पूर्वाधार अभावले ओझेलमा ‘लिस्ने लेक’

भरत विश्वकर्मा
रोल्पा, ३ मङ्सिर । पर्यटनको अथाह सम्भावना भएर पनि रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङ अवस्थित लिस्ने लेक ओझेलमा परेको छ । रोल्पा र प्युठानको सीमामा पर्ने यो ठाउँ प्राकृतिक रूपमा सुन्दरताले भरिएको छ । प्राकृतिक पर्यटनको साथै लिस्ने लेक ऐतिहासिक, धार्मिक एवम् युद्ध पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

लिस्ने लेकबाट विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ«े, सिस्ने जलजलालगायतका हिमाल अवलोकन गर्न सकिन्छ । उच्च भू–भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण लिस्नेबाट रोल्पा र प्युठानका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको अनुपम उपहार लिस्ने लेक तत्कालीन समयमा २०५२ सालबाट माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको कारण चर्चामा छ । लिस्नेको बारेमा धार्मिक दृष्टिकोणले विभिन्न कथन छन् ।

तत्कालीन समयमा यहाँ स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको भन्ने किम्बदन्ती छ । लिस्ने लेकमा प्रशस्त जङ्गल भएकाले जङ्गलमा पाइने जडिबुटी खाएर स्वर्गद्वारी महाप्रभु निको भएको भनाइ छ । लिस्नेमा तपस्या गरेर बस्ने प्रभुको मनसाय हुँदाहुँदै पानीको अभावका कारण यो ठाउँ छोडेर स्वर्गद्वारी गएको भन्ने भनाइ छ ।

यहाँ समय–समयमा मानिसको जमघटसमेत हुने गर्दछ । पहाडी होलीको समयमा त यहाँ ठुलो मेला लाग्ने गर्दछ । रोल्पा र प्युठानका साथै छिमेकी जिल्लाबाट होली खेल्न लिस्नेमा आउने परम्परा रही आएको छ । यसका साथै नयाँ वर्षलगायत विभिन्न चाडपर्वमा पनि लिस्ने घुम्ने पर्यटकको घुइँचो लाग्छ । समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको कायो स्थानमा हिउँदमा हिउँ जम्ने गर्दछ ।

हिउँदको समयमा हिँउ खेल्न आउने पर्यटकको भीड नै हुने गर्दछ । घुम्न आउने पर्यटकको सहजताका लागि यहाँ रेलिङ, गोरेटो बाटो, मन्दिरलगायत केही संरचना बनेका छन् । सुनिलस्मृति गाउँपालिका–७ तेबाङका स्थानीय गंगाराम पुनले लिस्ने लेकमा पर्यटन व्यवसायको सम्भावना रहेको बताए । ‘तत्कालीन समयमा माओवादीले सुरु गरेको जनयुद्धका कारण लिस्ने चर्चामा छ’, उनले भने, ‘त्यतिबेला जनमुक्ति सेना र नेपाली शाही सेनाबिच खुल्ला मर्चाबद्ध लडाइँका रूपमा यो ठाउँ परिचित छ, युद्ध पर्यटनको दृष्टिले यो ठाउँ महत्वपूर्ण मानिन्छ ।’

पर्यटकलाई सहजताका लागि लिस्नेमा होमस्टेको व्यवस्था र बाटोघाटो, खानेपानीको राम्रो व्यवस्था, प्रतीक्षालयलगायत संरचना बन्न सके पर्यटनको राम्रो सम्भावना रहेको उनले बताए । लिस्नेको जङ्गलमा विभिन्न खालका दुर्लभ जनावरसमेत पाइन्छन् । राते, घोरल, मृग, डाँफेलगायतका जङ्गली जनावर यहाँ पाइन्छ । यसका साथै विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छ ।

लिस्नेसम्म पुग्न पूर्वी रोल्पाको सुलीचौर बजारबाट करिब १५ किलोमिटर कच्ची सडकको यात्रापश्चात् तेबाङ गाउँ पुगिन्छ । त्यसपछि करिब २÷३ घण्टाको पैदल यात्रा गरेपछि लिस्ने पुग्न सकिन्छ । पछिल्लो समय पैदलयात्रीका लागि गोरेटो बाटो व्यवस्था भएकाले पर्यटकलाई केही सहज बनेको छ । यसका साथै रोल्पाको अरेश गाउँ, जुटुङ खोला र प्युठानका विभिन्न ठाउँबाट सहजै पैदलयात्रा पश्चात् लिस्नेसम्म पुग्न सकिन्छ ।

सुनिलस्मृति गाउँपालिका–७ तेबाङका वडाध्यक्ष रेशम शर्मा रिजालले लिस्नेमा पर्यटन विकासका लागि केही काम भइरहेको बताए । ‘लिस्नेमा पर्यटन पूर्वाधार निर्माणमा आर्थिक वर्ष २०८१÷०८२ मा लिस्ने जाने बाटोका लागि ४५ लाखको बजेटमा युद्ध सङग्रहालय, जनयुद्धको झल्को दिने खालको संरचना निर्माण, सहिदको शीलालेख र जनमुक्ति सेनाका आकृति राख्ने काम भएको छ’, उनले भने, ‘लिस्नेसम्म पुग्न मोटरबाटो बन्दैछ ।’ प्राकृतिक तथा धार्मिक पर्यटकको अथाह सम्भावना भएर पनि लिस्ने लेकमा उल्लेख्य रूपमा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । पर्यटक भित्राउन आवश्यक भौतिक संरचना तथा प्रचारप्रसारको अभावले लिस्ने लेक ओझेलमा परेको छ ।