जीवन किनेर पाइँदैन

एकराज शर्मा अधिकारी

जीवनमा आनन्द लिनुपर्छ । आनन्द लिन ज्ञान चाहिन्छ । ज्ञान प्राप्त गर्न चित्त शान्त हुनुपर्छ । ज्ञान भनेको शब्दात्मक ज्ञान होइन । अनुभवात्मक ज्ञान हो । (ज्ञानंभारक्रियांबिना) अनुभव नभएको ज्ञान भार हो । भौतिक ज्ञान मानिसले पाएका छन् । अहिलेको समयमा आध्यात्मिक ज्ञानको खाँचो छ ।

आध्यात्मिक ज्ञानले मानव जीवनलाई कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउँछ । आध्यात्मिक ज्ञानले जीवनको गहिराईसम्म पुगेर जडसुत्रवादी सिद्धान्तलाई हटाउँछ । मानिसलाई स्वतन्त्र भई बाँच्न सिकाउँछ । विश्वसँग सम्बन्ध राख्न सिकाउँछ । विचारलाई फराकिलो पार्छ । भित्रि शान्ति दिन्छ । भौतिक ज्ञानले बाहिरी शान्ति मिल्छ तर स्थायी हुँदैन ।

क्षणभंगुर हुन्छ । हामी नांगै आएका हौँ । नांगै जानुपर्छ यो सबैलाई थाहा छ । हामीले जीवनको उद्देश्यलाई पूरा गर्न सकेका छैनौँ । आफूले आफैलाई ठगेका छौँ । विषयको आनन्दमा भुलेका छौँ । धनले सबथोक पाइन्छ, आनन्द पाइँदैन । घमण्ड र अहंकारलाई त्याग नगर्दासम्म आनन्द पाइँदैन । नकारात्मक सोचबाट आनन्द पाइँदैन । प्रतिविम्बबाट स्वरुपको ज्ञान हुँदैन । हामीले जीवनभर संघर्ष गरिरहेका छौँ । धन कमाइरहेका छौँ तर दुखी छौँ किन ? हामी संसारलाई अंगालो हालेका छौँ ।

बुद्ध ज्ञानी थिए, उनी संसारलाई त्याग गरेका थिए । जीवन किनेर पाइँदैन भन्ने बुझेका थिए । हामी जति धन कमाए पनि मर्दा लैजान सक्दैनौँ । तैपनि बाच्दासम्म धन कमाउने योजना बनाउँछौँ । सधै बाँच्ने हो भन्ने ठान्छौँ । मृत्यु अवस्यम भावी हो भन्ने स्वीकार्दैनौँ । जीवन रुखबाट झरेको पहेलो पात जस्तो हो । कुन बेला झर्छ थाहा छैन ।

अस्मभावितालाई स्वीकार्नु पर्छ, कुन बेला के हुन्छ थाहा छैन । ढिलो चाडो हामी सबै मर्छौँ । वृद्धभन्दा युवा बाच्छन् भन्ने कुरा पनि सोच्नु हुँदैन । अचानक मर्न सक्छन् । रोगले, दुर्घटनाले मानसिक र शारीरिक गडबढीले पनि मर्न सक्छन् । वृद्ध भएपछि जीवन क्षण हुँदै जान्छ । यौवन अवस्थामा त हामी जहाँ पनि जान सक्छौँ । अन्त्यमा हामी असहाय हुन्छौँ । हेलाको पात्र बन्छौँ ।

मृत्युले हामीलाई एकछिन पनि पर्खँदैन । भोलिसम्म बाँच्छु भन्ने केही ग्यारेन्टी छैन । त्यसैले आफ्ना भावनाहरु रोक्नु हुँदैन । आफूसँग भएको प्रेम अहिले नै बाड्नु पर्छ । सबैकुरा अनित्य छन् भन्ने कुरा बुझ्नु पर्छ । आफूसँग भएको ज्ञान अहिले नै बाड्नु पर्छ । जीवन त बिजुली जस्तो हो, देखिन्छ, हराउँछ । जीवन त हावामा रहेको बत्ती जस्तो हो ।

शीतको थोपा जस्तो हो । सूर्य उदय भए हराइहाल्छ । हाम्रो जीवन अनित्य छ । हाम्रो अगाडि कति मानिस मरे । तिनीहरुलाई आज बिर्सदै गयाँैँ । त्यस्तै हामीलाई पनि भोलि बिर्सँदै जानेछन् । यही कुरा विचार गरेर हामी निराश हुने होइन । यो जीवनमा पाएको सुनौला अवसरलाई उपयोग गर्नुपर्छ, सदुपयोग गर्नुपर्छ ।

सदुपयोग गर्नसके हाम्रो मृत्यु सुखमय हुनेछ । यो जीवनको छोटो बसाईमा शान्तिपूर्वक आनन्दको अनुभव गर्नुपर्छ । मानिसले आफ्नो अस्तित्व कायम गर्न हजारौँ मानिसको हत्या गरेको छ । हतियार बनाएका छन् । यसले मानिसको अस्तित्व रहँदैन । यो ज्यादै निन्दनीय काम हो । हामी हाम्रो जीवनमा धेरै घटना देखेका छौँ । ती सबै सपना बराबर हुन् । प्रतिविम्ब बराबर हुन् ।

जीवन अस्थायी छ, बालुवाको घर जस्तो छ । सुख कहाँ छ ? तेरो मेरोमा दुःख छ, तेरो मेरो नभए दुःख छँदै छैन । हामी विषयमा लठ्ठ छौँ । मौरी फूलको रसमा लठ्ठै भए झै । काम, क्रोध, लोभ, मोह हाम्रो शत्रु हुन् । अरु हाम्रा शत्रु कोही छैनन् । संसार बन्धन हो । संसारमा फसे निस्कन कठिन हुन्छ । जब निस्कन कठिन हुन्छ तब अध्यात्मक बाटो खोज्छौँ ।

भविष्यको आशा गर्छौँ । आफूसँग जे छ त्यसैमा खुसी हुनसक्नु पर्छ । पढेर मात्र मान्छे सुखी हुँदैन, व्यवहारमा उतार्नु पर्छ । सधै आफूलाई व्यस्त बनाइराख्नु पर्छ, सकारात्मक सोच राख्नुपर्छ, आफ्नो गल्ती स्वीकार्नु पर्छ । बुद्धले आफ्नो गल्तीलाई स्वीकारे ।

संसारिक दुःखलाई आफ्नै आँखाले देखे र यो आनन्दले मलाई दुःख दिन्छ भनेर सोचे । संसारिक सुखलाई पनि देखे, बुढोलाई पनि देखे, रोगीलाई पनि देखे, मृत्युलाई पनि देखेर आफैले आफैलाई सोधे– जीवनको उद्देश्य के हो ? यसरी एकदिन चित्त शान्त गराएर बसे । अनि ज्ञानको उदय भयो र जीवनको लक्ष्य भनेको मानव कल्याण गर्नु रहेछ ।

अनुशासनमा रहनु रहेछ भन्ने जानेर सत्यको खोजीमा हिँडे । आध्यात्मिक विचारमा लागे । विचारबाट विवेक पैदा हुन्छ, विवेकबाट आफ्नो गल्ती आफै देख्न सकिन्छ । अभिमानलाई बलियो बनाउनु हुँदैन । प्रेम र दया सबैलाई पुग्छ । सहानुभूति सबैलाई दिन सक्छौँ । सबैसँग मैत्रिकपूर्ण व्यवहार गर्न सक्छौँ तर हामीले आफ्नो मन परेकोलाई मात्र प्रेम गर्छौँ । अरुसँग शत्रुता गर्छौँ । जब हाम्रो दृष्टिकोण फराकिलो हुन्छ ।

तब सबैलाई एउटै नजरले देख्न सक्छौँ । दरबारको सुखमा अडेको भए के सिद्धार्थ बुद्ध बन्न सक्थे । स्वार्थमा अडेको प्रेम स्थायी हुँदैन । स्वच्छ मस्तिष्कले स्वच्छ संसार खडा गर्छ । त्यसैले स्वच्छ आहारविहार र व्यवहार गर्नुपर्छ । हामीले रुपभन्दा आत्मालाई हेर्नुपर्छ । लुकेको गहना हो प्रेम । जीवन बगेको पानी जस्तो हो । बगिरहेको छ, बगिरहेको छ । उस्तै देखिन्छ तर फरक देखिन्छ ।

त्यस्तै हाम्रो जीवन पनि क्षण–क्षणमा फरक हुन्छ । हामीले सोचेर, विचार गरेर पाइला चाल्नुपर्छ । यदि आफ्नो बोली अर्थपूर्ण छैन कसैले रुचाउँदैन भने चुप लागेर शान्त भएर बस्नु पर्छ तर हामी शान्त भएर एकछिन बस्न सक्दैनौँ । आफ्नो आधारभूत आवश्यकता पूरा गर्न, पेट पाल्न काम गर्छौँ । कहिले थाग्दैनौँ । जति हामी ठुलो हुँदै जान्छौँ, त्यति हामी बिग्रदै जान्छौँ । आफूलाई बिर्सन्छौँ ।

आमाको गर्भमा रहँदा आफूलाई बिर्सेका थिएनौँ । ठुलो भएपछि इच्छा र आकांक्षा बढाउँदै गयौँ । जीवनको महत्वलाई बिर्सँदै गयौँ । जति हामीले भौतिक सम्पत्ति जम्मा गर्छौँ । त्यति हामी आध्यात्मिक रुपमा गरिब हुन्छौँ । खाएर, लाएर बचेको सम्पत्ति हाम्रो होइन । समाजको हो भन्ने सम्झेर समाजको सेवा लगाउनुपर्छ । भौतिकवादीहरु जति उपकरणहरु आविष्कार गरेका छन् । ती सबै विनाशकारी छन् ।

बिना विवेक प्रयोग गरे भने सबैको जीवन नष्ट हुन्छ । भौतिकवादीलाई पनि आध्यात्मिक ज्ञानको आवश्यकता छ । लोकको कल्याणको लागि प्रयोग गरे भने जीवन समृद्धि हुन्छ । आनन्द नै जीवन हो, दुःख नै मृत्यु हो । सधै आफूलाई बचाइराख्न खोज्नु जीवनको खोजी हो । सबै मानिस जीवन उपयोग गरेर नै बाचिरहेका छन् । आनन्द भएन भने मानिसले प्राण त्याग्न सक्छ ।

हिजो पनि मानिसले आनन्द कै खोजी गरेका थिए । आज पनि आनन्द कै खोजी गरिरहेका छौँ । भोलि पनि आनन्द कै खोजी गरिरहने छौँ । मानिसले सम्पत्ति खोजेको छैन । जित हार खोजेको छैन, ज्ञान विज्ञान खोजेको छैन, जीवन खोजेको छ । भगवान् त आफूभित्र छ, पाउन गाह्रो छैन तर मानव जीवन पाउन कठिन छ ।

अज्ञानी मानिसले जीवनको मूल्य तोक्छन् । जीवन समाप्त पार्छन् । जीवन सबैभन्दा प्रिय वस्तु हो । सबै पाइन्छ, जीवन किनेर पाइँदैन । जीवनमा आनन्द छ, जीवन बचाइराख्नु पर्छ । मानिसले जीवनको महत्व बुझेको जस्तो देखिँदैन । हत्या र हिंसा बढ्दै छ । अब गम्भीर भएर सोच्ने बेला आएको छ । किनेर पनि नपाइने जीवन रक्षाको लागि के गर्न आवश्यक छ, सबैले सोचेर विश्वमा शान्ति स्थापना गर्न आवश्यक छ ।