कोरोना कहर : बन्नसक्छ सुन्दर अबसर

प्रवीण कुमार रेग्मी

विश्व ऐले कोरोना महामारीका कारण थिलथिलो भएको छ । विश्व बिजेताहरु नै ऐले महामारीका अगाडि निरीह भएका छन् भने उदाउँदो अर्थतन्त्र भएका देशहरुले आफ्ना नागरिकलाई उपचार गर्ने उपकरण जुटाउन नसकेको अवस्था छ । भलै कोरोना महामारीका पछाडि बैज्ञानिक कारण, होला तर पनि केही बिरोधाभाष तथ्यहरु ऐले पनि यदाकदा सार्बजनिक र सरकारी निकायहरुबाट सुन्न पाईन्छ । हुन त शासकहरु आफू असफल हुन थाले भने दोष अरुलाई थुपारेर पानी माथिको ओभानो हुन खोज्ने कुरा कुनै नौलो होइन ।

यसरी विश्व नै यस महाब्याधीका कारणले आक्रान्त भैरहेको बेलामा भर्खरै विकासशील राष्ट्रको परिकल्पना गरेर आफ्ना अल्पविकसित संरचनाहरु खियाइरहेको नेपाल पनि अछुतो रहने कुरै भएन । यसर्थ नेपाल, जहाँ भर्खरै राजनैतिक स्थायी संरचना निर्माण भएता पनि अस्थायी सोंच भएका टाउकेहरु हाबी भएको परिवेश छ, त्यहाँ कृषिप्रधान मुलुकको खाद्यान्न ऋण रेमिट्यान्सले चुक्ता गर्नुपर्ने बाध्यताका बिच उच्चस्तरीय स्वास्थ्य प्रणालीको आशा गर्नु हाम्रै मुर्खता सिवाय केही पनि हुँदैन । तथापी यस बहुआयामिक संकटका बिचमा पनि हामीसङ्ग भने अनेकौं अवसरहरु छन् ।

हाम्रो स्वास्थ्य प्रणालीको हैसियतको लेखाजोखा नगरौं, किनभने अमेरिकाको भेन्टिलेटर समस्याले समग्र विश्व समुदायको स्वास्थ्य प्रणालीको झल्को दिन्छ । हामिले अबको स्वास्थ्य संरचनामा उल्लेख्य सुधार गर्न सक्छौ, यहाँ हाम्रो टर्निङ पोइन्ट होइन लर्निङ पोइन्टले धेरै काम गर्छ । महामारीको तयारी, स्वास्थ्य सामाग्रीको निर्माण, स्वास्थ्य जनशक्तिको ब्यबस्थापन, स्वास्थ्य संरचनाको सबलिकरण जस्ता याबत् कुराहरुमा हाम्रो ध्यान र नीति बनाउन सक्ने अवसरका रुपमा रहेको छ । यस्तै कृषि समन्धी नयाँ अवसर र अभ्यासहरु बढ्नेछन् । रेमिट्यान्सको गिरावटको विकल्पका रुपमा फेरि कृषिले लय समात्ने बिज्ञहरु दाबी गर्छन र अर्को अवसर कृषिमा आधुनिकीकरण र व्यावसायिककरणले स्थान पाउने छ । यसले दिगो अर्थतन्त्रमा टेवा पुग्ने आंकलन गर्न सकिन्छ । त्यस्तै यो महामारीलाई कस्तो नेतृत्वलाई राजनीतिमा स्थापित गर्ने भन्ने कुराको मूल्यांकन गर्ने अवसरको रुपमा पनि लिन सकिन्छ ।

भनिन्छ, अप्ठ्यारोमा कुनै पनि शक्तिको खासियत मुल्यांकन गर्न सकिन्छ, यसर्थ यसपाली कुनकुन व्यक्ति वा नेता साँच्चिकै योग्य र कर्तव्यनिष्ठ रहेछन् भन्ने पनि नेपाली जन समुदायले छुट्याउने अवसर पाएका छन् । उचित प्रबिधिको प्रयोग नै अबको आवश्यकता हो र प्रबिधिमैत्री संरचना बिनाको कुनै पनि सेवा व्यावसायिक हुन सक्दैन । यसका लागि नयाँ प्रबिधिमैत्री युबा जनशक्ति उत्पादन र खपत अर्को अवसरका रुपमा रहेको छ ।
यसका अलावा मानिस प्रकृतिकै अंश हो भन्ने कुरा पनि स्थापित भएको छ । मानवले प्रकृतीलाई काबुमा राख्न खोज्दा सबै शक्ति र आविष्कार निरर्थक हुन्छन् भन्ने बुझाइले पनि मानव घमण्डको सेखी उत्रेको अबस्था छ । अबको निकास भनेको वातावरणमैत्री बिकास र दिगो सोच नै हो भन्नेमा दुईमत छैन ।

हामी नेपालीहरुले कोरोना कहरमा सतर्क हुँदै र साबधानी अपनाउदै विवेकपूर्ण सुझबुझ राखेमा हामिले गुमाउने भन्दा पाउनेकुरा धेरै हुन सक्छन् ।

रेग्मी रापती समाज काठमाडौंका अध्यक्ष हुन् ।