‘सहकारीलाई उत्पादनमा जोडौँ’

गोरक्ष समाचारदाता
दाङ, २९ कात्तिक । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रेबा अधिकारीको अध्यक्षता तथा संस्थाका ज्येष्ठ सदस्य हिमादेवी पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले सहकारी संस्थाहरू उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । सहकारीलाई उत्पादनसँग जोड्न सके सदस्यहरू आयआर्जन गरेर आर्थिक रूपमा बलियो हुनसक्ने सहभागीले बताए । उनीहरूले सहकारी संस्थाको भावना अनुसार काम गर्न नसक्दा समस्या भएको बताएका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गर्दै संस्थाका अध्यक्ष रेवा अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ भन्दा आर्थिक वर्ष ०८२÷०८३ मा बचत रकम १५ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनले आर्थिक वर्ष ०८१÷०८२ मा सेयु पुँजी ७५ हजार आठ सय वृद्धि भएर ८२ लाख २७ हजार आठ सय पुगेको बताइन् । आर्थिक वर्ष ०८१÷०८२ मा छ करोड ४८ लाख ४५ हजार ८५ रुपैयाँ बचत सङ्कलन भएको छ । आर्थिक ०८०÷०८१ म पाँच करोड ६३ लाख छ हजार सात सय १६ रुपैयाँ रहेको थियो । कर्जा वितरणतर्फ संस्थाले आर्थिक वर्ष ०८१÷०८२ मा पाँच करोड १४ लाख ३८ हजार नौ सय २६ रुपैयाँ लगानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा चार करोड ९४ लाख ८९ हजार तीन सय २८ रुपैयाँ कर्जा लगानी गरेको थियो । संस्थाले गत आर्थिक वर्ष ०८१÷०८२ मा आय कर पछिको नाफा तीन लाख ७३ हजार सात सय ४९ रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको अध्यक्ष अधिकारीले बताइन् ।

आर्थिक तरलताका कारण ऋण लगानी हुन नसक्दा नाफा घटेको संस्थाले जनाएको छ । आर्थिक तरलतालाई समाधान गर्नतर्फ लागिरहेको संस्थाले बताएको छ । संस्थाले सदस्यलाई सुत्केरी राहत गत आर्थिक वर्ष सात जनालाई उपलब्ध गराएको थियो भने दुई जना सदस्यलाई मृत्यु राहत उपलब्ध गराको संस्थाले जनाएको छ । कार्यक्रममा वार्षिक आर्थिक प्रतिवेदन सहव्यवस्थापक लतिता पोख्रेल, लेखा प्रतिवेदन लेखा समितिका संयोजक सपना मजगैयाँ अधिकारीले प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष ०८२÷०८३ को प्रस्तावित कार्यक्रम संस्थाका व्यवस्थापक नर्मदा शर्माले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरू यसोदा पाण्डे, पार्वती अधिकारी, पत्रकार अमरराज आचार्य, सदस्यहरू देवा महरा, देवा सुवेदी, सावित्री शाहीलगायतले भनाइ राखेका थिए । संस्थाका उपाध्यक्ष चुनकुमारी विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लेखा समितिका संयोजक सपना मजगैयाँ अधिकारीले गरेकी थिइन् । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य भीमा डाँगी र तुलसा केसीलाई सम्मान गरिएको थियो ।

हरेक वर्ष ७० वर्ष माथिका सदस्यलाई सम्मान गदै आएको संस्थाले जनाएको छ । यसैगरी आधारभुत विद्यालय गिठेपानीका उत्कृष्ट विद्यार्थी देवकी विक र अनाथ बालिका विपना सार्कीलाई झोला, विद्यालय पोसाक, स्वेटर प्रदान गरिएको थियो । संस्थाले सामाजिक कार्य अन्तर्गत सामग्री प्रदान गरेको हो । २०५४ सालमा ६० महिलाबाट सुरु भएको सहकारीमा हाल पाँच सय ३० जना सदस्य रहेका छन् ।