्नेछ ।
संस्थाका अध्यक्ष गिरिराज पाण्डेले आफूले नेतृत्व गरेको संस्थाले बचतकर्ताहरूको बचतलाई सुरक्षित र सुनिश्चित गर्न पारदर्शिता, जवाफदेहिता र विधिलाई गहन जिम्मेवारी ठानेको बताए । ‘हामी आयआर्जनसँगै सामाजिक उत्तरदायित्वतर्फ अग्रसर हुनु आवश्यक हुन्छ तर हामीले बचतकर्ताको भावनाविपरीत कुनै पनि काम गर्ने छैनौँ’, अध्यक्ष पाण्डेले भने ।
संस्थाका उपाध्यक्ष सन्तोषी केसीको स्वागतबाट सुरु भएको कार्यक्रममा लेखा समिति संयोजक मुकुन्द रिजालले संस्थाको समग्र लेखा प्रतिवेदन प्रस्तुत गर्दै केही सुझावसमेत साधारणसभामा प्रस्तुत गरेका थिए । त्यसै अवसरमा श्री कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिका कोषाध्यक्ष छविकुमार केसीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र आर्थिक मार्गचित्र प्रस्तुत गरेका थिए भने संस्थाका सचिव प्रकाश वलीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै विगतमा भएका कामको समीक्षा गर्दै आगामी दिनमा सहकारीले सञ्चालन गर्ने कार्यक्रम र कार्ययोजना प्रस्तुत गरेका थिए ।
यसैबिच साधारणसभाले सचिव, लेखा समिति र कोषाध्यक्षका फरक फरक प्रतिवेदन सर्वसम्मत रूपले पारित गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजीकरण मिनराज डाँगीले गरेका थिए । संस्थाले आर्थिक बचतकर्ताको रकम अनुसार लाभांश वितरण गरेको छ ।