खाना पकाउने ग्यासको खपतमा भारी कमी

अमरराज आचार्य
दाङ, २८ बैशाख । घोराही–१५ काठेकोलमा रहेको विशाल होटेलमा महिनामा ८ वटासम्म खाना पकाउने ग्यासका सिडिण्डर रित्तिन्थे । चिया, चाउमिन, मसोसा, पकौडाजस्ता परिकार बनाउन र घरका लागि खाना पकाउँदै गर्दा ८ वटा सिलिण्डर खपत गर्ने सो होटेलमा लकडाउनको अवधिभर एउटा ग्यास मात्र सकिएको छ । ‘ग्यास खपत मात्र हैन, हाम्रो व्यापार कस्तो छ भन्ने पनि यो कुराले देखाउँछ’, होटेलका सञ्चालक खेमराज भट्टराईले भने । विशाल होटेल मात्रै हैन, दाङका सबै होटेलहरुमा ग्यासको खपत अबस्था यस्तै छ ।

होटेलहरुको व्यापारका कारण मात्र हैन, अन्य धेरै कारणले ग्यासको खपत ह्वात्तै घटेको छ । ‘६० प्रतिशत जति घटेको हाम्रो अनुमान छ’, व्यवसायीहरु बताउँछन् । लकडाउनको कारण ग्यासको खपत कम भएको दाङ देउखुरी ग्यास बिक्रेता संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

लकडाउनको कारण सम्पूर्ण होटेलहरु बन्द रहेको, उद्योग कलकारखाना, कार्यालय, तथा संघ संस्थाहरु सबै बन्द भएका कारण खपत घटेको उनको भनाइ रहेको छ । ‘धेरै ग्यास खपत हुने भनेको होटेल हो होटेलहरु सबै भन्द रहेका छन्’, अध्यक्ष श्रेष्ठले भने । अहिले घरहरुमा मात्र ग्यास लैजाने गरेको व्यवसायीहरुको भनाइ रहेको छ । शहरी क्षेत्रमा धेरै ग्यास खपत हुने भए पनि अहिले शहरमा अध्ययन तथा जागिरका लागि आएका मानिसहरु पनि गाउँमा गएकाले पनि बिक्री कम भएको अध्यक्ष श्रेष्ठले बताए । गाडी सञ्चालन नहँुदा सबै गाउँसम्म ग्यास पुग्न नसकेको पनि उनले बताए । जिल्लामा मासिक करिब ६० हजार सिलिण्डर बिक्री हुने गरेको थियो भने हाल आएर करिब २५ हजार सिलिण्डर बिक्री हुने उनको भनाइ रहेको छ ।

घोराही क्षेत्रमा मात्र मासिक २० हजार सिलिण्डर खपत हुने गरेकोमा अहिले करिब ८ देखि ९ हजारसम्म बिक्री हुने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । व्यापार घटेसँगै कसरी कर्मचारीलाई तलब दिने ? बैकको व्याज कसरी तिर्ने ? घरभाडा कसरी तिर्ने भन्ने चिन्तामा व्यवसायीहरु रहेको संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । व्यापार कमी भए पनि ग्यास आपूर्तिमा भने समस्या नभएको उनको भनाइ छ ।

उता, तुलसीपुर क्षेत्रमा पनि ग्यास खपत घटेको व्यवसायीहरुले बताएका छन् । तुलसीपुर क्षेत्रमा मासिक करिब ६० हजार सिलिण्डर खपत हुने गरेकोमा अहिले करिब २५ हजार सिलिण्डर मात्र बिक्री हुने गरेको तुलसीपुर उद्योग वाणिज्य संघअन्र्तगत रहेको तुलसीपुर ग्यास उपसमितिका अध्यक्ष सचिन पौडेलले बताए । ‘अहिले ग्यासको खपत करिब ६० प्रतिशतले घटेको छ’, अध्यक्ष पौडेलले भने । लकडाउनका कारण सम्पूर्ण होटेल तथा उद्योगहरु बन्द रहेका कारण ग्यास खपतमा कमी आएको उनको भनाइ रहेको छ । होटेल तथा उद्योगको अनुपातमा उपभोक्ताहरुले कम मात्रामा प्रयोग गर्ने गरेको व्यवसायीहरुको भनाइ रहेको छ । खपत कम भएसँगै व्यवसायीहरुको व्यापारसमेत घटेको पौडेल बताउँछन् । कतिपय होटेलहरुले हप्तामा ८ देखि १० वटासम्म सिलिण्डर खपत गर्ने गरेको उनी बताउँछन् ।