नयाँ शिक्षकलाई प्रयोगशाला बन्दै प्रतापकोट स्कुल

खेमराज रिजाल
प्रतापकोट (तुलसीपुर), ३० कात्तिक । शुक्रवारको घमाइलो घाममा तुलसीपुर उपमहानगरपालिका–३ प्रतापकोटस्थित मावि प्रतापकोट घुमिरहेको थियो । अपराहन्न पछि पनि न्यानो घाममा करी एक सयको हाराहारीमा विद्यार्थी, केही अभिभावक, विद्यालय व्यवस्थापनका पदाधिकारी अनि विद्यालयका शिक्षक तथा पाहुना शिक्षकको सहभागितामा कथा लेखन कार्यशालाको समापन हुँदै थियो ।

गोरखा मावि तुलसीपुर नाम चलेको निजी विद्यालयले तुलसीपुर उपमहानगरपालिकाकै अति दुर्गम बस्तीमा रहेको श्री मावि प्रतापकोटसँग भगिनि सम्बन्ध स्थापित गरेको थियो, ताकी गोरखाले दुर्गमको सामुदायिक विद्यालयलाई सहयोग गर्न सकोस् र गोरखाका विद्यार्थीले पनि दुर्गम बस्तीमा रहेको सामुदायिक विद्यालयको सिकाइ अभ्यास साटासाट गर्न सकुन् भन्ने उद्देश्य ।

सायद शुक्रवार भएर होला, आधा शिक्षकको पनि उपस्थीति थिएन, सरुवा भएर हेडसर अन्तै गए । अर्का हेडसरलाई स्थानीय सरकारले पठाएको छैन । विद्यालयमा जम्मा १४ जना शिक्षक रहेको बताइन्छ । रजिष्टरको तथ्याङ्कमा एक सय ३० जना विद्यार्थीको नाम उल्लेख भए पनि हिजो आएको विद्यार्थी आज देखिँदैन, आज आएको विद्यार्थी भोलि सायद अनुपस्थित देखिन्छ । कुन विद्यार्थी यसरी कक्षा बंक गर्दो रहेछ भन्ने बुझिसक्न नपाउँदै शिक्षक सरुवा हुने रोगले प्रतापकोट ग्रसित छ ।

‘यहाँ शिक्षक टिकाउनै समस्या छ, कतिपय शिक्षकले त एक शैक्षिक सत्र पूरा नगरी सरुवा भएर गइहाल्छन्, कसरी बुझ्न सकुन् अभिभावकको समस्या र विद्यार्थीका समस्या’, गोरखा मावि तुलसीपुरले आफ्नो भगिनी संस्था प्रतापकोट स्कुलमा आयोजना गरेको तीन दिने कथा लेखन कार्यशालाको समापनमा सहभागी रहेका एकजना विद्यालय व्यवस्थापन समितिका सल्लाहकार चन्द्रबहादुर खड्काले भने ।

यहाँ टिक्ने भनेको यही कै एकजना स्थानीय सर हुनुहुन्छ, उहाँ मात्रै हो, आफ्नो अभिव्यक्तिलाई निखार्दै खड्काले भने, सरुवा भएर आउन नपाउँदै जाने कसरी होला भन्ने मनोदशा बोकेर यहाँ शिक्षक आउने गरेका छन् । मानौ पछिल्लो दशकदेखि तुलसीपुर उपमहानगरपालिकाको अति विकट क्षेत्र प्रतापकोटमा रहेको श्री माध्यमिक विद्यालय नयाँ शिक्षकको प्रयोगशाला जस्तै बनेको छ । त्यसैले स्कुले विद्यार्थीको शैक्षिक गुणस्तर माथि उकास्न मुस्किल देखिन्छ ।

कार्यशाला गोष्ठिमा प्रशिक्षकका रूपमा तीन दिन बिताए विजयराज आचार्यले । उनी बाल कथाकार पनि हुन् । उनले बालकथा संग्रह मात्रै प्रकाशित गरेका छैनन्, यसरी नै विद्यार्थीलाई कथा लेखन तालिम दिँदै मुलुकका ६७ जिल्ला घुमिसकेका छन् । समापन कार्यक्रममा उनी प्रतापकोटको मनोदशा प्रति पोखिए । कति सुन्दर अक्षर लेख्ने विद्यार्थीले समेत प्याराग्राफ छुट्याउने हैसियत राख्दैनन् । भद्रगोल छ । ‘स्कुलमा केटाकेटी पढ्दैनन् भन्ने भाष्य मात्र देखाउन खोजिएको जस्तो अनुभूति हुन्छ, प्रतापकोटमा, तर विद्यार्थीमा क्षमता नभएको होइन नि’, प्रशिक्षक आचार्य भन्छन् ।

यहाँ त एक शैक्षिक सत्र पनि शिक्षक नटिक्ने उनले तीन दिनमै अनुभव बटुले । अर्थात रिस उठेपछि वा विचार नमिलेपछि सजाय दिन पठाउने ठाउँ जस्तै रहेछ प्रतापकोट, आचार्यको बुझाइमा । उनले तीन दिनकै बिचमा भोगे, एकजना शिक्षक त एक शैक्षिक सत्र पूरा नगर्दै सरुवा भएर गइसक्नु भो । दाताको सहयोगले स्थापना गरिएको पुस्तकालय पनि उनले तीन दिनको बिचमा नियाले ।

‘यो पुस्तकालयमा त विभिन्न संस्थाको दश लाख रूपैयाँ सम्मको पुस्तक सहयोग रहेछ, तर जुन पुस्तक पुस्तकालयमा राखिएका छन्, यी भाइबहिनिलाई म्याच गर्ने खालका हुँदै होइनन्’, आचार्यले भने ।छेउमै बसेर आचार्यको कुरा सुनिरहेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले पनि शिक्षक नटिक्ने अवस्थालाई स्वीकार गरे ।

‘अपवाद बाहेक एक शैक्षिक सत्र पूरा नगरी त शिक्षक सरुवा गर्दैनौँ, तर एक वर्ष पूरा गरेपछि चक्रिय प्रणालीमा यहाँ शिक्षकको खटनपाटन हुन्छ’, शिक्षा प्रमुख भण्डारीले भने । तुलसीपुर उपमहानगरपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा राख्दै आए पनि प्रतापकोट नितान्त दुर्गम क्षेत्रमा पर्ने विद्यालय भएकाले यहाँ शिक्षक नै आउन नमान्ने गरेको उनले सुनाए । त्यही भएर नयाँ आउने शिक्षकलाई कम्तिमा एक वर्ष प्रतापकोटमा पढाएर मात्र अन्त व्यवस्थापन गर्ने गरिएको पनि उनले बताए ।

मावि भएको यति धेरै वर्षसम्म पनि मावि शिक्षकको एउटा पनि दरबन्दी थिएन । ‘धेरै जोडबल गरेर यो वर्षदेखि यहाँ एकजना मावि शिक्षकको दरबन्दी कायम गराउन सफल भएका छौँ, उहाँ चाडै हाजिर हुनुहुने छ’, भण्डारीले भने । कथा लेखन कार्यशाला विद्यालयको मनोसामाजिक अवस्थातर्फ मोडियो । प्रतापकोट खासमा तुलसीपुर बजारबाट १२ किमी मात्र टाढाको दुरीमा छ तर सडक सहज नभएको र नियमित यातायात सेवा नचल्ने भएकाले शिक्षकलाई प्रतापकोट आउजाउमा समस्या देखिन्छ ।

अब यहाँको सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना गाडि चल्ने बनाउनु पर्ने पनि स्थानीयको माग छ । दुर्गम बस्तीको स्कुलका विद्यार्थी पनि सुगमकाभन्दा कम क्षमताका देखिएनन् । तीन दिने कथा लेखन कार्यशालामा चार दर्जन बालिका जोडिएका थिए । कार्यशालाको समापनका अवसरमा कथा लेखन कार्यशालाको भोगाइका विषयमा रेखा थापाले यति मिठो भाषामा आफ्ना व्यथा व्यक्त गरिन् कि उनको मन्तव्य नै एउटा कथा थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणि बाठाको अध्यक्षतामा भएको समापन कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सुशील गिरी, गोरखा ग्रुपका एकेडेमिक डिरेक्टर दुर्गा केसीलगायतले बोल्न भ्याए भने एलिसा खाड्का, सन्जीता ठाडा, अनुजा आले, कृष्टि गुरुङ, मनिसा आले, अनुस्का वलीलगायतले आ–आफ्ना भोगाइलाई कथाको माध्यमबाट प्रस्तुत गरे । कार्यक्रमको सहजीकरण पनि विद्यार्थीद्धय विजय वली र सविना गुरुङले गरेका थिए । विद्यार्थीले फर्कने बेला भनेका थिए, सर शिक्षक फेरिइ राख्ने नबनाइदिनु होला ।