सत्य, निष्ठा र सेवाभावको नेतृत्व खोजी

भुवन पोख्रेल
अबको नेतृत्व सत्तास्वार्थले जन्माएको होइन, नेपाली जनताको आर्थिक, सामाजिक, राजनैतिक मनोभाव बुझेर सत्यको स्वरुप निरुपण गरी जनताको निराशालाई चिरेर आशाको सञ्चार गर्नु पर्ने किसिमको हुनुपर्छ ।

नेपालको राजनीतिक इतिहासमा थुप्रै राजनीतिक क्रान्ति, आन्दोलन भए, जनताले रगत र पसिना बगाएर संविधान लेखे । मुलुकको अवस्था परिवर्तनका खातिर व्यवस्था परिवर्तन गरियो तर हामीले परिवर्तन गरेको व्यवस्थाले जनताको अवस्था बदल्न किन सकेन भनी प्रश्न चिन्ह खडा भइनैरहन्छ । राजनीतिक नेतृत्को अ

सक्षमताको स्पष्ट चित्र युवाहरुको अनुहारमा कोरिएको निराशाले देखाउँछ । असफल नेतृत्वबाट मुलुकमा परिवर्तनको आशा युवा वर्गले गर्न छाडिसकेको छ । यसरी पटक–पटक चुनावमा जितेर शासन सत्तामा पुगेका नेतृत्व वर्गले जनअभिमतलाई पैतालाले कुल्चेर राज्यशक्तिको दुरुपयोग गरिरहँदा युवाहरुमा निराशाको विस्फोटन भयो, त्यो नै जेन–जी विद्रोह हो । पुराना पुस्ताको राजनीतिक त्याग र बलिदानी समाज रुपान्तरणका लागि इतिहासका गाथाहरुमा गौरवमय छ उनीहरुको योगदानलाई अबमूल्यन गर्न कदापी मिल्दैन ।

प्रजातन्त्रको स्थापना, गणतन्त्र र लोकतन्त्रको लागि उनीहरुले संघर्ष गरे, क्रान्ति गरे तर लोकतन्त्रको प्राप्तिपछि लोकतान्त्रिक राज्य सञ्चालन गर्न चुके शासन सत्ताको वरीपरी पद र कुर्सी मात्र देख्न थाले । जहिले भागबण्डाको राजनीतिले जनभावनाको सम्बोधन गर्न सक्दैन । राज्यका तीनवटै अंग कब्जा गर्ने र राम्राभन्दा हाम्रा मान्छे भर्ति गर्ने थलो बनाए । नेतृत्वको आदर्शलाई तिलाञ्जली दिँदै भ्रष्टाचारको दलदलमा भासिए ।

सत्तामा टिकि राख्नका लागि इमानदारितालाई बन्दुक राख्दै जनताको भविष्य र देशको विकासभन्दा केवल अर्को चुनावमा कसरी जित्ने भनी सौदाबाजी गर्न थाले । आफूहरु क्रान्ति गरेर जनताको अवस्था परिर्वतन गर्न सत्तामा आएको उद्देश्य बिर्सिए, बरु आफ्नो अवस्था बदल्न थाले । विस्तारै जनताको सेवक बन्ने घोषणाले चुनाव जितेकाहरु क्रुर शासक बन्दै बल प्रयोग गरी शासनमा टिकिरहने अविलाशा बोकेको हुँदा आजको विषम परिस्थितिको सामना गर्नु परेको हो ।

यो अवस्था सिर्जना हुनुमा नेपालका शीर्ष दलका शीर्ष नेतृत्वहरुको कुर्सी दौडको खेल नै हो । कुशल नेतृत्वले आफूलाई होइन, देश र जनताको भलाईलाई सबैभन्दा शीर्ष स्थानमा राख्दछ तर विडम्बना ने मान्नु पर्छ उनीहरु सर्वोच्च अदालत संसद, अख्तियार जस्ता संवैधानिक अंगहरुलाई नै आफ्नो स्वार्थ अनुुकुल प्रयोग गरी लोकतन्त्रको जगलाई नै कमजोर बनाए ।

नेतृत्वको आन्दोलन सामाजिक न्याय र समातामूलक समाजका लागि भएको थियो तर उनीहरुलाई अकुत सम्पत्ति कुम्ल्याएर राज्य कोषको दुरुपयोग गरी मुलुकलाई खोक्रो तुल्याए । सीमान्तकृत वर्गबाट चुनाव जितेर राज्य सत्ता सम्हालेकाहरु पनि केही वर्षमा सम्रान्त र कुलिन वर्गमा परिणत भई धनि र गरिब बिचको खाडल झनै फराकिलो बनाए ।

उनीहरुका सन्तान नातागोता र आसेपासे ‘नेपोकिङ’ का रुपमा राजनीति र राज्यका निकायहरुमा हाबी भएको देख्दा झनै जनआक्रोश चुलिँदै गयो जसको तरङका रुपमा भाद्र २३ र २४ को विद्रोहलाई लिन सकिन्छ । यसरी नेतृत्वले कार्यकर्ता, आम जनता माझ नेतृत्वप्रति आक्रोश बढ्दै वितृष्णा पैदा ग¥यो ।

उनीहरुले जहिलेदेखि चुके । उनीहरुले आफ्नो स्तुतिगान र जयजयकार गर्ने अन्धभक्त कार्यकर्ताको झुण्ड बटुलेर आत्मरतिमा तल्लीन हुँदा वर्तमान अवस्था सिर्जना भएको हो । भाद्र २३ को आन्दोलनले स्वष्ट सन्देश दिइएको छ कि अब पुराना अनुहार र पुरानै प्रवृतिलाई पादा लगाएको छ । अझ नयाँ अनुहारमा पुरानै प्रवृतलाई पनि आगामी चुनावमा उम्मेदवार बनाउनु हुँदैन । नेतृत्वमा पुरानै चरित्र दोहरिए मुलुकको भविष्य फेरि अन्धकारमय हुने भएकाले अबको नेतृत्व सत्य, सेवा र जनताको आवाज सुन्ने असक्षमता

भएको हुनुपर्दछ । नेपालको राजनीति अस्थिर र संक्रमणयुक्त भएको हुनाले जनतामा असन्तुष्टि र निराशा वप्त छ । त्यो निराशालाई चिरेर आशामा बदल्न अबको नेतृत्व सत्य, सेवा र पारदर्शी हुु आवश्यक ठहर्छ । योग्य व्यक्तिले अवसर पाउनु पर्छ र सबै तह तप्काको प्रतिनिधिव पनि आवश्यक छ । अब समावेशीता र योग्यता, दक्षतालाई पनि अघि बढाउन रणनीति चाल्नु पदर्छ ।

पारदर्शीता र जवाफदेहिता नेताहरुको व्यवहारमा देखिनु पर्छ पार्टीका घोषणापत्रमा होइन । जनतालाई सडकमा उत्रिने परिस्थितिको सिर्जना नेतृत्वको रवैयाका कारण भएको हो । सडकमा उत्रिँदैमा समाज रुपान्तरण हुन्छ र पार्टीहरु सच्चिन्छन् भन्ने छैन बरु अराजक भीडमा नैतिकता र अनुशासन गुमेर भाडभैलो मच्चिएका थुप्रै ृदाहरण छन् ।

हामीले नयाँ पुस्ताको जोश, जागर र उर्जा त खोज्यो तर पुरानो पुस्ताको त्याग र अनुभवलाई युवाको जोश र प्रोढको होस दुवैले मुलुकलाई विकास र समृद्धिको यात्रामा अघि बढाउँछ भन्ने कुरालाई भुल्नु हुँदैन । नेतृत्वको इच्छाशक्ति हुने हो भने मुलुकमा भ्रष्टाचारको अन्त्य भई पारदर्शीता र सुशासन ल्याउन कत्ति पनि कठिनाई छैन ।

मुलुक र जनता कठिन परिस्थितिमा परेको बेला हामीलाई चटक्क बिचल्लीमा छोडेर भाग्ने नेतृत्व चाहिएको छैन । मुलुक र जनता समस्यामा परेको बेला आफ्नो प्राणको बाजी लगाउर अभिभावकीय भूमिका खेल्ने र हामीलाई सम्हाल्ने संरक्षक नेतृत्व आजको आवश्यकता हो । अबको हाम्रो नेतृत्व भ्रष्ट नहोस्, पारदर्शी होस्, चुनौती र विवादको समयमा पनि अडिक होस्, विचलित नबनोस् ।

सच्चा नेतृत्व त्यो हो जसले कठिन परिस्थितिमा पनि विवेक नगुमाई निर्णय र साहस प्रदर्शन गर्न सक्छ । अबको नेतृत्व जनविश्वास जित्ने, मुलुकमा स्थायी परिवर्तन ल्याउन सक्ने, विश्व परिवेश बुझेको र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय हितका पक्षमा संवाद गर्न सक्षम हुनुपर्छ ।

पुरानो नेतृत्व भ्रष्ट, दिशाहीन र जनभावनाको कदर नगर्ने भएका कारण जनता आक्रोशित भएको इतिहास साक्षी छ । युवाहरुले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न पारदर्शीता, जवाफदेहिता कानुनी शासन र समावेशितामा आधारित सुदृढ शासन, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण आवश्यक देखिन्छ । दीर्घकालीन सुधारका लागि निर्वाचन प्रणालीमा युवा प्रतिनिधित्व, सार्वजनिक संस्थानमा सुधार र व्यापक भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ ।

यतिबेला नेपालका ठुला र साना राजनीतिक दलहरु आन्तरिक द्वन्द्वमा भासिएका छन् । मुलुक राजनीतिक पुनर्निर्माणको पखाईमा छ । केपी शर्मा ओलीले राजिनामा दिएपछि संविधानको मान्यता विपरित जेन–जीहरुको समर्थनमा सशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ । निर्वाचनले राजनीतिक पुननिर्माणतर्फ मुलुकलाई लैजाने जनअपेक्षा छ ।

नेपालका नेताहरुमा नैतिकताको खडेरी देखिन्छ । पद र नैतिकतामध्ये कुनै एक रोज्नु प¥यो भने पर्दैन रोज्ने अपसंस्कार नेतृत्व वर्गमा देखियो । नेतामा नीति र नैतिकता भएन भने जनताले दुःख पाउँछन्, देशमा भ्रष्टार बढ्छ र राष्ट्र उदोगतितर्फ धकेलिन्छ । नेतृत्वका नैतिक कर्तव्य हुन्छन् ।

असल नेतृत्वमा नैतिकता स्वभाव, चरित्रमा शुद्धता, स्वच्छता, पारदर्शीता इज्जत, प्रतिष्ठा, इमानदारी, चालचलन, स्वभाव, शिक्षा, ज्ञान, गुण सपथ र जिम्मेवारपूर्ण व्यवहारमा भर पछ । राजनीतिमा नैतिकता हराएकाले देशका सबै निकाय ध्वस्त छन् । देशको राजनीतिक परिवेश नै निराशाजनक र चिन्ताजनक देखिएको छ । अहिले राजनीतिक दलका नेताहरु अग्निपरीक्षाको घडीमा उभिएका छन् ।

जेन–जी विद्रोहले नेपालको राजनीति क्षेत्रमा तरंग ल्याएको छ । जनता परिवर्तनको खोजीमा छन् । भ्रष्टाचारमा चुर्लम्म डुबेको र जुनसुकै बहानामा सत्तामा टिकिरहने स्वार्थबाट ग्रसित दमनको बाटो नरोजेको भए आन्दोलन शान्तिपूर्ण हुन्थ्यो । जनताको सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनको चाहनालाई उपेक्षा र अबमूल्यन गर्ने र राज्यशक्तिको आधारमा सत्तामा टिकिरहन सकिन्छ भन्ने शासकीय सोचका कारण ठुलो संख्यामा निर्दोष र निहत्या युवा विद्यार्थीको ज्यान गयो ।

यस्तो अकल्पनीय नरसंहारको परिणाम स्वरुप सर्वसाधारण जनताको तीव्र आत्रकोश नेतृत्व वर्गमा थाम्न सक्ने राज्यसँग कुनै संयन्त्र थिएन । जनताको परिवर्तनको चाहनालाई बेलैमा सम्बोधन गर्न सकिएन भने राज्यका सुरक्षा अंगले भ्रष्ट शासकहरुलाई जोगाउन सक्दैनन् भन्ने अबको नेतृत्वले बुझ्नु पर्दछ । भदौ २३ र २४ गतेको घटनाक्रम पछि नेपालको राष्ट्रिय राजनीतिमा ठुलो हलचल आएको छ ।

मुलुकका प्रमुख मानिने राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी सर्वाधिक कमजोर र कठिन मोडमा छन् । उनीहरु आफ्ना कुकृत्यका कारण प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । चुनावको पूर्वसन्ध्यामा यी दलहरु निष्क्रीय प्रायः छन् । दलहरुमा कुनै चुनावी चहलपहल र माहोल देखिँदैन । दलहरुमा चुनाव नजिकिँदै जाँदा पनि कुनै उत्साह देखिँदैन । राजनीतिक दलले कुनै कार्यक्रम गरेको पनि देखिँदैन । यसरी कुनै चुनावी अभियान देखा नपर्नुका पछाडि नेतृत्व वर्गहरु जनताको अदालतमा उभिन डराएको जस्तो भान हुन्छ ।

नागरिकले यसबेला सही नेतृत्व छनोट गर्ने अवसर आएको छ । चुनावको घडीमा नागरिक कुनै कर, दबाबमा र प्रलोभनमा नपरी आफ्नो अमूल्य मतदान गरी भ्रष्ट र नैतिकता विहीन नेतृत्वलाई पाखा लगाउन सक्नुपर्छ । हामीले बारम्बार मतदान गरी जिताएर पठाएका नेतृत्वबाट आश्वासन मात्र पायौँ र सधै धोका खायौँ अब सचेत भएर चुनावमा धन र डन खर्चिने नेतृत्वलाई हराउनु पर्छ ।

चुनावमा धनको खोलो बगाएर जनमतलाई किन्न खोज्ने नेतृत्व कहिल्यै पारदर्शी हुँदैन । उसले आफूले चुनावमा खर्चेको पैसा उठाउनका लागि भ्रष्टाचारमा चुर्लम्म डुब्छ यस्तो नेतृत्वबाट सुशासन र पारदर्शीताको आशा राख्न सकिँदैन । पार्टीमा इमानदार नेतृत्व छन्, कुशल र सक्षम नेतृत्व छन् यिनीहरुले पैसा खर्च गर्न नसकेकै कारण चुनावमा टिकट पाउँदैनन् ।

अबको चुनावमा पार्टीमा ओझेल परेका इमानदार नेतृत्व जसले पार्टीलाई लामो समयदेखिख योगदान पु¥याएका छन् र आफैमा इमानदार छन् । तिनीहरुलाई अवसर दिएर चुनाव जिताउनु पर्छ । अबको खोजी इमानदार, राष्ट्र र जनताप्रति समर्पित नेतृत्वको छ । नेपालमा लोकप्रियतावादी प्रवृति हाबी देखिएको छ । नेतृत्वमा हुनुुपर्ने गुण नभई जनमत प्राप्त गर्न नसक्ने वातावरण हामी आम नागरिकले सिर्जना गर्नुपर्छ ।

नेतृत्वलाई देवत्वकरण गरेर अन्धभक्त पनि बन्नु हुँदैन । प्रत्येक उम्मेदवारलाई नैतिकताको कसीमा जाच्नु पर्छ । भाइरल नेतृत्वको पछि दौडिनु हुँदैन । यहाँ कर्म र गुणको आधारमा मूल्याङ्कन गर्न सक्ने क्षमताको विकास प्रत्येक नागरिकमा गर्नु पर्ने भएको छ । सस्तो लोकप्रियताको पछि दौडेर जिताएको नेतृत्व पछि मुलुक र जनताको लागि कतै घातक बन्ने त होइन भनी पूर्व अनुमान गर्न सक्नुपर्छ ।

दलहरुप्रति जनतामा व्यापक घृणा र आक्रोश व्याव्त छ, संगठन र नेतृत्व क्षतविक्षत भएको छ । उनीहरु आन्तरिक विवाद र अन्तरविरोधको भुमरीमा फसेका छन् । दलहरु वैचारिक रुपमा सलित मात्र नभई पछिल्लो समय उनीहरुको चरित्र, प्रवृति र क्षमताको कारणले समेत बदनाम हुन पुगेका छन् ।

अहिले मुलुकको राष्ट्रिय राजनीतिमा तरल, रिक्तता, र अन्योलको अवस्था छ । दलहरुलाई संगठनात्मक पुर्नगठन, नेतृत्वको हस्तान्तरण्ण र वैचारिक पुर्नसमायोजन गर्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यो परिस्थितिले राजनीतिमा नयाँ धुव्रीकरणको सम्भावना देखिन थालेको छ । राजनीतिलाई पेसा नभई सेवाको रुपमा हेरियो भने नेतृत्व जनताप्रति उत्तरदायी हुन्छ ।

नेपालका राजनीतिक परिवर्तनमा दलहरुले प्रमुख भूमिका खेलेकै छन् तर निर्वाचनमा जनमत प्राप्त गरिसकेपछि आफूले गरेका प्रतिबद्धता अनुरुप काम नगरी जनमतको अपमान गरेका छन् । लामो समय जेलनेल सहेर, विभिन्न यातना सहेर राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधिहरु पनि सत्तामा पुगेपछि पनि प्रजातान्त्रिक अभ्यास गर्नुको साटो शक्ति सन्तुलनको अभ्यास गरेको देखियो । चुनाव जित्न जति पनि खर्च गर्ने र सत्तामा जान पार्टीलाई समेत हतियारका रुपमा प्रयोग गरेको र जनताका इच्छा, आकांक्षा र चाहनालाई बेवास्ता गर्न थालेको दशकौ भएको थियो ।

सीमित शीर्ष नेताकै सिन्डिकेटमा देशको राजनीतिक गतिविधि चल्ने अवस्था सिर्जना भएपछि स्वाभिमानी युवा नयाँ पुस्ता राजनीतिप्रति वितृष्णाभाव फैलिएको र आक्रोशको स्वर नै जेन–जी विद्रोह हो । अथाह सम्पत्ति संकलन गरी चुनावमा असीमित खर्च गर्न सक्ने व्यक्ति नै निर्वाचित भएर आउने परिस्थितिको अन्त्य गरी राजनीतिलाई सेवा ठान्ने सादगी व्यक्तिले चुनाव जित्ने परिस्थिति सिर्जना गर्न सक्नुपर्छ ।

प्रत्येक दलमा सिद्धान्तच प्रेमी व्यक्तिलाई किनारा लगाउनुको साटो टिकट दिने वातावरण हुनुपर्छ । अवसरवादीलाई पाखा लगाएर जनहाकांक्षालाई सम्बोधन गर्ने नेतृत्व छनोटमा हामी सचेत बन्नुपर्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः नेतृत्वमा नआउने भनी नयाँ पुस्तालाई नेतृत्व चयन गर्न आग्रह गरे जस्तै अन्य दलका शीर्ष नेतृत्वले पदको मोहत्याग गरी राजनीतिलाई सेवामा रुपमा स्थापित गर्न सक्नुपर्छ । जनताबाट प्रत्यक्ष दण्डित हुने भए हरेक नेतृत्व सिर्जना भएको वर्तमान अवस्थामा हिजोको जस्तो सत्तालिप्सा राजनीतिबाट पूरा हुन सक्ने छैन ।

विगतमा जस्तो पार्टी वा शीर्ष नेतासँग फरक मत राख्नेलाई गाली गलौच, तुच्छ व्यवहार र अरुलाई हिलो छ्यापेर आफू पानी माथिको ओभानो देखाउने प्रयास ग¥यो भने त्यो जेन–जीको कठघरामा उभिनु पर्ने छ । नेतृत्व वर्गले अरुलाई दोषापरोण गर्नुका साटो आफूभित्र आन्तरिक शुद्दिकरणमा जुटन् ढिलो भइसकेको छ । राष्ट्र निर्माणको लागि अरुलाई दोष र अर्ति दिनुको साटो आफ्नै दललाई रुपान्तरण गर्न अग्रसर हुनुपर्छ ।