दाङमा मतदाता नामावली दर्ताका लागि भिड

गोरक्ष समाचारदाता
दाङ, २८ कात्तिक । आगामी निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चितता गर्न मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड दाङमा बढ्दै गएको छ । निर्वाचन आयोगले तोकेको समयसीमा सकिन चार दिन मात्र बाँकी रहँदा मतदाता नामावलीमा नाम दर्ता गराउन प्रदेश निर्वाचन कार्यालय घोराहीमा नयाँ मतदाताको भिड बढेको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन अभियान अन्तर्गत हालसम्म दाङमा तीन हजार छ सय बढी नयाँ मतदाता थपिएका छन् । उनका अनुसार बुधवार मात्र दाङमा छ सय २७ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।

पछिल्लो समय मतदाता नामावली दर्ताका लागि प्रचारप्रसारसँगै राजनीतिक सक्रियता हुँदा मतदाता नामावलीमा नाम दर्ताका लागि सङ्ख्या थपिने क्रम बढेको छ । कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता एवम् अद्यावधिक कार्य चल्नेछ ।

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ । अनलाइन फारम भर्न पाए पनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयमा भिड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो । प्राविधिक तयारी र परीक्षणका काम सकेर राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

अब राष्ट्रिय परिचयपत्र नम्बरसहित अनलाइनबाट फाराम भरेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्नेछ । यसले व्यक्ति स्वयम् निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ । यसैगरी अहिले विदेशमा रहेकासँग पनि राष्ट्रिय परिचयपत्र छ भने मतदाता नामावलीमा सूचीकृत हुन पाउनेछन् ।