सिकाइको यात्रा : पुस्तान्तरणले ल्याउने चुनौती र अवसर

यादव गिरी

सिकाइको निरन्तर प्रवाह

शिक्षा मानव सभ्यताको सबैभन्दा महङ्खवपूर्ण स्तम्भ हो । यो केवल ज्ञान, सिप र व्यवहारको सञ्चय मात्र होइन, मानव जीवनको अन्तर्निहित मूल्य र संस्कारको संरचना पनि हो । तर, शिक्षा स्थिरता र अपरिवर्तनीयता मात्र होइन, यो निरन्तर प्रवाहशील र समयसँगै परिवर्तित हुने प्रक्रिया हो ।

प्रत्येक पुस्ताले आफ्ना विशिष्ट आवश्यकता, प्रवृत्ति र चुनौतीसँग जुझ्दै शिक्षा ग्रहण गर्दछ, र त्यसका अनुभवहरुले अर्को पुस्तालाई नयाँ आयाम प्रदान गर्दछन् । सिकाइको यात्रा भनेको केवल विद्यालयको भित्तामा सीमित ज्ञान ग्रहण गर्ने प्रक्रिया होइन, तर जीवनको प्रत्येक पाटोमा अनुभव, अन्वेषण, संवाद र आत्म–परीक्षणको यात्रा हो ।

यस यात्रामा शिक्षक र विद्यार्थीको सम्बन्ध, शिक्षण विधि, प्रविधिको प्रयोग, समाज र संस्कारले महङ्खवपूर्ण भूमिका खेल्दछन् । जब पुस्तान्तरणको कुरा आउँछ, तब चुनौती मात्र होइन, अवसर पनि अपरम्पार हुन्छ । पुस्तान्तरण भन्नाले केवल उमेर समूहको परिवर्तनलाई जनाउँदैन, यसले सामाजिक, सांस्कृतिक, प्राविधिक र मनोवैज्ञानिक आयाममा शिक्षा र सिकाइको संरचनालाई समेट्छ ।

नयाँ पुस्ताले पुरानो पुस्ताबाट प्राप्त ज्ञान र अनुभवलाई चुनौती दिन्छ, त्यसको पुर्नमूल्याङ्कन गर्दछ र आफ्नै सन्दर्भमा रुपान्तरण गर्छ । यही द्वन्द्वले शिक्षा प्रणालीलाई गतिशील बनाउँछ, तर यसले शिक्षक र विद्यार्थी दुवैका लागि गहन चुनौतीहरु पनि सिर्जना गर्दछ ।

पुस्तान्तरणको चुनौतीहरु

प्रत्येक पुस्ताले आफ्नो सन्दर्भ र आवश्यकता अनुसार ज्ञान ग्रहण गर्छ । पुरानो पुस्ताको शिक्षकले प्रयोग गरेको शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया र पाठ्यक्रम नयाँ पुस्ताका विद्यार्थीको दृष्टिकोणसँग सधैं मेल खाँदैन । आजका विद्यार्थीहरु डिजिटल युगमा जन्मिएका छन्, उनीहरु जानकारी पहुँचमा सहज, खोज–अन्वेषणमा सक्रिय र स्वायत्त सिकाइमा विश्वास गर्ने प्रवृत्ति राख्छन् ।

यस प्रवृत्तिले शिक्षकलाई चुनौती दिन्छ । परम्परागत शिक्षण विधि जसमा शिक्षक केन्द्रित दृष्टिकोण, कक्षा व्यवस्थापन र कठोर अनुशासन प्रमुख थिए, नयाँ पुस्ताका लागि प्रायः बाँधक र कम प्रभावकारी देखिन्छ । शिक्षकले आफ्नो अनुभव र विधिलाई आधार मानेर शिक्षा दिन खोज्दा विद्यार्थीको ध्यान विचलित हुन सक्छ, जसले शिक्षण–अधिगमको अन्तरक्रियात्मक प्रक्रिया कमजोर बनाउँछ ।

डिजिटल युगको आगमनले शिक्षा प्रणालीमा क्रान्ति ल्याएको छ । कम्प्युटर, इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्स (AI), र अनलाइन प्लेटफर्महरुले ज्ञान र सिकाइलाई अभूतपूर्व तरिकाले पहुँचयोग्य बनाएका छन् । तर यो पनि चुनौतीपूर्ण छ । पुराना शिक्षकहरु प्रायः प्रविधि प्रयोगमा सहज हुँदैनन् । डिजिटल शिक्षण–संसाधनको सहज उपयोग, अनलाइन मूल्याङ्कन प्रणाली र बहुआयामी शिक्षण सामग्रीको प्रयोगमा उनीहरु अलमलिन सक्छन् । यसले ज्ञान हस्तान्तरणमा ढिलाइ, अवरोध र कहिलेकाहीँ असमर्थता निम्त्याउँछ ।

पुस्तान्तरणसँगै विद्यार्थी र शिक्षकबिच मनोवैज्ञानिक अन्तर पनि प्रकट हुन्छ । नयाँ पुस्ता स्वतन्त्र, सक्रिय र विचारशील छ । उनीहरु प्रश्न सोध्न, असहमति व्यक्त गर्न र रचनात्मक सोच प्रयोग गर्न तत्पर छन् । जबकि परम्परागत शिक्षकले अनुशासन, शिष्टाचार र अनुभवमा आधारित निर्देशनमा विश्वास राख्छन् । यो अन्तरले द्वन्द्व सिर्जना गर्दछ ।

विद्यार्थीलाई स्वतन्त्रता दिने क्रममा शिक्षकले नियन्त्रण गुमाएको अनुभव गर्न सक्छन् । विद्यार्थीले परम्परागत विधि अव्यावहारिक ठान्दा शिक्षकमा असमझदारी र निराशा उत्पन्न हुन सक्छ । समाज र परिवारको दृष्टिकोण पनि यस द्वन्द्वलाई गहिरो बनाउँछ, किनकि शिक्षा केवल कक्षा भित्रको कुरा मात्र होइन, सामाजिक मूल्य र संस्कारसँग जोडिएको हुन्छ ।

हरेक पुस्ताले आफ्नै मूल्य र संस्कारको दृष्टिकोण विकास गर्छ । नयाँ पुस्ता वैश्विकरण, प्रविधि र सामाजिक सञ्जालको प्रभावमा पुरानो मूल्यलाई प्रश्न गर्छ । परम्परागत शिक्षकले अनुभव र दीर्घकालीन अभ्यासबाट स्विकार्ने मूल्यलाई महङ्खव दिन्छन् । यसले शिक्षक–विद्यार्थी सम्बन्धमा मूल्य आधारित द्वन्द्व उत्पन्न गर्दछ । उदाहरणका लागि, समयपालन, श्रमको सम्मान, सामाजिक उत्तरदायित्व र नैतिक शिक्षा जस्ता मूल्य नयाँ पुस्ताले विभिन्न दृष्टिकोणबाट हेर्छ । शिक्षकले यसलाई समायोजन नगरेको खण्डमा सिकाइ अर्थपूर्ण बन्न सक्दैन ।

पुस्तान्तरणको अवसरहरु

पुस्तान्तरणले शिक्षक र विद्यार्थी दुवैका लागि अद्वितीय अवसरहरुको ढोका खोल्दछ । नयाँ पुस्ताका विद्यार्थीहरु प्रायः परियोजना–आधारित, समस्यामूलक र अनुसन्धान–केन्द्रित शिक्षामा बढी चासो राख्छन्, जसले परम्परागत कक्षा शिक्षणको सीमालाई चुनौती दिन्छ ।

यसैक्रममा शिक्षकले आफ्नो विधि, शैली र शिक्षण कौशललाई परिमार्जन गरेर नयाँ युगसँग अनुकूलन गर्नुपर्छ । जब शिक्षक परम्परागत पाठ्यक्रममा सीमित रहँदैनन् र बहुविध शिक्षण विधि अपनाउँछन्, तब सिकाइ केवल ज्ञान हस्तान्तरणको प्रक्रिया मात्र नभई अर्थपूर्ण, सक्रिय र रोचक अनुभवमा परिणत हुन्छ ।

उदाहरणका लागि, विज्ञान, गणित र सामाजिक अध्ययनमा प्रयोगात्मक विधि लागू गर्नु, डिजिटल प्लेटफर्ममा अन्तरक्रियात्मक सामग्रीको प्रयोग गर्नु, र बहुआयामी मूल्याङ्कन प्रणाली अपनाउनु शिक्षकलाई आफ्नै ज्ञान र शिक्षण शैलीलाई नवीनतम युगसँग मेल खाने अवसर प्रदान गर्दछ । यसरी शिक्षकले नयाँ उपकरण, प्रविधि र शिक्षण अभ्यासहरुमा दक्षता हासिल गर्दै आफ्नो शिक्षण प्रभावकारिता सुधार्न सक्छन् ।

यसै सन्दर्भमा पुस्तान्तरण केवल विद्यार्थीलाई सिक्ने अवसरमा सीमित हुँदैन, यो शिक्षकलाई पनि निरन्तर सिक्ने प्रक्रियामा ल्याउँछ । नयाँ पुस्ता प्रविधि प्रयोग, बहुसांस्कृतिक दृष्टिकोण, र नवीनतम ज्ञान स्रोतहरुमा दक्ष हुन्छन्, जसबाट शिक्षकले आधुनिक शिक्षण उपकरण, डिजिटल सामग्रीको प्रभावकारी प्रयोग र नवप्रवर्तनात्मक शिक्षण अभ्यासहरु सिक्न सक्छन् ।

यस प्रक्रियामा ज्ञानको बहुप्रवाह सिर्जना हुन्छ, जहाँ शिक्षकबाट विद्यार्थीमा अनुभव र शास्त्रीय ज्ञान प्रवाहित हुन्छ भने विद्यार्थीबाट शिक्षकमा नयाँ प्रविधि, सिर्जनात्मक दृष्टिकोण र अनुकूलनशील सोच फर्किन्छ । यस द्विपक्षीय सिकाइले शिक्षक–विद्यार्थी सम्बन्धलाई केवल औपचारिक र hierarchical सम्बन्धमा सीमित नराखी, सहजीकृत, संवादपूर्ण र सहयोगी बनाउँछ ।

पुस्तान्तरणले शिक्षा प्रणालीलाई अधिक समावेशी र बहुआयामिक बनाउने शक्ति पनि राख्दछ । नयाँ पुस्ताले विविध पृष्ठभूमि, भाषा, संस्कार र क्षमता भएका विद्यार्थीको अनुभवलाई प्राथमिकता दिन्छ । यस दृष्टिकोणलाई शिक्षकले अपनाउँदा, शिक्षा प्रणाली केवल ज्ञानको केन्द्रमा सीमित नहुँदै मूल्य, संस्कार र सामाजिक उत्तरदायित्वमा केन्द्रित हुन्छ ।

समावेशी शिक्षा प्रणालीमा विद्यार्थीहरु भिन्नता र विविधतालाई स्वीकार गर्न सिक्छन्, जसले उनीहरुको सामाजिक समझदारी, सहिष्णुता र रचनात्मक सोचलाई बलियो बनाउँछ। यसैगरी बहुआयामिक शिक्षा प्रणालीले पाठ्यक्रम, विधि र मूल्याङ्ककनको विविधता सुनिश्चित गर्दै सबै विद्यार्थीलाई सक्रिय सहभागीको रुपमा राख्छ, जसले दीर्घकालीन र अर्थपूर्ण सिकाइको अनुभव प्रदान गर्दछ ।

सही तरिकाले पुस्तान्तरणलाई व्यवस्थापन गर्दा शिक्षा प्रणालीले दीर्घकालीन लाभ दिन्छ । शिक्षक–विद्यार्थी सम्बन्ध अधिक सहजीकृत, विश्वासपूर्ण र सहयोगी हुन्छ, जसले कक्षा वातावरणलाई सकारात्मक बनाउँछ र सिकाइमा उत्साह वृद्धि गर्दछ । विद्यार्थीको सिर्जनात्मकता, अनुसन्धान प्रवृत्ति र स्वतन्त्र सोचलाई प्रोत्साहन गर्दा शिक्षण–अधिगमको गुणस्तरमा ठोस सुधार आउँछ ।

यसले मात्र होइन, समाजमा जिम्मेवार, रचनात्मक र सक्षम नागरिकको निर्माणमा पनि योगदान पु¥याउँछ, जसले दीर्घकालीन रुपमा देशको मानव–स्रोत क्षमता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउँछ । यसरी, पुस्तान्तरणको अवसरले शिक्षक र विद्यार्थीलाई सहजीकृत, सक्रिय, र नवप्रवर्तनात्मक सिकाइको मार्गमा ल्याउँछ। यसले शिक्षा प्रणालीलाई केवल पारम्परिक संरचनामा सीमित नराखी, बहुपरिप्रेक्ष्य, समावेशी र दीर्घकालीन लाभ दिने प्रणालीमा परिणत गर्छ ।

शिक्षकले आफ्नो ज्ञान र अनुभवलाई नयाँ प्रविधि र दृष्टिकोणसँग मेल गर्न सिक्छन् भने विद्यार्थीले रचनात्मक सोच, स्वतन्त्र अध्ययन र बहुआयामिक सिकाइको अनुभव प्राप्त गर्छन्। यस प्रक्रियामा शिक्षा केवल सूचना हस्तान्तरणको माध्यम मात्र रहँदैन, तर जीवनपर्यन्त सिकाइको अर्थपूर्ण यात्रा बन्न पुग्छ । यसरी पुस्तान्तरणले शिक्षा प्रणालीमा स्थायी सुधार ल्याउने, शिक्षक–विद्यार्थी सम्बन्धलाई गहिरो बनाउने र समाजमा रचनात्मक, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्ने अवसर प्रदान गर्दछ, जसले भविष्यमा शिक्षा र समाज दुवैलाई मजबुत र दिगो बनाउँछ ।

नेपाली शिक्षा प्रणालीमा पुस्तान्तरण

नेपालको शिक्षा प्रणाली ऐतिहासिक रुपमा परम्परागत शिक्षक–केन्द्रित ढाँचामा आधारित छ । शैक्षिक सुधार र राष्ट्रिय शिक्षा नीति २०६३ बाट विद्यार्थी–केन्द्रित शिक्षा प्रवर्धन गर्ने प्रयास भए पनि ग्रामीण–सहरी अन्तर अझै गहिरो छ । शहरी विद्यालय प्रविधि पहुँच, प्रयोगात्मक शिक्षा र बहुपरिप्रेक्ष्य सिकाइमा रुपान्तरीत हुदैछन भने ग्रामीण विद्यालयहरु शिक्षक–केन्द्रित शिक्षा, सीमित स्रोत, र पारम्परिक मूल्यमा जोड दिँदै सञ्चालनमा रहेका छन ।

यस अन्तरले पुस्तान्तरणको चुनौती स्पष्ट देखाउँछ । डिजिटल शिक्षा र ICT  पहुँचले शहरका विद्यार्थीलाई नयाँ पुस्ताका रुपमा तयार पारेको छ, जबकि ग्रामीण क्षेत्रका विद्यार्थी अझै परम्परागत संरचनामा बाँधिएका छन् । र पनि केहि ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुले गरेको नौलो प्रयोगले यसको आवश्यक्तालाई पुष्टि गर्दछ ।

रुकुम पश्चिमको एउटा माध्यमिक विद्यालयमा शिक्षण–अधिगमको वास्तविक अनुभव यस प्रकार छ । विद्यालयका शिक्षकहरुले दश वर्षअघिका परम्परागत विधि अपनाइरहेका थिए । विद्यार्थीले शिक्षकको भनाइ लेख्नु, गृहकार्य बुझाउनु र अनुशासन पालन गर्नु मुख्य आधार थियो । तर, केही वर्षअघि विद्यालयमा ICT पहुँच भयो ।

केही विद्यार्थीले मोबाइल, इन्टरनेट र अनलाइन स्रोतको माध्यमबाट आफ्नै तरिकाले अध्ययन गर्न थाले । प्रारम्भमा शिक्षक–विद्यार्थी द्वन्द्व देखियो । शिक्षकले अनुभव र परम्परालाई महङ्खव दिँदा विद्यार्थीले स्वतन्त्र अध्ययन गर्ने प्रयासलाई चुनौतीको रुपमा हे¥यो । सिकाइको यात्रा निरन्तर, बहुआयामिक र जीवनपर्यन्त प्रक्रिया हो । नेपालमा पुस्तान्तरणले शिक्षक र विद्यार्थी दुवैका लागि चुनौती ल्याउँछ, तर सही दृष्टिकोण, नवप्रवर्तन र सहकार्यको माध्यमबाट यसलाई सुनौलो अवसरमा परिणत गर्न सकिन्छ ।

शिक्षक अनुभव, परम्परा र नवप्रवर्तनको संयोजन रहन्छन् । त्यसैगरी विद्यार्थी स्वतन्त्र, सक्रिय र बहुपरिप्रेक्ष्य सोच भने शिक्षा प्रणाली समावेशी, बहुआयामिक र मानव–केन्द्रित रहेको छ । पुस्तान्तरण केवल चुनौती होइन, भविष्यको शिक्षा निर्माण गर्ने सुनौलो अवसर हो । यदि हामी शिक्षक, विद्यार्थी र नीति निर्माताले सहकार्य गर्न सफल भयौं भने, नेपालमा सिकाइको यात्रा अझ अर्थपूर्ण, रचनात्मक र दीर्घकालीन हुनेछ ।