गोरक्ष समाचारदाता
दाङ, ४ मङ्सिर । महेन्द्र बहुमुखी क्याम्पस दाङमामा युवाहरूका लागि बृहत् यौनिकता शिक्षा तथा प्रविधि–सहज लैङ्गिकता आधारित हिंसासम्बन्धी एक दिवसीय अभिमुखीकरण गरिएको छ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका झन्डै ८० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा डिजिटल युगमा बढ्दो अनलाइन हिंसा, साइबर जोखिम र सुरक्षित डिजिटल व्यवहारको आवश्यकताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
सहभागी युवालाई प्रविधि–सहज लैङ्गिकता आधारित हिंसाका प्रकार, अनलाइन हेरासानी–दुव्र्यवहार, फेक पहिचान, ब्ल्याकमेल जस्ता जोखिम तथा तिनको रोकथामका उपायबारे अभिमुखीकरण गराइएको थियो । सहमतिबिना कुनै पनि व्यवहार स्वीकार्य नहुने, व्यक्तिगत सीमाना, सम्मानजनक व्यवहार, सुरक्षित सम्बन्ध निर्माण तथा समान अवसर र समान अधिकारका विषयमा युवालाई झनै सचेत बनाउने उद्देश्य रहेको थियो ।
मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यका सन्दर्भमा तनाव व्यवस्थापन, दबाब सामना गर्ने तरिका, भावनात्मक नियन्त्रण तथा सकारात्मक सोच विकास गर्ने विधिहरू प्रस्तुत गरिएको थियो । अभिमुखीकरणका क्रममा प्रस्तुत सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा नेपालभर दश हजार सात सय ३९ वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए । जसमा ४४ प्रतिशत बढी पीडित महिला तथा किशोरी रहेका थिए ।
लुम्बिनी प्रदेशमा मात्रै पाँच सय बढी मुद्दा दर्ता भएको र एक हजार दुई सय ८२ आत्महत्याका घटनामध्ये धेरैलाई डिजिटल हैरानी तथा अनलाइन धम्कीले प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको देखिएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रमुख वसन्त खनालले युवाबिच यौनिकता शिक्षाको अभावकै कारण दुव्र्यसन, कम उमेरमा विवाह, यौनजन्य सङ्क्रमण, मानव बेचबिखन, लागूऔषध दुरुपयोग तथा लैङ्गिक हिंसा बढिरहेको बताए ।
डिजिटल युगमा यौनिकता शिक्षा अपरिहार्य रहेको उनले बताए । यसले युवालाई जीवन–कौशल, जिम्मेवार निर्णय क्षमता र सुरक्षित अनलाइन व्यवहार गर्न सक्षम बनाउने उनले बताए । महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन राना तथा प्राध्यापक शोभाकान्त अधिकारीले यौनिकता शिक्षा युवाहरूको सामाजिक तथा शैक्षिक विकासका लागि महत्वपूर्ण भएको बताउँदै, जोखिम पहिचान, स्वस्थ निर्णय क्षमता तथा जिम्मेवार नागरिकता विकासमा यस्तो कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सहभागीले कार्यक्रममार्फत् प्राप्त ज्ञानले आफूहरू डिजिटल वातावरणमा अझ जिम्मेवार, सचेत र आत्मविश्वासी बनेको अनुभव सार्वजनिक गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए ।