पार्वती बस्नेत
गढवा, ४ मङ्सिर । गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण तथा भूमिमा महिला स्वामित्व’ कार्यक्रम अन्तर्गत ग्रामीण महिला उत्थान केन्द्र दाङले भूमि तथा आवाससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
चैनपुर, बोधिपुर, तकियापुर र मगहरका गरी ४४ जना महिलाको सहभागितामा आयोजित अभिमुखीकरणमा महिलालाई भूमि अधिकार, संयुक्त लालपुर्जा, भूमि नीति २०७५, जग्गा नापजाँच तथा नक्सा प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागी सीताकुमारी चौधरीले श्रीमानश्रीमतीको नाममा संयुक्त रूपमा जग्गा पास गर्दा सरकारले न्यूनतम शुल्क लिने व्यवस्था रहेकोबारे पहिलो पटक थाहा पाएको बताइन् । उनका अनुसार अभिमुखीकरणले भूमिमा महिलाको स्वामित्वको महत्वबारे स्पष्ट बुझ्न मद्दत गरेको छ । अर्की सहभागी रिता चौधरीले संयुक्त लालपुर्जा, भूमि अधिकार र महिलाका लागि भएका कानुनी प्रावधानबारे उपयोगी ज्ञान प्राप्त गरेको बताइन् ।
संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । प्रमुख अतिथि शारदाले महिलाको आर्थिक सशक्तीकरणका लागि महिलाको नाममा जग्गा हुनु अत्यावश्यक रहेको बताउँदै संयुक्त लालपुर्जाको व्यवस्था महिलालाई समान अधिकारको भागीदार बनाउने महत्वपूर्ण कदम भएको धारणा राखिन् । उनले सरकारले ल्याएको कानुनको प्रयोग गरी महिलालाई भूमि स्वामित्वमा सक्षम बनाउनेतर्फ सबैले ध्यान दिन आग्रह गरिन् ।
गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले संस्थाको पहलमा स्थानीय महिलाले महत्वपूर्ण कानुनी र व्यावहारिक जानकारी पाएकोमा खुसी व्यक्त गरे । वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाले भूमि तथा आवाससम्बन्धी चेतनाले भविष्यमा महिलाले समान अंश स्वामित्व पाउने र हिंसाबाट जोगिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष आसमानीले संस्थाले कृषि, वातावरण, स्वास्थ्य, आवासलगायत क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै हालसम्म विभिन्न पालिकामा आठ भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरी सकिएको जानकारी दिइन् । यस वर्ष पनि राजपुर र गढवामा सात घर निर्माण कार्य जारी रहेको बताउँदै चार सय महिलालाई भूमि तथा आवाससम्बन्धी नीति, अधिकार र प्रक्रियाबारे अभिमुखीकरण दिने उनले बताइन् ।