खेमराज रिजाल
दाङ, ३ मङ्सिर । जिल्लाकै दुई उपमहानगरपालिका घोराही र तुलसीपुरलाई जोड्ने बहुप्रतिक्षित सडकको स्तरोन्नतिको काम सोमवारदेखि सो सडक खण्डको गुर्जे खोलाबाट सुरु भएको छ । पहिलो चरणमा दुई वटा स्काभेटर प्रयोग गरी फिल्डमै काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ ।
पहिलो चरणमा सडक किनारामा परेका खाडलहरू पुर्ने, झाडी सफा गर्ने र माटो फिलिङको काम हुने आधिकारिक निर्माण कम्पनी दिवा÷वन्दन भगवती जेभीका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले बताएका छन् । उनका अनुसार माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम पनि सँगसँगै सुरु हुनेछ । ग्राभेल भरेपछि सो क्षेत्रमा सवारीसाधन गुड्न सक्नेछन् ।
खाडल पुर्दा साविकको कालोपत्रेमा गाडी गुडाउन सहज हुने अपेक्षा निर्माण कम्पनीले गरेको छ । ‘पहिलो चरणमा चार÷पाँच वटा स्काभेटर र पन्ध्र÷बिस जना मज्दुरबाट काम सुरु हुनेछ, त्यसपछि आवश्यकता अनुसार मज्दुरको सङ्ख्या थप गर्ने तयारी भएको छ’, कन्ट्याक्ट मेनेजर ढुङ्गानाले भने ।
चारलेन सडक स्तरोन्नति गर्ने क्रममा ‘एक महिनासम्म के कति काम सम्पन्न गर्ने कार्ययोजना बनाउनुभएको छ ?’ भन्ने गोरक्षको जिज्ञासामा निर्माण कम्पनीले सडक किनाराका खाडल पुर्ने, सडकको राइट अफ वे खण्डमा झाडी सफा गरी माटो फिलिङ, रोलिङ र ग्राभेलको काम नारायणपुर बजारसम्म पु¥याउने लक्ष्य रहेको जानकारी दियो । क्रमशः काम भइरहने र आवश्यकता अनुसार मज्दुर र मेसिनरी औजार थप गर्दै जाने कार्ययोजना कम्पनीको छ ।
कामलाई छरितो सम्पन्न गर्न घोराही—तुलसीपुर सडक खण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी रूपमा परियोजना अवधिभरका लागि क्रसर स्थापना गर्ने, पानीका लागि डिप बोरिङ खन्ने र त्यहीँ साइट अफिस खोल्ने कामसमेत भइसकेको कम्पनीले जनाएको छ । गुर्जेमा स्काभेटर देखेपछि एकजना स्थानीय सडकको स्तरोन्नतिप्रति आशावादी देखिएका छन् । ‘सडक किनारामा परेका खाडल पुरिदिएर कटिङ भएको क्षेत्रमा ग्राभेल भरेर गाडी गुड्ने बनाइदिए यातायातलाई धेरै सहज हुने थियो’, उनले अपेक्षा गरे ।
अहिले हप्तैपिच्छेजसो यो सडक खण्डमा ट्रक र टिप्पर पल्टिरहेको देखिन्छन् । नयाँ चालकका लागि त यो सडक झनै जोखिमपूर्ण छ । ठुला सवारी साधनलाई क्रस गर्न त मुस्किल जस्तै भएको ट्रक चालक तेज बहादुर डाँगीले बताए । रातको समयमा यसरी भारी मालवाहक सामान बोकेका टिप्पर र ट्रक चलाउन थप कठिन हुने उनको अनुभव छ ।
किनाराबाट च्यातिँदै जानु र बिच बिचमा परेका खाडलको आयतन बढ्दै जाँदा अहिले घोराही–तुलसीपुर सडकमा कार, जिप तथा मोटरसाइकल यात्रामा सास्ती भोग्नु परेको छ । चारलेनमा स्तरोन्नति गर्ने भनिएको यो सडकको पिच भएको भाग कुनै ठाउँमा त तीन मिटरमा खुम्चिएको छ । चार मिटर बढी चौडाइ कालोपत्रे कतै पनि छैन । खाडलैखाडलको सडकमा खास गरी साना सवारीसाधनका चालकलार्ई सास्ती खेप्नुपरेको ढुवानी व्यवसायी सागर केसीले बताए । ठेक्का सम्झौता तीन वर्षको छ । यस बिचमा धुजाधुजा भएको सडक मर्मत गरिएन भने त दिनदिनै थप विजोगको अवस्था हामी चालकले व्यहोर्नु पर्नेछ’, सागरले भने ।
सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको यो सडक निर्माणको जिम्मा भने डिभिजन सडक दाङले पाएको छ । मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहनेछ । जुन घोराहीको डिके पेट्रोल पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहनेछ । अहिले भने विद्युत पोल, व्यक्तिका संरचनालगायत कुनै पनि समस्या नभएको स्थानबाट काम सुरु भएको बताइएको छ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहनेछ । उक्त क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण हुनेछ । करिब अढाई अर्ब रुपैयाँ बजेट रहेको सो परियोजनाको ठेक्का सम्झौता गत असार महिनामा भएको थियो ।