calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पृथक ढङ्गले मनाउने तयारीमा छौँ : अधिकृत श्रेष्ठ [अन्तर्वार्ता]

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर मनाइने लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिख देखि १६ दिनसम्म राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई पृथक ढङ्गले सञ्चालन गर्ने तयारी गरेको छ । मङ्सिर ९ बाट सुरु गरी सचेतनामूलक कार्यक्रममार्फत् समुदायमा जागरण ल्याउने योजना छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक बसेर विभिन्न कार्यक्रमहरु तयारी समेत गरेको छ । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका महिला विकास अधिकृत माया श्रेष्ठसँग त्यसको तयारी र लैङ्गिक हिंसा सम्बन्धी गोरक्षकर्मी बालाराम खड्काले गरिएको कुराकानीको सार सङ्क्षेप ।

— स्वागत छ यहाँलाई सातावार्तामा ?

धन्यवाद यहाँ तथा यहाँको पत्रिकालाई मेरा कुराहरू राख्न दिएकोमा ।

— लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कहिलेदेखि मनाउन सुरु गर्नुहुन्छ ?

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि १६ दिनसम्म राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई पृथक ढङ्गले सञ्चालन गर्ने तयारी गरेकोका छौँ । हामीले सरोकारवाला सँगको छलफल गरी सबै कार्यक्रम तय गरेका छौँ ।

— के–के कार्यक्रम गरी मनाउँदै हुनुहुन्छ ?

लैङ्गिक हिन्सा विरुद्धको अभियान अन्तर्गत यो वर्ष तुलसीपुर उपमहागरपालिकामा रहेका सम्पूर्ण सरोकारवालाको सहभागितामा कार्ययोजना निर्माण गर्ने काम सम्पन्न भएको छ जसमा हिंसा रोकथाम गर्ने कानुनी सचेतना अभिमुखीकरण अन्तरक्रिया गर्ने पालिकास्तर, समुदायस्तर र विद्यालयस्तरमा सञ्चालन गर्ने योजना रहेको छ । साथै हिंसा विरुद्ध अभियानले समाजमा पारेको प्रभाव मूल्याङ्कन गरी कार्यदिशा पहिल्याउनका लागि पनि योजना निर्माण भएका छन् ।

— यो दिवस किन र कहिलेबाट मनाउने सुरु गरिएको हो ?

यो दिवस सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए तापनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो । महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियान अन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाई, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, सर्वपक्षिय छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ । सोही अन्तर्गत सरोकारवालाको समन्वय हामीहरूले पनि प्रत्येक वर्ष यो दिवस मनाउने गर्छौँ ।

— लैङ्गिक विभेद कस्तो छ कस्ता किसिमका घटना बढी हुने गर्छन् ?

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हामीहरूले पनि सम्पूर्ण सरोकारवालाहरू सँगको साझेदारीमा विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ तर हिंसा अन्त्य भने हुन सकेको छैन् । लैङ्गिक विभेदको सन्दर्भमा १. बाल बिवाह २. भ्रुण हत्या ३. प्राविधिक शिक्षामा छोरीहरूको न्यून पहँुच ४. महिलाको श्रमको न्यून मूल्य ५. महिलाको गतिशिलतामा अत्यधिक नियन्त्रण ६. महिलालाई हेर्ने कमजोर दृष्टिकोण ७. पैतृक सम्पत्ति माथि न्यून पहुँच ८. महिलाको पहिचान लगायतका विभेदहरू समाजमा व्याप्त देखिन्छ ।

घटनाहरूमा हामीसँग आउने घटनालाई हेर्दा घरेलु हिंसाका घटनाहरू प्रायजसो घरपरिवारले इज्जत आमद अनुसार खान लगाउन नदिएको श्रीमान्ले अन्यत्र साथी राखेको आफूलाई हेला गरेको घटनाहरू बढी छन् भने अन्य हिंसाहरू जस्तै बाल विवाह यौनजन्य दुव्र्यवहार बलात्कार जस्ता घटनाहरू पनि आएका छन् ।

— लैङ्गिक विभेद अत्यका लागि कसले के गर्नु पर्ला ?

लैङ्गिक समानता कायम गर्नका लागि महिलालाई आय आर्जनसँग जोडेर आत्मनिर्भर बनाउनुका साथै पैतृक सम्पत्तिमा छोरीको सहज पहुँच वृद्धि गरी पितृ सतात्मक सामाजिक संरचना र सोचलाई फेर्न जरुरी देखिन्छ यसको लागि आमुल परिवर्तन आवश्यक छ यो हरेक व्यक्ति परिवार समाज र राष्ट्रको सवाल बन्न आवश्य छ ।

— अन्त्यमा केही भन्नु छ ?

अन्तमा मलाई अभियानअन्तर्गत आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद । हामीले गत वर्ष पनि विभिन्न सरोकारवालाको समन्वय सहकार्यमा हामीले २५ वटा सचेतना कार्यक्रम र दुईहजार बढीको सहभागीता रहेको थियो । यस वर्ष पनि बढीभन्दा बढी सहभागीतामा लैङ्गिक हिंसाको न्यूनीकरणका लागि सचेतना र अभियानलाई सार्थक र परिणाममुखी बनाउने तयारीमा छौँ । हाम्रो अभियानलाई साथ सहयोगका लागि म अनुरोध गर्छ चाहान्छु र हाम्रो अभियानमा जोडिन पनि आग्रह गर्न चाहान्छु । सबैको साझा सहयोग र साथलेमात्र अभियान सफल हुन सक्छ ।