विद्यालयमा अक्ष्यकोष स्थापना

घोराही,२९ कात्तिक । घोराही उपमहानगरपालिका–७ पर्सा निवासी डिसी परिवारले तिम्रो बुबा स्वर्गीय दुवानन्द डिसीको स्मृतिमा शनिवार अक्षयकोष स्थापना गरेका छन्।

परिवारले बुबाको सम्झनामा रोल्पा, रुन्टीगडी गाउँपालिका–लाखेधारा स्थित श्री चेतनशील प्राथमिक विद्यालयमा कोष स्थापना गरेको हो। आमा टंकी डिसी, दाजुभाइ तथा भाउजु लेखराज डिसी, अमृता डिसी र सुरेश डिसी र निमा डिसीले अक्ष्यकोष स्थापना गरेका हुन । उक्त अक्षयकोषको राशी ५० हजार रुपैयाँ रहेको छ ।

उक्त अक्ष्यकोषबाट विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष यही कोषबाट छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर कामीको अध्यक्षता र तिम्रो परिवारका प्रतिनिधि लेखराज डिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले स्व दुवानन्द डिसीले २०६६ सालमा स्थापना गरेको विद्यालयमै अक्षयकोष स्थापना हुनु प्रशंसनीय रहेको बताए।

कार्यक्रममा हिन्दू विद्यापीठ–नेपालका प्राचार्य पिताम्बर रिजाल, धौलाबाङ माविका प्रधानाध्यापक चेतलाल डिसी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव ज्ञवाली, सूर्यबहादुर वली, गिरिराज घर्तीलगायतले मन्तव्य राखे। कार्यक्रम विद्यालयका प्रधानाध्यापक मोहन केसीले सञ्चालन गरेका थिए।