मेरो खुशी : प्रधानसेनापतिबाट पुरस्कृत हुँदा …

सहज सरल र मिजासिला व्यक्तित्वका धनी श्रीधर भण्डारी सामाजिक कार्यमा सक्रिय रूपमा लाग्ने गर्दछन् । घरमा कृषिको कामदेखि गाउँघरमा विकास निर्माण, वन वातावरणको संरक्षणसँगै विभिन्न सामाजिक कार्यमा क्रियाशील हुने गर्दछन् ।
२०३२ सालमा घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा बुबा जोगप्रसाद भण्डारी र आमा दामी भण्डारीको जेष्ठ सन्तानका रूपमा जन्मिए थिए । घरदेखि नजिकै रहेको प्राथमिक विद्यालय बेलाघारीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका भण्डारीले कक्षा पाँचसम्म बेलाघारीमा अध्ययन गरेका थिए । प्राथमिक तहको अध्ययनपछि माध्यमिक शिक्षा माध्यमिक विद्यालय रझेनामा पूरा गरे । २०५१ सालमा माध्यमिक विद्यालय रझेनाबाट सेकेण्ड डिभिजनमा एसएलसी पास गरेका भण्डारीले २०५२ सालमा नेपाली सेनामा जागिरेका रूपमा प्रवेश गरेका थिए ।

नेपाली सेनामा भर्ना भएर १७ वर्ष देश र जनताको सेवा गरेका भण्डारी २०६७ सालमा जमदार पदबाट रिटायर्ड भए । नेपाली सेनाको जागिरेका क्रममा देशका विभिन्न जिल्लासँगै शान्ति सेनाका रूपमा २०६२ सालमा लेबनानमा छ महिना बसेका थिए । त्यही क्रममा भण्डारी फ्रान्सको नेशनल डेमा जाने अवसर समेत प्राप्त गरेका थिए ।

शान्ति सेनाका रूपमा लेवनानमा कार्यरत रहँदा फ्रान्सको नेशनल डेमा सहभागीताका लागि आमन्त्रण गरेपछि शान्ति सेनाका रूपमा लेबनान गएका ८४९ जनामध्येबाट छनोट भएर छ जनाको टोलीमा परेर फ्रान्स जाँदाको क्षण आफ्नो जीवनको सवैभन्दा ठुलो खुसीको क्षण भएको भण्डारी बताउँछन् । छ जनाको टोलीमा सेकेण्ड म्यान भएर फ्रान्स गएको विगत स्मरण गर्दै भण्डारीले भने,‘फ्रान्समा नेशनल डे मनाउने कार्यक्रम रहेको थियो ।

त्यही क्रममा एक जना दाह्री पालेका विदेशी जस्तै देखिने मानिस आएर हामीलाई बोलाए । मैले विदेशी होलान् भनेर जानेको अङ्ग्रेजीमा बोल्न खोज्दै थिए, उनी त फ्रान्स आर्मीमा जागिर खाएका स्याङ्जाका ज्ञानबहादुर गुरुङ रहिछन् । चिनजानपछि एकछिन रमाइलो भयो ।’ पछि उनैले फ्रान्स आर्मीका विभिन्न बटालियनसँगै पेरिस सहर र इफेल टावरसमेत घुमाए, त्यी क्षण पनि खुसीका क्षण हुन् ।

जागिरका दौरान देशका विभिन्न जिल्ला घुमेका भण्डारी २०६१÷२०६२ तिर गुल्मीको तम्घासमा थिए । भैरवप्रसाद गणमा कार्यरत रहँदा गणको वार्षिकोत्सव कार्यक्रममा तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवालको हातबाट एक्स्ट्रा एक्टिभिटी प्रस्तुत गरेका भण्डारी पुरस्कृत भएका थिए ।

जागिरको क्रममा आफ्नो सङ्गठनको प्रमुखको हातबाट पुरस्कृत हुँदाको क्षण जीवनको अर्काे ठुलो खुसीको क्षण भएको भन्दै भण्डारी भन्छन्,‘सेनामा रहँदा हातहतियार चलाउनका लागि सिपालु नै थिए, त्यसका अतिरिक्त खेलकुदका क्रममा पनि रुचि थियो । त्यही अनुसार विभिन्न कार्यक्रममा सहभागी हुने गरेको थिए, त्यही क्रममा गणको वाषिकोत्सवका अवसरमा प्रधानसेनापछिबाट पुरस्कृत हुँदाको क्षण पनि जीवनको ठुलो खुसीको क्षण हो । जुनक्षण सधै सम्झनामा आउने गरेको छ ।’ त्यो समय गणपति प्रमुख सेनानी उपेन्द्रजंग कुँवर रहेका थिए ।

त्यसको करिब एक वर्षअघिको कुरा हो, हाम्रो गण कपिलवस्तुको गोरुसिङ्गेमा रहेको थियो । गण गोरुसिङ्गेमा रहे पनि हाम्रो पल्टनले कपिलवस्तुको सुरैनाका अन्तर्गत शिवपुरदेखि धानखोलासम्मको सुरक्षाको जिम्मा हेर्नु पर्ने थियो । त्यो समय हाम्रो पल्टन दोबाटो भन्ने ठाउँबाट सर्ने तयारीमा थियो । नयाँ पल्टन आइसकेकाले हामीले नयाँ पल्टनलाई त्यो ठाउँको वस्तुस्थितिका बारेमा जानकारी गराएर फर्किने तयारी गरिरहेको समयमा माओवादीले आक्रमण गर्ने तयारी गरेको थाहा पायौँ ।

त्यही कारण दिउँसो मतल ठाउँमा खाना पकाएर खाने गरे पनि रातमा अग्लो ठाउँमा गएर बस्ने गरेका थियौँ । हामी बसेको थाहा पाएपछि अर्घाखाँची, प्युठान, रोल्पा, रुकमसम्मबाट आक्रमणका लागि माओवादी आउँदै गरेको सूचना थियो, त्यही अनुसार तयारी पनि गरेका थियौँ । त्यही क्रममा एकदिन रातिमा नाइटभिजनबाट वरपरको वातावरण नजिकैको गाउँमा माओवादी हिडेको देखेका थियौँ ।

त्यो हामीतिर आउँदै गरेको थियो तर रातिको समयमा सबै नदेखिने गरेकाले हामी पनि तयारीमा थियौँ । उनले भने,‘बिहान उज्यालो भएपछि एउटा गस्ती टोलीलाई त्यो गाउँमा राति देखिएको दृश्य बुझ्न पठाएका थियौँ तर स्थानीयबाट गलत सूचना भयो । साँझ देखिएको माओवादी टोली हाम्रो नजिकै अर्काे पहाडमा आएर लुकेको बसेको रहिछ, त्यो टोलीले हाम्रो गतिविधि बाच गरिरहेको थियो । उक्त गाउँ पुगेर फर्किने बेला टोलीलाई एम्बुसमा पारेपछि दोहोरो भिडन्त भयो ।

त्यस क्रममा हाम्रो टोलीका आठजनाको गोली लागेर मृत्यु हुन पुग्यो, त्यो दुःखद् क्षण पनि सधै सम्झना आउने गर्दछ ।’ पछि सेनाको हेलिकप्टर आएपछि माओवादी भागेको र खोजीका क्रममा हतियार भेटेका थियौँ । उक्त ठाउँमा रगतका छिटासँगै घाइतेलाई उपचार गरेको विभिन्न समान भेटाए पनि लास भने नभेटाएको भण्डारी बताउँछन् ।

सेनाको जागिरपछि २०६७ सालमा घर फर्किएका भण्डारी अहिले सामाजिक संघसंस्थामा लागेर सामाजिक सेवाका कार्य गर्दै आएका छन् । घरमा परिवारसँग बसेर कृषि व्यवसायसँगै अम्बे सामुदायिक वनमा २०६८ सालमा कोषाध्यक्ष भएका भण्डारी अहिले अध्यक्ष भएर वन वातावरण संरक्षणमा समेत लागेका छन् । नेपाली सेनाबाट रिटायर्ड भएकाले होला समाजले विश्वास गर्दा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरिरहेका भण्डारी विगत दुई वर्षदेखि अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको उपाध्यक्षमा भएर समेत काम गरिरहेका छन् ।

मन्दिरमा आरती व्यवस्थापन उपसमितिको संयोजक समेत रहेका भण्डारीले मन्दिरमा प्रत्येक शनिवार साँझ आरती हुने गरेको बताउँछन् । उनका अनुसार करिब तीन वर्षअघिदेखि सुरु भएको आरतीले सन्ध्याकालीन समयमा मन्दिरमा पुग्ने दर्शक तथा भक्तजनको सङ्ख्यामा समेत वृद्धि गरेको छ । रिटायर्ड भएपछि सुरुमा भण्डारीले घोराहीमा करिब छ महिना द्वन्द्वका क्रममा राज्य वा विपक्षीबाट पीडित भएका परिवारका सदस्यलाई रोजगारीमा जोड्नका लागि सेक्युरिटी गार्डसम्बन्धी तालिम समेत सिकाए ।

नेपाली सेनामा जागिरेका क्रममा सिकेको सिपलाई करिब ६० जना जतिलाई सिकाएको उनी बताउँछन् । ‘तालिमबाट सिप सिकेका धेरै व्यक्ति विभिन्न ठाउँमा रोजगारीका रूपमा आबद्ध भएको देख्दाको क्षण पनि अर्को खुसीको क्षण हो’, भण्डारी भन्छन् । पढाइभन्दा रोमान्टिक कुरामा बढी ध्यान दिने र सामाजिक कार्यमा रमाउने स्वभावका कारण पढाइमा मध्यम भण्डारी २०४८÷०४९ तिर आदर्श समाज युवा जागरण केन्द्र क्लब समेत गठन गरेर गाउँघरमा विभिन्न सामाजिक कार्य गरेको बताउँछन् ।

अग्रज शान्ता विसीलाई अध्यक्ष बनाएर गठन गरेको उक्त क्लबको सदस्यमा रहेर सामाजिक कार्य, सचेतनामूलक कार्यअन्तर्गत खेलेर रकम सङ्कलन गरेर गाउँमा सिंचाईका लागि पोखरी, प्राथमिक विद्यालयमा लागुपदार्थ दुव्र्यसनीसम्बन्धी सचेतनामूलक नाटक प्रस्तुत गर्ने गरेको बताए ।

क्लब स्थापनादेखि विभिन्न कार्यक्रमका लागि सुझाव गोविन्द नेपाली, नित्यानन्द शर्मालगायतले दिने गरेको उनी बताउँछन् । पछिल्लो समय मानिसमा अल्छिपना बढ्दा बिहान ढिलासम्म सुत्ने र त्यसले स्वास्थ्यमा असर गर्ने गरेकाले बिहान हिड्ने क्रम बढेको थियो । प्रायः मानिस एक्लाएक्लै हिड्ने गर्दथे । त्यही क्रममा सल्लाह भयो, एक्ला एक्लैभन्दा पनि सामूहिक रूपमा जोड्दै हिड्ने योजना अनुसार करिब दुई वर्षअघि बयालडाँडा क्लब स्थापना गरेर बिहानी पदयात्रालाई सुरुवात गरिएको बताउँछन् ।

यो यात्रालाई सफल बनाउनका लागि विभिन्न ठाउँबाट धेरैको भूमिका रहेपनि नेतृत्वकर्ताका रूपमा नारायणप्रसाद भुसालको महत्वपूर्ण भूमिका रहेको बताए । उनी भन्छन्,‘बिहानी समयमा वनको उकालोसँगै सल्लेरी वनमा स्वच्छ र सफा फरक–फरक किसिमको हावासँगै शारीरिक व्यायाम, नेतृत्व र व्यक्तिगत विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापसँगै पर्यटनका रूपमा अम्बे सामुदायिक वन क्षेत्रलाई अघि बढाउँदाको क्षण पनि अर्को खुसीको क्षण हो ।’

अहिले प्रत्येक दिन बिहान सय बढी महिला पुरुष मर्निङवाकका रूपमा हिड्ने गरेका छन् । ‘इच्छा, चाहना र जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सकिन्छ । मलाई समाजले जिम्मेवारी दिनुभएको छ, त्यो मैले पूरा गर्ने प्रयास गरिरहेको छु’,उनी भन्छन्,‘ भण्डारी भन्छन्,‘नेपाली सेनामा सेवा गर्दा देशको रक्षामा योगदान गरे रिटायर्ड भएपछि समाजको सेवामा रमाइरहेको छु, जिम्मेवारी नै खुसी हो ।’

घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी ५२ वर्षीय भण्डारी अहिले अम्बे सामुदायिक वन समूहको अध्यक्ष, अम्बे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको उपाध्यक्ष, अम्बापुर मुल कुलो सिँचाइ समितिको उपाध्यक्ष र डुडखोला सोतामा निर्माण हुँदै गरेको कृत्रिम जलाशय निर्माण समितिको संयोजकलगायतका विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा सक्रिय रहेका छन् । २०५८ सालमा बसन्ता भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका भण्डारीका दुई सन्तान छोरा विप्लव र छोरी विपाशा रहेका छन् ।

प्रस्तुति : लीलाधर वली