विद्यार्थीलाई साहित्यमा जोड्दै गोरखा स्कुल

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ मङ्सिर । विद्यार्थीमा हुने बहुप्रतिभाको पहिचान गर्दै उनीहरूमा क्षेत्रगत दक्षतामा प्रोत्साहन गर्न पछिल्लो समय गोरखा ग्रुपद्वारा सञ्चालित स्कुलहरूमा सहित्यिक अभियान सञ्चालन भएका छन् । यस क्रममा गोरखा ग्रुपद्वारा तुलसीपुर क्षेत्रमा सञ्चालित दुई वटा स्कुल र तुलसीपुर उपमहानगरपालिकामै रहेको गोरखा स्कुलको भगिनी स्कुल मावि प्रतापकोटमा तीनदिने कथा लेखन कार्यशाला सम्पन्न भएको छ ।

‘हामी विद्यार्थीमा भएका हरेक कलालाई प्रोत्साहन र प्रवर्धन गर्न चाहन्छौँ, यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीले आफ्नो भविष्य कोर्न सक्नेछन्, कथा लेखन कार्यशाला त्यसैका लागि हो’, गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएमले भने । विद्यार्थीलाई साहित्यमा जोडेर उनीहरूमा लुकेको प्रतिभा प्रष्फुटन गराउने र अवसर प्रदान गर्ने उद्देश्यले यो वर्ष गोरखा मावि तुलसीपुर, गोरखा आवाशीय विद्यालय तुलसीपुर र सोही स्कुलको भगिनी संस्था मावि प्रतापकोटमा सम्पन्न भएको छ ।

कथा लेखनमा सहयोग गर्न विद्यालयले कथाकार तथा साहित्यकार विजयराज आचार्यलाई ल्याएको थियो । उनैले तीनवटै विद्यालयका विद्यार्थीलाई कथा लेखन तालिम दिएका हुन् । कथा लेखन कार्यशाला नाम दिइएको यो साहित्यिक अभियान तीनवटै स्कुलमा तीन÷तीन दिन सञ्चालन भएको गोरखा मावि तुलसीपुरले जनाएको छ । विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखेर उनीहरूमा भएका बहुप्रतिभाको उजागर गर्ने उद्देश्यले पछिल्लो केही वर्ष यता साहित्यिक जागरण अभियान स्कुलले सञ्चालन गर्न थालेको गोरखा मावि तुलसीपुरका प्राचार्य जिएमले बताए ।

त्यसो त विद्यालयले पाठ्यक्रममा मात्र सीमित नराखेर हरेक क्षेत्रमा विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउने अभियानमा खेलकुददेखि मनोरञ्जनका अभियान गोरखा स्कुलले सञ्चालन गर्दै आएको छ । यसरी नै हरेक वर्ष गोरखा ग्रुपले आफ्ना चार वटा स्कुलमा यस्तो कथालेखन कार्यशाला सञ्चालन गर्दै आएको छ ।

यसरी नै गोरखा मावि तुलसीपुरमा कथा लेखन प्रतियोगिता आइतवार समापन गरियो । विद्यालयका प्राचार्य विजयमान जिएमको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रस्तुत भएका कथाको समीक्षा समालोचक खगेन्द्र काफ्लेले गरे । सो स्कुलमा ४० जना विद्यार्थी कथामा पोखिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलामणि बाठाको अध्यक्षतामा भएको समापन कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सुशील गिरी, गोरखा ग्रुपका एकेडेमिक डिरेक्टर दुर्गा केसीलगायतले बोल्न भ्याए भने एलिसा खाड्का, सन्जीता ठाडा, अनुजा आले, कृष्टि गुरुङ, मनीषा आले, अनुष्का वलीलगायतले आआफ्ना भोगाइलाई कथाको माध्यमबाट प्रस्तुत गरे ।

कार्यक्रमको सहजीकरण पनि विद्यार्थी द्वय विजय वली र सविना गुरुङले गरेका थिए । सोमवार गोरखा आवासीय विद्यालयमा यस्तै कार्यशाला सोही विद्यालयका प्राचार्य रविन खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत चित्रा बस्नेतको प्रमुख आतिथ्यमा भयो । त्यहाँ पनि साना विद्यार्थी भाइबहिनीले साहित्यिक क्षमता प्रष्फुटन गरे ।

समापनको हरेक मन्तव्यमा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएमले भनेका थिए, ‘तपाईंहरूले लेखेका रचनाहरू विद्यालयले एउटा सङ्गालोको रूपमा पुस्तक तयार पार्नेछ । विद्यार्थीले लेखेका कथाहरूको सङ्ग्रह आगामी पुस १४ गते विद्यालयको वार्षिकोत्सवमा विमोचन गरिने विद्यालयले उद्घोस गरेको छ ।