विश्व मधुमेह दिवसमा अन्तरक्रिया, रोगबाट बच्न नागरिकमा सचेतना आवश्यक

गोरक्ष समाचारदाता
दाङ, २९ कात्तिक । घोराहीमा विश्व मधुमेह दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिएस डाइगोनोस्टिक एण्ड पोलिक्लिनिक प्रालीको आयोजनामा तथा लायन्स क्लब अफ घोराही अम्बकेश्वरी, नेपाल मधुमेह समाज दाङ र लियो क्लब अफ घोराही अम्बिकेश्वरीको सहकार्यमा दिवस मनाइएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाले मधुमेह नियन्त्रण, रोकथाम र जीवनशैली सुधारबारे धारणा राखेका थिए । बिएस डायग्नोस्टिकमा कार्यरत डाक्टर प्रकाश सुवेदीले मधुमेह रोगबारे जानकारी गराउँदै समयमै परीक्षण र सचेतना नै यसको मुख्य उपचार भएको बताए ।

बिएस डायग्नोस्टिकले समुदायमा स्वास्थ्य जानकारी पु¥याउन निरन्तर सक्रिय रहेको उनले बताए । घोराही उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जनस्वास्थ्य शाखाले प्राथमिक उपचारदेखि जनचेतना कार्यक्रमसम्म सबैमा मधुमेहलाई प्राथमिकतामा राख्दै आएको बताइन् । स्थानीय निकायको सहयोगबिना मधुमेह नियन्त्रण सम्भव नरहेको बताइन् ।

नेपाल मधुमेह समाज दाङ उपशाखा तुलसीपुरका अध्यक्ष विष्णु शर्माले दाङमा मधुमेह सङ्क्रमणको सङ्ख्या बढ्दै गएकाले समुदायमै पुगेर जनसहभागितासहित सचेतना अभियान चलाउनुपर्ने बताए । योग गुरु प्रेम शाहले मधुमेह नियन्त्रणमा योग अत्यन्त प्रभावकारी उपाय भएको बताए ।

रेडियो मध्येपश्चिम सञ्चालक समितिका अध्यक्ष मधुसूदन वैद्यले सञ्चार माध्यमले मधुमेहबारे सही जानकारी फैलाउनु पर्ने बताए । लायन्स क्लब अफ राप्ती इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष डाक्टर भीमसेन गिरीले मधुमेहले समाजका धेरैलाई असर गरिरहेको बताए । लायन्स क्लब अफ अम्बकेश्वरीका संस्थापक अध्यक्ष लव अधिकारीले लायन्स क्लब सामाजिक स्वास्थ्यका मुद्दामा सदैव अग्रसर रहँदै आएको बताए ।

मधुमेह समाज दाङका सागर बस्नेतले मधुमेह रोकथामका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र सामाजिक जागरण आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण पोलिक्लिनिकका सञ्चालक शिशिर सुवेदीले गरेका थिए ।