टेकबहादुर पुन
लमही, २९ कात्तिक । लमही नगरपालिका–८ सतबरियास्थित साना किसान कृषि सहकारी संस्थाले आफ्नो २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष तेजमणी ज्ञवालीको अध्यक्षता तथा नेपाल केन्द्रीय कृषि सहकारी संघ लिमिटेडका लेखा समितिका सदस्य चिरञ्जीवी केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, उत्कृष्ट किसान गरी दुईदर्जन बढी किसान सम्मान गरिएको थियो । साधारणसभामा लमही–७ बाट देविराम चौधरी, रामपति चौधरी, जितबहादुर बुढा मगर, सन्तरामी चौधरी र धनेश्वर चौधरी, लमही–८ बाट पार्वती बैजाली, हरिनारायण चौधरी, गर्भु चौधरी, रामकुमारी चौधरी तथा लमही–९ बाट मनप्यारी घर्तीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी एकल महिला सम्मानअन्तर्गत लमही–७ बाट हिरादेवी बोहरा, लक्ष्मीदेवी श्रेष्ठ, हरिकला बुढा, लक्ष्मी थापा, मिनाकुमारी डिसी, लमही–८ बाट थुन्ची चौधरी, सुगनिया चौधरी र लमही–९ बाट अमृता शर्मा तथा तोली कँवरलाई सम्मान गरिएको थियो । त्यस्तै कृषिमा उत्कृष्ट कार्य गर्दै आएका सदस्यलाई सम्मान गरिएको थियो । जसअन्तर्गत खेतीपातीतर्फ दुखराम चौधरी, बाख्रा पालनतर्फ दीलकुमारी चौधरी, भैँसी पालनतर्फ सिउरानी चौधरी सम्मानित भएका हुन् । पिछडिएको वर्गका शेयर सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले लक्ष्मीकुमारी कुमाल, शान्ता कुमाल, सुनिता कुमाल, सीता कुमाल, पातली कुमाल र सरिता कुमाललाई सम्मान गरिएको थियो ।
सभामा नौ करोड आठ लाख ६३ हजार एक सय १५ रूपैयाँ बराबरको वार्षिक लेखा प्रतिवेदन लेखा समिति संयोजक कमला चौधरीले प्रस्तुत गरेकी थिइन् । संस्थाका अध्यक्ष ज्ञावलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्य विस्तार, कृषक प्रवद्र्धन कार्यक्रम, कृषि उपजको उत्पादन वृद्धिमा संस्थाले खेलेका भूमिका, विपन्न सदस्यका लागि सञ्चालित राहत तथा सहयोग कार्यक्रम, समूहगत गतिविधिको विस्तारलगायतका विषयबारे जानकारी गराए ।
संस्थाका उपाध्यक्ष पवित्रा पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले सहकारीलाई दिगो बनाउने मार्ग, पारदर्शिता र आर्थिक सुचिताको महत्व, आधुनिक कृषि तथा सहकारी बिचको सम्बन्धबारे महत्वपूर्ण हुने बताए । कार्यक्रममा संस्थाकी प्रवन्धक अमृताकुमारी थापाले सहकारी सञ्चालन, सेवा प्रवाह र व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी दिँदै सहकारी आधुनिकीकरणमा जोड दिनु पर्ने बताइन् । उनले विगत वर्षमा गरेको प्रगति र आगामी वर्षका चुनौतीबारे उल्लेख गरेकी थिइन् । संस्थाले आफ्नो लमही–७, ८ र ९ नं। वडामा रहेको छ । कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी शीतल ग्वालले गरेका थिए ।