लमहीमा धान खरिद शुभारम्भ

प्रिया स्मृती गजमेर
लमही, १ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले लमही नगरपालिकामा धान खरिद कार्यको शुभारम्भ गरिएको छ ।

धान खरिद कार्यको आइतवार सुभारम्भ गर्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले किसानले अब धानको उचित मूल्य पाउने बताए । किसानले मेहनत गरेर उत्पादन गरेको धान निकै सस्तो मूल्यमा व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता भएपछि आफुले खाद्य कार्यालय पुगेर सम्झौता गरेको र सम्झौतापछि लमहीमा धान खरिद सुरु भएको बताए ।

उपप्रमुख लक्ष्मी योगीले किसानलाई मल–बिउको कमी, न्यून मूल्य र विभिन्न कठिनाइहरूले निरन्तर दुखी बनाइरहेको समयमा मेहनत गरेर उत्पादन गरेको धानले मुल्य पाउँदा किसानलाई राहत मिल्ने बताइन । उनले भनिन,‘मल–बिउ नपाउँदा किसानको पीडाको वास्तविक अनुभूति किसानले मात्रै गर्न सक्छ । राज्यले समयमै चासो दिए किसानलाई ठूलो राहत मिल्छ ।’

उनका अनुसार कृषि उत्पादनलाई सुरक्षित राख्ने, बजार व्यवस्थापन गर्ने र किसानलाई आर्थिक रूपमा सबल बनाउनेतर्फ नगरपालिका सक्रिय रूपमा काम गरिरहेको बताइन । धान खरिद बिक्रि कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरका अधिकारीहरु, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीलगायतको उपस्थिति रहेको थियो । खरिद गरिएको धान लमही नगरपालिका–६ खैरीमा अवस्थित पञ्चरत्न खाद्य उद्योगको खाली भवनमा धान भण्डारण गर्ने तयारी भएको छ ।

लामो समयसम्म सञ्चालन भएको उद्योग पछिल्लो समय बन्द रहेको छ । बन्द उद्योगको खाली घर अहिले धान भण्डारणका लागि प्रयोग गरिने भएको छ । यसले गोदाम अभावको समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । खाद्यले पहिलो दिन किसानको विवरण सङ्कलन गरेको र सोमवार (आज) धान खरिद गर्नेछ ।