नारायणप्रसाद श्रेष्ठ
जीवन को पुर्वार्धदेखि उत्तरार्ध सम्मको यात्रामा जीवनमा आइ पर्ने जति पनि उतारचढावहरु हुन्छन् यी सबै मानवीय कर्मभित्र आउने अवसर र चुनौती हुन् । समयलाई सदुपयोग गरी सुरुदेखि नै सर्वेभवन्तु सुखिनः सर्बे सन्तु निरामया ः एउटै चिन्तन र सोच राखी सकारात्मक चिन्तनका साथ अघि बढ्ने हो भने जुनसुकै समस्या सजिलै समाधन हुन्छन् । सोचमा स्वार्थ, विचारमा नकारात्मक भाव, कर्ममा अहंकार देखाउने हो भने अवसर सधै समस्या बनेर देखा पर्न सक्छ, यस्तो परिवेशले आउने नयाँ विचारलाई गुमराह गराई केवल व्यक्ति र वर्ग स्वार्थभित्र मानिसको कर्म मुखरित हुने अवस्था हुन्छ ।
विचार अहंकार र घमण्डले परिपोसित हुनु भनेको मानिस आफै पतन उन्मुख हुनु पनि हो । तसर्थ मनभित्र उब्जने जति पनि चिन्तन हुन्छन् त्यसलाई शुद्व विचारले परिस्कृत गरी जीवनमा आउने हरेक क्षण, अवसर, चुनौतीहरु यी सबै प्रकृतिमा देखा पर्ने स्वाभाविक प्रक्रिया हुन्, कहिले सफलता कहिले असफलता हुनु भनेको हाम्रो कर्म र विचारको प्रतिफल हो, जीवन हार जीतको खेल होइन, सहज र कर्मशिल बने समर्पण सफलताको आधार बन्छ भन्ने विचार दृढ गरी समयको गति अनुकुल आफूलाई समर्पित गर्न सक्नु बुद्धिमानी हुन्छ ।
कहिले जीत हुनु कहिले हार हुनु यो त प्रकृतिको नियमै हो । समय जसरी बिहान, दिउँसो, साँझ र राति हुँदै परिवर्तन हुन्छ, कहिले घाम कहिले छाँया भएर दिन बितेको हुन्छ, त्यसरी नै जीवन पनि कहिले आनन्द कहिले दुखी अर्थात् कहिले हासो, खुसी कहिले दुःख, रुवाइ यसरी बितिरहन्छ । यसरी जीवनले गति लिने क्रममा जीत हार हुनु भनेको मानिसको विवेक र कर्मको कारण हो । सोच र चिन्तनलाई सकारात्मक गतितिर आकर्षित गर्दै विचारलाई परिस्कृत गर्ने र सहयोगी र पारदर्शीतातिर आफ्ना भावना उन्मुख गराउनु हो भने जीवनको गति सुमधुर बन्न सक्छ । त्यसैले स्वच्छ र पवित्र भएर सधै आफूलाई समर्पण गराउनु पर्छ भनिएको हो ।
पानी माथि ओभानो हुने चेस्टा गर्नु भनेको आफ्नो अस्तित्व आफैले समाप्त गर्नु हो । सृष्टि चक्रको इतिहासलाई हेर्ने हो भने यहाँ विभिन्न कालखण्डमा विभिन्न घटना घटेको पाइन्छ तर आफूले आफैलाई दण्डीत गरेको इतिहास कतै भेटिँदैन, बरु चाकडी र चाप्लुसीको कारण तथा शक्ति हत्याउने कुटिल चालले देशमा ठुलै उथुलपुथुल भएको देखिन्छ । आफूले के गरे त्यो बिर्सेर अरुलाई सधै होच्च्याउने, गिराउने खेल राजनैतिक दाउपेजमा भए गरेका देखिन्छ ।
जन्मे पछि मर्नु पर्छ, मरेर लाने केही होइन, राख्ने भनेको आफ्नै कर्म र इतिहास हो भनी कुनै कालखण्डमा कमैले नसोचेको पाइन्छ । केवल अहंकार घमण्ड र दम्भले आफूले आफैलाई बिसर्जन गराएको धेरै देखिन्छ । तसर्थ यस कुरालाई मनन गरी वर्तमान हाम्रो हो, हाम्रो कर्म र विचार हाम्रो भविष्य हो भन्ने चिन्तन गरी हार र जीतमा होइन आफूले आफैलाई आफ्नो कर्म र चिन्तनबाट नयाँ इतिहास रच्न सधै चिन्तनशिल हुनुपर्दछ ।
जीवन हार र जीतको मात्र खेल होइन, यो मानव चिन्तनले उब्जाएको गलत भास्य पनि हो । किनकी प्रकृतिको नियम नै यस्तै गतिमा गतिशिल भएको देखिन्छ । यो त प्रकृतिले दिएको नियम हो । हिउँद पछि वर्षा, वर्षा पछि हिउँद, यो त समयको गतिसँगै बदलिरहने सत्य हो । दिन पछि रात, रात पछि दिन यो त स्वाभाविक नियम हो । उज्यालो पछि अँध्यारो यो त प्रकृतिको नियमै हो । यस्तो अकाट्य सत्यभित्र गुज्रिएर पनि हाम्रो मानसिक चिन्तन किन दिग्भ्रमित भइरहेको छ ? यो गम्भीर प्रश्न अहिले उठिरहेको छ ।
खुसी र दुखीको व्याख्या गर्ने मानव आकांछा र चिन्तनले लोभ, लालच तथा स्वार्थमा जसरी मानव विवेकलाई भागदौड गराइरहेको छ, स्वार्थ र अहंकारले जसरी मानव विवेकलाई बन्धक बनाएको छ, यदि यही गतिलाई जीवनले सहज अवतरणको सूचीमा विकसित गराउँछ भने यो दुर्भाग्य मान्नु पर्छ । आफू असल छु भन्ने अहंकार र दम्भ गरी मेरो विचार सबैले मान्नु पर्छ भन्ने सोच बढाउने हो भने यसले दुर्गती बाहेक अरु केही उपलब्धी हुँदैन ।
त्यसैले समय र परिस्थितिले निम्त्याएको जति पनि अवसर र चुनौती, अथवा आरोह र अवरोह छन् ती सबै हाम्रै कर्म र व्यवहारले ल्याएका परिणती हुन भन्ने सोच गरी, भेदभाव रहित स्वच्छ विचार वर्तमानले खोजी गरेको देखिन्छ । सृष्टिको सर्वोच्चता हासिल गरेको मानिस सबै पूर्ण हुन्छ भन्न सकिन्न, उसका पनि कहीँ कतै कमजोरी हुन्छन्, बस यसलाई सच्याउनु पर्दछ । गल्ती भए स्वीकार गरी माफि लिन र दिन जान्नु पर्छ ।
मैले गरे सबै ठिक अरुले गरे सबै बेठिक भन्ने हो भने यसैले मानिसलाई पतन गराउँदै जान्छ र उ पृथ्वीको भार मात्र कहलिन्छ । उ इतिहासको कलङ्कित पात्र भनी गणना गर्न लाएक हुन्छ । त्यसैले कर्म र व्यवहारमा सधै सकारात्मक प्रवृति उन्मुख गराइ जीवन अहंकार र दम्भभित्र बाचेको सत्य होइन । कहिले प्राप्ती कहिले अप्राप्ती यो जीवनमा आइ पर्ने खेल मात्र हो भनी जीवनलाई सधै एउटै रेखामा गतिशिल बनाइ अगाडि बढ्नु पर्दछ ।
जुन उद्देश्य लिएर जीवन कर्म प्रधानतर्फ उन्मुख छ, त्यही उद्देश्य र विचारलाई निरन्तर गतिशिल बनाइरहनु पर्दछ । विचार र कर्ममा सत्यता झल्कने उज्यालो गति उन्मुख कर्म गरिरहनु पर्दछ । समय गतिशिलसँगै मन बचन र कर्मलाई सर्वजन हितायतर्फ आक्रशित गरिरहनु पर्दछ । प्रत्येकको मनभित्र बस्न सक्ने गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । के किन वा यस्तो र उस्तो भनी अरुको आलोचना गर्ने प्रवृति त्यागी सधै प्रशन्न चित्त रहने गर्नुपर्छ ।
म स्वयम् प्रशन्न छु, अरु पनि सबै प्रशन्न हुनुपर्छ भन्ने अहंकार सोच बढाइ अरुले म पाई भनोस् वा नभनोस् आफैले म पाइ गरी आफ्नो स्वार्थमा लिप्त हुने हो भने यो प्रत्यु उत्पादक बन्न सक्छ । तसर्थ म होइन अरु सबै प्रशन्न रहे म पनि प्रशन्न रहन सक्छु भनी संकल्परत रहनु पर्दछ । आफू मात्र प्रशन्न हुने अरुलाई जे सुकै गरुन् भन्ने सोच गर्नु हुँदैन ।
त्यसैले समय छदै कर्म र व्यवहारबाट आफूलाई प्रमाणित गराउँदै प्रशन्नताको छहारीमा शीतलताको अनुभूति गर्ने गराउने चिन्तन गर्नुपर्दछ । मानव भएर जन्म लिएपछि मानव भएर बाँच्न तथा सागर झै शान्त, शीतल र हिमाल झै उच्च शिर बनाइ चन्द्रमा झै सबैको शीतल छहारी भएर आफूलाई प्रस्तुत गर्नुपर्दछ । कहिले काहीँ अन्जानबस गल्ती भइहाले पनि, उसले यस्तो गल्ती गर्दैनथ्यो, यो कसरी भयो भन्ने मानिसले मूल्याङ्कन गर्न सक्ने आफ्नो आचरण र व्यवहार हुनुपर्दछ ।
आफ्नो आङ्गमा भैंसी हिडेको नदेख्ने अरुको आङ्गमा जुम्रा देख्ने प्रवृति कदापी गर्नु हुँदैन । प्रतिशोध देखा पर्ने कुनै पनि गतिविधि गर्नु हुँदैन । किनकी मानिस यस्तो प्राणी हो जसले पिटेको सहन्छ तर बदलाको भावनाले होच्याउने, गल हत्याउने, अन्याय, अत्याचार र शोसन गर्ने तथा दुव्र्यवहार गरेको र बचन लगाएको उ कहिलै बिर्सदैन । यो कुरा सबैले बुझ्न जरुरी छ ।
अहिलेको वर्तमानलाई हेर्ने हो भने अहिले सबै आफूलाई धार्नी सम्झेको अवस्था छ । बिसौली कोही हुन चाहँदैनन् । भौतिक विज्ञानको उन्नतिले संसारलार्ई साँघुरो घेरामा राखेको वर्तमान समयमा पनि एकले अर्कालार्ई होच्याउने गलत देखाउने प्रवृत्ति आफैमा धोखा मानिन्छ । अहिले मानिसले एकअर्कालार्ई हेर्ने परक गर्ने प्रवृत्तिमा भिन्नता देखिएको छ ।
आफूभित्रको सत्यतालार्ई भुलेर अरुप्रति चासो र जिज्ञासा बढाई स्वार्थ फरक चिन्तन हाबी गर्ने जुन किसिमको प्रवृत्ति अहिले देखा परेको छ यसले अन्तत्व गत्वा आफूभित्र रहेको पुरुषार्थलार्ई निराशातर्फ नडो¥याउला भन्न सकिन्न । त्यो पाजीको हो र हिजो को फुच्छेले हामीसँग जोरी खोज्दछ भनी यदि अहंकार घमण्ड गरिन्छ भने यही अहंकारले उ सक्किने स्थिति हुन्छ । यो सत्य सबैले बुझ्न जरुरी छ । किनकी हिजो र आजमा धेरै परिवर्तन भइसकेको कुरा कसैलाई भनी रहनु नपर्ला ।
अहिले डिजटलको जमाना हो । क्षण भरमा संसारको गतिविधि जानकारी लिन र जानकारी गराउन सकिने अवस्था छ । यस्तो समयमा पनि म बाहेक अरु योग्य हुन सक्दैनन् भन्ने सोच राख्नु भनेको आफैलाई पतन गराउनु मानिन्छ । भौतिक विज्ञानले संसार साँघुरो घेराभित्र रहेको वर्तमान अवस्थामा आफू भित्रको सत्यलाई भुलेर प्रशन्नताको छहारी खोज्दै मनलाई भट्काउने हो भने अवस्था कस्तो होला ?
तसर्थ हरेक प्रति शुभ भाव जगाउने श्रेस्ठ विचारक भएर जीवनले खोजेको आदर्श गन्तव्य निर्धारण गर्न सधै लागि रहनु पर्दछ । सबैको मन र दिल दिमागमा रहन सक्ने चम्किलो हिरा बन्न सक्नु पर्छ । तब मात्र इतिहासको पाना तयार हुनसक्छ । स्वच्छ र पवित्र विचारले समर्पित भाव जागृत गर्नु नै सफलताको आधार हो, जीत र हार होइन । चेतना भया ।