केपी सुवेदी
मौसम अनुसारको खेती गर्ने किसानको नियमित दिन चर्या भए जस्तै राजनीति पनि त्यससँगका गतिविधिहरु देश, काल परिस्थिति र मुलुकमा विध्यमान राजनीतिक प्रणालीलाई नियमन गर्ने कानुन अनुसार हुन्छ । जेन–जी समूहको आह्वानमा भएको आन्दोलनले ल्याएको राजनीतिक भूईंचालोपछि, राजनीतिक दलका सङ्गठन र तिनका सञ्चालक मनस्थिति बिथोलिदिएको छ ।
सतहमा भइरहेको राजनीतिक गतिविधिलाई आधार मानेर भनौ भने जेन–जी आन्दोलनको आडमा घुसपैठ गरेर देशै घ्वस्त पार्ने अभियानमा प्रत्यक्ष वा परोक्षरुपमा संलग्न भएका दल विगठनको यात्रामा लाम लागेको देख्न पाइन्छ । २०५२ मा हिंसात्मक र ध्वंसात्मक बाटो अवलम्बन गरेर विभिन्न चरणमा देशलाई ध्वस्त बनायो अनि सामन्तवादको विरुद्धमा लडेको अभिनय गर्दै गर्दा नवसामन्त बनेपछि २०८२ मा यो धर्तीबाट अस्ताएको छ ।
नेकपा माओवादी नाम गरेको त्यो पार्टी कुनै न कुनै रुपमा माओवादीका सक्कली जन्मदाता मोहन बैध्य (किरण) को नेतृत्वमा अध्यपि छ तर नकारात्मक उर्जाले छताछुल्ल भएको र आर्थिक स्रोतहरुमा नियन्त्रण गरेर नबधनाढ्य बनेको प्रचण्ड यण्ड कम्पनि अर्को संस्थानमा गाभिएको छ ।
जेन–जी आन्दोलनमा सहभागी भएर राष्ट्रिय सम्पत्ति जलाउनेमा उनका कारिन्दाहरु सफल छन्, सुरक्षाकर्मीका हतियार खोसेर लिन र आवश्यक परेको समयमा पडकाउन पनि उनीहरु तालिम प्राप्त हुन् । आफ्नै मानिसले गरेका हुन् भन्ने प्रचण्ड स्वयम्ले आफ्नो पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दा भनेका थिए,‘पार्टी कार्यालय र सरकारी सम्पत्ति जल्यो जलाईयो अब अझै राम्रो बनाउने छौँ’ सायद ती घटनामा संलग्न भएर यो देशका सम्पदा, संस्कृति र ऐतिहासिक धरोहरहरु समाप्त पारेकोमा गर्व गरिरहेका थिए तर जब उनका कार्यकर्ता धमाधम पक्राउ गरी पोल खुल्न थाल्यो ।
त्यसपछि अत्तालिए र यसै बिचमा सम्पत्ति छानविन गर्ने कुरा हुन थाल्यो । त्यसपछि आत्तिएको जस्तो गरेर काम चलाऊ सरकारलाई सराप्न सुरु भयो । ओलीका कार्यकर्ताले ओलीलाई पक्राउ गरिए हामी देखाइदिन्छौँ भने जस्तै माओवादी नेताहरुको सम्पत्ति छानविन गरिए हामी सहन्नौ, हाम्रो नेताको सम्पत्ति छानविन गरिए त्यसको प्रतिकार गर्छौ भन्दा भन्दै पार्टी नै नरहने गरी अर्को पार्टीमा विलय गराए तर जाँदा जाँदै त्यो भन्दा पनि खराब, कानुनको विरुद्धमा, पदीय दायित्वबाट च्युत भएका सरकारी जमिन किर्ते गरी बेचेको आरोपी, जसको मुद्दा सर्वोच्चमा विचाराधिन छ, उसैसँग मिल्न पुगे ।
राजनीतिक भूईचालो गएपछि, भत्किने कुरा अनौठो भएन पुराना भनिएका राजनीतिक दलको सङ्गठन लथालिङ्ग पारेर आफूले चाहेको ढाँचामा मुलुकलाई चलाउनुपर्छ भनेर लागेका कथित वैकल्पिक शक्तिहरुमा एक प्रकारको आत्मरति ह्वात्तै बढ्यो र त्यसलाई केही सेलिब्रिटी पात्रहरु, पूर्व सैनिक अधिकारीहरु र पूर्व दरबारिया लागेकै थिए ।
पुरान दलमध्ये माओवादी, रास्वपा, राप्रपा वैकल्पिक शक्ति बन्ने होडमा जेन–जी आन्दोलन हिंसात्मक बनाउनेमा सबैको स्वार्थ मिल्यो । रास्वपा रविका अदालती प्रमाण नष्ट गर्न चाहन्थ्यो, राप्रपा राष्ट्रपतिको ठाउँमा राजा ल्याउने दाउमा लाग्यो, सेलिब्रिटीहरु नतिजाप्रति बेवास्ता गरेर देखाउनतिर लागे, त्यसरी नै माओवादी संसदभित्रको एकल वैकल्पिक शक्ति बन्ने दुःस्वप्न देखेर लागे तर जो जससँग सम्बन्धित स्वार्थमा लागे पनि अन्तर्निहित राष्ट्रिय स्वार्थमाथि गम्भीर खेलवाड भयो ।
त्यसको नतिजा तिनिहरु सबै विगठनको सङ्घारमा छन् । धेरै समूह र व्यक्तिहरु पनि अब हुने सामाजिक बहिष्कारमा पर्ने डरले किंकर्तव्य विमूढ झै भएका छन् । यता देशमा निर्वाचनको घोषणा भयो । अब अहिले काम चलाऊ सरकारको कार्यभार शान्तिपूर्ण निर्वाचन गरेर निर्वाचित दललाई सत्ता साँचो हस्तान्तरण गर्ने हो । यस बाहेक वैकल्पिक बाटोबाट सरकारको लगाम हात पार्ने सम्भावना समाप्त भएको छ ।
संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रपतिको प्रयास ऐतिहासिक सावित भयो । यसबाट दुःस्वप्न पराजित भयो, त्यसपछि निर्वाचनको याम सुरु भएको छ । जसरी पनि निर्वाचन हुनैपर्छ । अब अन्य बाटो हेर्नेहरु पनि पार्टी दर्ता गर्ने होडमा दौडधुप चल्दै छ । पार्टीहरु विगठन र पुनर्गठन हुने क्रम जारी नै छ । यता सरकारले निर्वाचनको वातावरण बनाउन २४ भाद्रको घटनामा लुटपात गर्नेलाई धमाधम पक्रदैछ ।
हतियार लुटेर फरार भएका कैदी समेत बाहिर भएकोले उनीहरु हतियारसहित राज्यको नियन्त्रणमा आउनै पर्छ । कुनै दलले तिनै अपराधी र हतियार प्रयोग गरेर निर्वाचन बिथोल्ने, बूथ कब्जा गर्ने सोच हुनसक्छ । त्यो शान्ति सुरक्षाको चुनौती हो । अहिले खुलेका नयाँ दलहरुले सरकारमा पुगेर के–के गर्ने सपना देख्दै होलान् । सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर हो–हल्ला र अरुको उछित्तो काढ्न सजिलै भए पनि जनताको विश्वास जित्न कठिन हुन्छ भन्ने थाहा पाउन यो परीक्षा हो ।
देश जलाएकोमा यतिबेला हिरासतमा पुगेकाहरु क्षणिक आवेशमा नआइदिएको भए हुन्थ्यो भनेर पश्चाताप केहीलाई भविष्य अँध्यारो देखेर आलसतालस भएका होलान् तिनिहरुको दोष कति हो ? ती उमेरले पाका भए पनि अरुको उक्साहटमा आफूलाई दुष्कर्ममा हेलिदिन तयार हुनेहरुप्रति कसैको जिम्मेवारी पक्कै पनि छ । जसरी भाद्र २३ गते राज्यले दमन ग¥यो त्यसमा राज्य दोषी छ तर तिनिहरुलाई किताब पनि बिसाउन नदिई तोडफोड र आगजनी गर्न लगाउने कम दोषी छैन ।
त्यसैगरी २४ भाद्रमा सरकारी सम्पत्ति जलाउने, राज्यका हतियार लुट्ने, प्रहरी हत्या र अन्य व्यक्तिको जनधनमा गम्भीर क्षति पु¥याउने व्यक्ति पार्टीले खटाएर गएको हो भने त्यसको परिवारमा हुने क्षतिको जिम्मा पार्टीले लिनुपर्छ कि पर्दैन ? स्व इच्क्षाले लागेको व्यक्तिको जिम्मा स्वयम् हुनसक्छ । कसैको जीवन बरबाद गर्ने काम जसले गरेको भए पनि क्षमा हुन सक्दैन । कतिपयले जिम्मेवारी लिने अवस्था देखेर भाग्नु पर्ने परिस्थिति आयो कि ? पार्टी विगठनको अवस्था सामान्य कारणले आउँछ भन्न सकिन्न ।