मेहनतले दिलाएको पहिचान र सफलता …

शारीरिक रूपमा अपाङ्ग भए पनि मनमा रहर, दृष्ढ इच्छाशक्ति र मेहनतले जीवनमा सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण हुन्, घोराही–१५ काठेकोलमा मनकामना ड्रेस हाउस सञ्चालन गर्दै आएका ४० वर्षीय वीरबहादुर रेउले ।

विगत दश वर्षदेखि सिलाई कटाईसम्बन्धी काम गर्दै आएका रेउले महिला तथा पुरुषका लागि आवश्यक विभिन्न डिजाइनका कपडा सिलाउने मात्र होइन, अरूलाई सिलाई कटाईसम्बन्धी सिप सिकाउने र बिग्रिएका सिलाउने मेसिन बनाउने काम समेत गर्दै आएका छन् । किशोर अवस्थामा ढाडमा चोट लागेका कारण शारिरीक रूपमा कमजोर बनेका रेउलेले समाजमा आफूलाई आत्मनिर्भर रूपमा उभ्याउनका लागि अनेक दुःख र संघर्ष गरेका छन् ।

त्यही संघर्षले सिलाई कटाई व्यवसायमा सफलतासँगै पहिचान दिलाएको र त्यो आफ्नो जीवनको सबैभन्दा ठुलो खुसी भएको बताउँछन् । २०४२ सालमा तुलसीपुर–१८ मजगैँमा बुबा प्रेमबहादुर रेउले र आमा शिवाकुमारी रेउलेको कोखबाट कान्छो सन्तानका रूपमा जन्मिएका रेउलेका तीन दाजु रहेका छन् । गाउँमा रहेको जनता प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका रेउलेले जनकल्याण माध्यमिक विद्यालय दुधरासबाट २०६६ सालमा एसएलसी पास गरे ।

एसएलसी पास गरेपछि शिक्षा सङ्कायमा नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा प्लस टुसम्म अध्ययन गरेका रेउलेको शिक्षण पेसामा लाग्ने सानैदेखिको रहर थियो । तर जीवनले अर्कै मोड लियो । पन्ध्र–सोह्र वर्षको उमेरमा ढाडको बिरामी भएपछि त्यसको असर खुट्टामा पर्दा अपाङ्गताको जीवन जिउनु पर्ने भयो । ‘आठ कक्षा पढ्दासम्म पढाइ राम्रो थियो । कक्षा आठ सेकेन्ड डिभिजन पास गरे पनि’,आफ्नो विगतका बारेमा सुनाउँदै रेउलले भने,‘त्यही समयमा ढाडको समस्या भयो, त्यसको असर खुट्टामा पर्न गयो र ह्वीलचियरको सहायताले हिड्नु पर्ने अवस्था भयो ।’

बिरामी भएर अप्रेसन गर्नु पर्दा दुई वर्ष पढाइ समेत छोड्नु परेको भन्दै उनी बताउँछन् । लामो समय उपचार गरे पनि पूर्ण रूपमा सुधार नहुँदा ह्वीलचेयरमा पढ्न जानु पर्ने अवस्था भएको उनी बताउँछन् । ‘शारीरिक रूपमा अपाङ्ग भएपछि साथीभाइको नजरमा हेलाको पात्र जस्तै भएको थिए’, रेउलेले विगत सम्झिँदै भन्छन्,‘स्कुलमा पढ्न जाँदा आफूलाई त्यो फिल हुने गरेको थियो तर सिलाई सम्बन्धी सिप सिकेर आयआर्जन गर्न थालेपछि अहिले त्यो फिल हटेको छ, यो पनि मेरो खुसी हो ।’

२०६५ सालमा एलएलसी परीक्षा दिएपछि रेउले घरमा बसेका थिए, त्यही समयमा घरेलु तथा साना उद्योग कार्यालयले निःशुल्क रूपमा सञ्चालन गर्न थालेको सिलाई कटाई सम्बन्धी तालिमका बारेमा थाहा पाए, तालिम लिए । त्यही तालिमबाट सिकेको कपडा सिलाउने सिप, रेउलेको जीवनको निर्णायक मोड बन्यो ।

‘तालिम लिए पनि शिक्षक बन्ने रहरका कारण घरमा बसेर शिक्षक सेवाका किताबहरू हेर्ने गर्दथे’,उनले भने,‘ त्यही समयमा गाउँकै एकजना साथीले काठमाडौँ जाउँ, उतै गार्मेन्टमा काम गर्दै पैसा पनि कमाउने र त्यही शिक्षक सेवा आयोगको पनि तयारी गरौँला भने पनि काठमाडौँ गए ।’ करिब पाँच वर्ष काठमाडौँमा गएर गार्मेन्टमा काम गरे । त्यो बेलामा पढ्नेभन्दा पनि धेरै काम गरेर पैसा कमाउने भन्नेमा ध्यान भयो रेउलेले भने,‘काठमाडौँमा पुगेपछि कामभन्दा पैसा ठूलो भन्ने महसुस भयो । जति धेरै काम गर्न सकिन्छ तेही काम सिक्दै कमाउन लागियो ।’

त्यही अनुसार करिब पाँच वर्ष कपडा सिलाउने सिक्दा सिलाई, कटाईसम्बन्धी धेरै ज्ञान हासिल गर्ने अवसर मिल्यो । काठमाडौँबाट फर्किएपछि दुई वर्ष नेपाल अपाङ्ग संघ खगेन्द्र जनजीवन केन्द्र झिँगौरामा प्रशिक्षकका रूपमा काम गर्ने अवसर पाए । त्यो समयमा अपाङ्गता जीवन बिताउँदै गरेका केहीलाई सिप सिकाउने अवसर समेत प्राप्त गरे, त्यो क्षणलाई पनि खुसीको क्षणका रूपमा लिने गर्दछन् ।

काठमाडौँमा बसाईका क्रममा दाङ आइरहन्थे । त्यही समयमा रेउलेले दाङमा घरेलु तथा साना उद्योग कार्यालयले पहिले सिलाई कटाई तालिम लिइसकेका व्यक्तिलाई बिग्रिएका मेसिन बनाउने तालिम सञ्चालन गरेको थाहा पाए । त्यसपछि सिलाई कटाईको काममा मात्र होइन, बिग्रेका सिलाई मेसिन बनाउने काम समेत सिके ।

दाङ आइससकेपछि नेपाल अपाङ्ग संघ खगेन्द्र जनजीवन केन्द्र झिगौरामा प्रशिक्षकको कामसँगै २०७२ सालमा रेउले आफ्नो व्यवसाय दर्ता गरेर सिलाईकटाईको काम गर्न थाले । सुरुमा घोराही–१० खैरामा आफन्तसँग सिलाईसम्बन्धी काम गरेका उनले दुई वर्षपछि घोराही–१५ स्थित दीपशिखा रोडमा तीन वर्ष व्यवसाय गरेको बताउँछन् । त्यसपछि काठेकोलमा सरेका थिए ।

घोराही–१५ भिग्रेली चोकमा बस्दै आएका रेउलेले करिब दश वर्षको अवधिमा दुई सयभन्दा बढीलाई सिलाई कटाईसम्बन्धी काम सिकाइसकेका छन् । रेउले महिला र पुरुषले लगाउने शर्ट, पाइन्ट, सुरुवाल, कुर्ता, चोलीलगायतका नयाँ डिजाइनका सबै प्रकारका कपडा सिलाउनेदेखि मर्मतको काम गर्दै आएका छन् । सानैदेखि जीवनमा संघर्ष गरेर अघि बढेका रेउलेको जीवनमा सुख र दुःखका अनेक क्षण रहेका छन् ।

‘सानैमा बिरामी भएर शारिरीक रूपमा अपाङ्गता जीवन जिउने भएपछि अनेक दुःख भोगे । त्यही क्रममा सिलाई कटाईको काम सिकेर आफ्नो आम्दानीको खर्च जुटाउन सक्दाको क्षण खुसी हो’, रेउलेले भने,‘अहिले आफ्नासँगै घरपरिवारको आवश्यकताका लागि कसैसँग माग्नु पर्दैन । घुम्न मन पर्ने ठाउँ, खान मन लाग्ने वस्तु र लगाउन मन पर्ने कपडा आफैँ कमाउन सक्छु, अरूलाई भन्न पर्दैन । यो पनि मेरो जीवनको खुसी हो ।’

आफ्नो मेहनत र पसिनाले आफ्नै आवश्यकता पूरा गर्न सक्दा हुने खुसी नै जीवनको साँचो खुसी हो भन्ने कुरा रेउलेको जीवनले सिकाउँछ । वार्षिक रूपमा सबै खर्च कटाएर दुईदेखि तीन लाखसम्म बचत गर्ने गरेका रेउले घोराही–१५ काठेकोलमै रहेको सहकारी संस्थामा दैनिक बचत समेत गर्दै आएका छन् । सानैदेखि शिक्षण पेसा गर्ने रहर भए पनि शारिरीक अपांगता र सिलाईको काममा लाग्दा आफ्नो रहर पूरा गर्न नसकेको उनी बताउँछन् ।

ठट्टौली पारामा रेउले भन्छन्,‘रहर त मास्टर बनेर स्कुलमा शिक्षण पेसा गर्ने थियो । त्यही अनुसार मेहनतका साथ पढाइ पनि गरेको थिएँ तर जीवनमा सबैकुरा सोचे जस्तो नहुने रहिछ । त्यही भएर होला पढाउने मास्टर नभएर कपडा सिलाउने मास्टर बनेको छु, तर यो पेसामा खुसी छु ।’ पढाइप्रतिको रहरले होला अहिले पनि नयाँ– नयाँ कुरा जान्न र सिक्न मन लाग्ने उनी बताउँछन् । उनले सिकाएका दुई सयभन्दा बढी विद्यार्थी आज विभिन्न क्षेत्रमा सिलाईको काम गरिरहेका छन् । ’मैले सिकाएको विद्यार्थी सफल हुँदा खुसी लाग्छ’, रेउले भने, ‘त्यो पनि एउटा शिक्षकको खुसी जस्तै हो ।’

लामो समयदेखि सिलाईसँगै बिग्रेका मेसिन बनाउने काम गर्दै आएका रेउले नेपाल अपाङ्ग संघ र धनपति बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित समेत भइसकेका छन् । उनी अपाङ्ग मानव अधिकार एवम् सरोकार मञ्चसँग समेत आबद्ध भएर अपाङ्गताका क्षेत्रमा काम समेत गर्दै आएका छन् । उनले ३ जना महिलालाई रोजगारी समेत सिर्जना गरेका छन् ।

प्रस्तुति : लीलाधर वली