तुफानबाबु श्रेष्ठ
अमेरिकाको इतिहासमा अब्राहम लिङ्कनको जस्तो नाम अरूको बिरलै सुनिन्छ । जसले विपन्नता, संघर्ष र आत्मबलको माध्यमबाट विश्वकै महान नेतृत्वको उदाहरण प्रस्तुत गरे । उनी केवल अमेरिकाका राष्ट्रपतिमात्र होइनन्, मानवताको सम्मानका प्रतीक पनि हुन् । उनको जीवनले देखाउँछ– पुरुषार्थ नै सफलता प्राप्तिको मूल शर्त हो ।
लिङ्कनको जन्म सन् १८०९ मा केन्टकीको एउटा सानो काठे घरमा भयो । उनी गरीब किसान परिवारका सन्तान थिए । बाल्यकाल अत्यन्त कठिन र संघर्षपूर्ण रह्यो । घरमा बत्ति बाल्ने दियो पनि अभावमा हुन्थ्यो । स्कुल टाढा थियो, पैसा थिएन । तर, ज्ञानप्रतिको प्यास असाधारण थियो । जब अरू बालबालिका खेल्थे, उनी घरको काम सकेर पुरानो किताबको पाना पल्टाउँथे ।
पढाइका लागि पुस्तकालय पुग्न उनले हिँड्ने बाटो दस माइल लामो थियो । हिउँ र वर्षाको मौसममा पनि उनी निरन्तर यात्रामा निस्कन्थे, पुस्तक ल्याउँथे, रातभरी दाउरा बालेर पढ्थे र समयमै फिर्ता गर्थे । यही निरन्तरता, लगन र आत्मविश्वास नै उनको जीवनको आधार बन्यो ।
औपचारिक शिक्षा नपाए पनि लिङ्कनले आफूलाई आत्म अध्ययनमार्फत् शिक्षित बनाए । उनले विधिको अध्ययन गरे र अन्ततः वकिल बने । सुरुमा उनलाई कसैले विश्वास गरेन । उनी फाटिएका कपडामा अदालत पुग्थे । उनको साथी स्ट्यान्टनले त व्यङ्ग्य गर्दै भनेको थियो– ‘तँ वकिल होइन, गाउँको ठिटो देखिन्छस् । यस्तो हालतमा कसरी वकालत गर्ने ?’
लिङ्कनले मुस्कुराउँदै उत्तर दिन्थे– ‘म कपडामा होइन, सत्यमा विश्वास गर्छु । झूटा मुद्दा म कहिल्यै लिँदिन ।’ उनको सत्यनिष्ठा र न्यायप्रतिको प्रतिबद्धताले केही वर्षमै उनलाई सम्मान दिलायो । मानिस उनलाई ‘इमानदार लिङ्कन’ भनेर सम्बोधन गर्न थाले । लिङ्कनको जीवनको केन्द्र सत्य र न्याय थियो । उनले कहिल्यै असत्य बोल्दैनथे, न त लोभमा निर्णय गर्थे ।
कुनै गरीब किसानको सानो मुद्दा भए पनि उनी समान लगनसहित प्रस्तुत हुन्थे । जब कसैले उनलाई ठुला शुल्क दिने लोभ देखायो भने उनले भन्थे– ‘म कुनै निर्दोषलाई दोषी देखाउन सक्दिनँ । न्याय किनबेचको वस्तु होइन ।’ यिनै गुणले पछि उनलाई राजनीतिमा प्रवेश गरायो । राष्ट्रपति भए पनि लिङ्कन अहंकाररहित थिए ।
एकपटक एउटा साधारण वृद्ध महिला आफ्नो छोरा युद्धमा गुमाएको पीडा सुनाउन आइन् । उनले आँसु झार्दै भनिन्– ‘मेरो छोरा तपाईको देशका लागि मरेको हो ।’ लिङ्कनले उठेर ती वृद्ध आमाको हात समाते र आँखामा आँसु लिएर भने– ‘म तपाईको पीडामा सहभागी छु ।
ऊ तपाईको छोरा मात्र होइन, देशको छोरा थियो । यस्तो सहानुभूति र करुणा नै उनको असल नेतृत्वको पहिचान थियो । लिङ्कनको विचारमा शिक्षा कुनै प्रमाणपत्र होइन, चरित्रको विकास हो । उनले भन्थे– ‘यदि म केही हुन सकेँ भने, त्यो मेरो पुस्तकप्रेम र श्रमको कारण हो ।’ उनले युवालाई सन्देश दिन्थे– ‘कठिनाइलाई शत्रु होइन, शिक्षक ठान । तिनैले तिम्रो सामथ्र्य उजागर गर्छन् ।’
आज पनि यो सन्देश सान्दर्भिक छ । जसले कठिनाइलाई आत्मबलको अवसरका रूपमा लिन्छ, उसैले सफलताको शिखर छुन्छ । लिङ्कनको जीवन अन्त्य एक षड्यन्त्रकारीको गोलीले भयो तर उनको विचार कहिल्यै मरेन । उनले विश्वलाई सत्य, करुणा र पुरुषार्थको शक्ति देखाए । उनले प्रमाणित गरे– गरीबी, अभाव र अपमान पनि उसैका लागि सीढी हुन्, जो हार मान्दैन ।
अब्राहम लिङ्कनको सम्पूर्ण जीवन एक प्रेरणादायी ग्रन्थ हो । उनले हामीलाई सिकाएका छन्– परिस्थितिले होइन, सोचले मानिसलाई महान बनाउँछ । श्रम र सत्यनिष्ठा कहिल्यै व्यर्थ जान्दैन । सफलता भाग्यले होइन, पुरुषार्थले तय गर्छ । त्यसैले, पुरुषार्थ नै सफलता प्राप्तिको अपरिहार्य शर्त हो । लिङ्कनले यो सत्य आफ्नै जीवनको उदाहरणबाट प्रमाणित गरे कि यदि मानिसमा अटुट श्रम, सत्यप्रेम र अटल विश्वास हुन्छ भने एक गरिब काठ काट्ने केटा पनि विश्वकै महान राष्ट्रपति बन्न सक्छ ।