गोरक्ष समाचारदाता
तुलसीपुर, २ मङ्सिर । विश्वबाट लोप हुँदै गएको प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षणलाई विद्यालयको पाठ्यक्रममा राख्न तुलसीपुर उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको छ । पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङले आइतवार आयोजना गरेको सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको ‘विद्यालयको पाठ्यक्रममा गिद्ध संरक्षण’को विषय समावेश गर्ने सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीले प्रकृतिको कुचीकार गिद्ध हराउँदै गएकाले यसको संरक्षण आजको चुनौती भएको बताएका थिए । गिद्ध लोप हुँदा वातावरणीय सन्तुलनमै चुनौती देखिने र यसले मानव समुदायलाई प्रत्यक्ष वा परोक्ष रूपमा असर गर्ने भएकाले गिद्ध संरक्षणलाई स्थानीय सरकारले पाठ्यक्रममै समावेश गर्न आग्रह गरेका थिए । सहभागीको आग्रह कम्तीमा एउटा पाठ भए पनि स्थानीय पाठ्यक्रममा गिद्ध संरक्षणसँग सम्बन्धित हुनपर्ने थियो ।
‘विकासका नाममा धेरै चक्रीय प्रणालीमा असर परिरहेको छ, यही चपेटोमा गिद्ध पनि परेको छ’, सहभागीको अपेक्षा सुनेपछि नगर प्रमुख खड्काले भने, ‘स्थानीय पाठ्यक्रममा मात्र होइन, गिद्ध संरक्षणको विषयवस्तुलाई राष्ट्रिय पाठ्यक्रममै राख्न संस्थाले वृहत बहस थाल्नुपर्ने छ ।’ उनले तुलसीपुर उपमहानगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रममा गिद्धको विषयलाई सामान्य परिचयको रूपमा उठाएको बताउदै आगामी दिनमा यसलाई बृहत्तर बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । ‘गिद्धका सुरक्षित आवास सिमलका रूखहरू सबै विनाश भइसके, गिद्धको आहारका रूपमा सिनो पशुपालन हराउँदै गएपछि अभाव हुन थाल्यो’, प्रमुख खड्काले भने, ‘गिद्ध लोप हुनुको प्रमुख कारण यही नै हो ।’ यो अवस्थामा फेरि पशुपालनको जागरणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने उनको अभिव्यक्ति थियो ।
संस्थाका अध्यक्ष रावतले विषयवस्तु प्रवेश गराएको उक्त अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, जनता संस्कृत मावि बिजौरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगी, हिमालय बोर्डिङ स्कुल हेमन्तपुरका प्रधानाध्यापक रमेश पौडेल, सिर्जना बालबाटिका अङ्ग्रेजी माध्यमिक विद्यालयका प्राचार्य अशोककुमार पोख्रेल, न्यु स्टार बोर्डिङका प्राचार्य शरण घर्ती मगर, जनकल्याण मावि दुधरासका प्रधानाध्यापक हिमबहादुर भण्डारी, मावि बेलझुण्डीका प्रधानाध्यापक सूर्यबहादुर बस्नेत, लिटिल फ्लावर अङ्ग्रेजी माध्यमिक विद्यालयका प्राचार्य विश्वमणि देवकोटा, मावि बेलझुण्डीका विव्यस अध्यक्ष हिमबहादुर चौधरी, मावि कुटेचौरका प्रधानाध्यापक टंक केसी, लक्ष्मी माध्यमिक विद्यालय हेमन्तपुरका प्राचार्य सागर अधिकारीलगायतले गिद्ध संरक्षणलाई प्रभावकारी बनाउन विद्यालय पाठ्यक्रममै समावेश गर्नुपर्ने सुझाव दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण केन्द्रका कार्यक्रम संयोजक साधना अधिकारीले गरेकी थिइन् ।