गोरक्ष समाचारदाता
दाङ, ४ मङ्सिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी र ल्याब परीक्षणका लागि बिरामीलाई बाहिर पठाउने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिष्ठानको फार्मेसी र ल्याबमै आवश्यक सेवा उपलब्ध हुँदाहुँदै बिरामीलाई बाहिर महँगो मूल्य तिर्न बाध्य बनाइएको गुनासो प्रमाणसहित आएपछि प्रतिष्ठानले कडाइको नीति अघि बढाइएको हो ।
प्रतिष्ठान भित्रैका चिकित्सक, नर्स तथा कर्मचारीले बाह्य स्वास्थ्य संस्थातर्फ बिरामीलाई प्रलोभनपूर्वक पठाउने गरेको सूचनासहित गुनासो बढेपछि यस्तो कदम चालिएको बताइएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रमाणसहित उजुरी आए तुरुन्तै कारबाही गर्नुका साथै आवश्यक परे सेवाबाट हटाइने भन्दै अनियमितता गर्ने कोही पनि कानुनी दायराबाट बच्न नसक्ने चेतावनी दिएका छन् ।