लुम्बिनीको अधिवेसन आह्वान

गोरक्ष समाचारदाता
दाङ, २९ कात्तिक । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधान अनुसार अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मङ्सिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुने गरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव धु्रवकुमार कुवँरले जानकारी दिए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेश सभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । यसैगरी दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् ।