बाल अधिकारसम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगर
मसुरिया, ३ मङ्सिर । राप्ती गाउँपालिकामा बाल अधिकार, बाल श्रम र बाल विवाह न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका माध्यमिक तहका विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोे बताए । पछिल्ला वर्षमा शिक्षा सँगसँगै संस्कारको अभाव देखिँदै गएको भन्दै अध्यक्ष विष्टले बालबालिका विभिन्न दुव्र्यसन, कुलत तथा बालविवाहतर्फ उन्मुख भइरहेका घटनाले चिन्ता बढाएको उल्लेख गरे । उनले प्रविधिको बढ्दो प्रयोग तथा सामाजिक सञ्जालको गलत प्रयोगले सहरदेखि गाउँसम्मका बालबालिकामा नकारात्मक प्रभाव परेको बताउँदै अभिभावक र सरोकारवाला सबैले समयमै निगरानी र मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय तहले बाल अधिकार संरक्षण तथा जोखिम न्यूनीकरणका लागि सञ्चालन गरिरहेको काम, योजना तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए । उनले विद्यालय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

अभिमुखीकरणका क्रममा चर्चित कलाकार कमल गाउँले र गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले बाल अधिकारका आधारभूत पक्ष, बाल श्रमको प्रभाव, बाल विवाहका जोखिम तथा न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका थिए । सो अवसरमा लागूऔषध तथा कुलतबाट बच्न तयार पारिएको भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो । जसले विद्यार्थीलाई जोखिम र असरबारे थप जानकारी गराएको थियो ।

गाउँपालिका अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ नम्बर वडाध्यक्ष गेमबहादुर खड्का, ३ नं. वडाध्यक्ष उमेश अधिकारी, कार्यपालिका सदस्य रणबहादुर पुजाली, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक देवी मल्ललगायत सामुदायिक तथा संस्थागत विद्यालयका करिब दुई सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।