गोरक्ष समाचारदाता
घोराही,२९ कात्तिक । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना भएको आठ वर्षपछि पहिलोपटक संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वे सुरु गरिएको छ ।
संस्थाको समग्र संरचना तथा आवश्यक जनशक्तिको दरबन्दी एकिन गर्न ओ एन्ड एम सर्वे गर्न सुरु गरिएको हो । प्रतिष्ठानमा हाल सञ्चालन रहेको तीन सय शैयाको अस्पताल र चालु आर्थिक वर्षदेखि निर्माण हुन थालेको चार सय शैयासहित अस्पतालका लागि भविष्यमा आवश्यक पर्ने जनशक्ति निर्धारणका लागि सर्वे सुरु गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिएका छन् । यसले जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
उनका अनुसार शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित काउन्सिल र चिकित्सा शिक्षा आयोगका मापदण्डलाई पनि आधार मानेर सर्वे गरिने छ । रजिस्ट्रार प्रा. लम्सालले भने,‘‘प्रतिष्ठानलाई व्यवस्थित बनाउँदै छिटो छरितो रूपमा नागरिकलाई सेवा दिनेगरि अघि बढाउनका लागि ओ एन्ड एम सर्वे गर्न थालिएको छ ।” सर्वेको नेतृत्व नेपाल सरकारका पूर्व सचिव गोपी मैनालीले गरेका छन् ।