मुहान संरक्षण पछिल्लो चुनौती : अध्यक्ष गौतम [अन्तर्वार्ता]
२०६४ सालदेखि बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निरन्तर अध्यक्षको जिम्मेवारीमा रहेका साधारण उपभोक्ता भएकै बेला सोझै सर्वसम्मत अध्यक्षको नेतृत्वमा पुगेका प्रदीप गौतम त्यसपछिका करिब ६ कार्यकाल निर्विरोध नेतृत्वमै छन् । उनी संस्थाको नेतृत्वमा जोडिँदा दुई सय ५० धारा थिए भने अहिले करिब दुई हजारभन्दा बढी धारा बेलझुण्डी खानेपानी संस्थाले वितरण गरेको छ ।
२०३४ सालमा स्थापना भएको बेलझुण्डी खानेपानी उपभोक्ता सङ्ख्याको हिसाबले जिल्लाकै चौथो खानेपानी संस्था हो । उपभोक्तालाई २०६९ सालदेखि उपभोक्ताहरुलाई प्रशोधन गरिएको पानी वितरण गर्दे आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले यही वर्ष मात्र करिब ३२ करोड, छ लाख ६८ हजार तीन सय १० रुपैयाँको सहलगानीमा आयोजनाको सेवा क्षेत्र विस्तार गरेको छ ।
यो सहलगानी आयोजनामा उपभोक्ताहरुले ३० प्रतिशत लगानी रहेको छ । सबै उपभोक्ताहरुले सहलगानीमा उपभोक्ताको दायित्वको रकम तिर्न नसकेपछि तुलसीपुर उपमहानगरपालिकाबाट एक करोड १५ लाख रुपैयाँ र बाँकी रकम नगर विकास कोषबाट छ करोड १४ लाख रुपैयाँ ऋण लिएर सहलगानी आयोजना सम्पन्न ग¥यो । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको हालको अवस्था तथा चुनौतीका विषयमा केन्द्रित रहेर संस्थाका अध्यक्ष प्रदीप गौतमसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
यति धेरै ऋण लिएर सहलगानीको आयोजना सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्नु भएको छ, अब कसरी तिर्नुहुन्छ ऋण ?
आयोजना भर्खरै सकिएको छ । हामीले हाल कायम रहेका धारा सङ्ख्या बढाएर करिब तीन हजार चार सय धारा सङ्ख्या बनाउने सोचमा छौँ । धारा जडान शुल्क वापत एक धाराको १८ हजार रूपैयाँ, उपभोक्ताले खपत गरेको पानीको प्रति युनिट एक सय रूपैयाँ, जरिवाना शुल्क, ठाउँसारी, नामसारी लगायतका शुल्क उपभोक्ताबाट उठाएर हामीले सहलगानी आयोजना सम्पन्न गर्दा तुलसीपुर उपमहानगरपालिका र नगरविकास कोषबाट ल्याएको ३० प्रतिशत ऋण तिर्न सक्ने छौँ ।
मलाई लाग्छ अबको पन्ध्र वर्षमा यो ऋण सबै चुक्ता गर्ने हाम्रो प्रक्षेपण छ । हामीले नगर विकास समितिबाट लिएको ऋणको वार्षिक पाँच प्रतिशत ब्याज र सावा गरी करिब ६०÷६१ लाख वार्षिक रूपमा बुझाउनु पर्ने हुन्छ । आयोजना सम्पन्न नहुँदासम्म हामीले ब्याज मात्र बुझाएका थियौँ, अब सावा र ब्याज दुवै बुझाउँदै जाने छौँ ।
नेपालको संविधान २०७२ ले स्वस्थ पिउने पानीलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । नेपाल सरकारको दिगो विकाश लक्षमा पनि एक घर एक धाराको रणनीति छ । तपाईले यति धेरै शिर्षकमा शुल्क लिँदा यो त संविधानको मौलिक हक विपरित व्यापार भएन र ?
संविधानमा मौलिक हकका रूपमा खानेपानीलाई स्थापित त ग¥यो, तर यसलाई कार्यान्वयन गर्ने सरकारको कुनै कार्यनीति र रणनीति लिएको छैन । सरकारले सहलगानीमा सडक विस्तार गरेको छैन, सहलगानीमा पुल बनेको अवस्था छैन, सिँचाइ कुलो बनेको अवस्था छैन तर खानेपानी जस्तो मौलिक हकको विषयमा नेपाल सरकारले नै सहलगानीका आयोजना ल्याउनु कति लज्जास्पद कुरा हो ।
मौलिक हक भनेपछि त उपभोक्ताले एक रूपैयाँ शुल्क नउठाइ निःशुल्क रूपमा पिउने पानी पाउनु पर्ने होनि तर खोइ सरकारले यसमा लगानी गरेको । कर्मचारीको नियमित तलब, टुटेफुटेका संरचना मर्मत, कार्यालय सञ्चालन खर्च, हरेक वर्ष खानेपानीको माग बढ्दै जाने हुँदा मागलाई सम्बोधन गर्न आयोजनाको सेवा क्षेत्र विस्तार लगायतका विषयमा सरकारले वार्षिक रूपमा लगानी सुनिश्चित गर्नुप¥यो नि ।
यसो हुन सकेमा हामीले आयोजना सरकारलाई हस्तान्तरण गर्न आतुर छौँ तर शुद्ध पिउने पानीलाई मौलिक हक भन्ने तर कार्यान्वयनमा उदासिनता देखाएपछि उपभोक्तालाई काकाकुल बनाउनु त भएन नि । पानी जीवन हो । अक्सिजन पछि नभई नहुने भनेको पानी हो । पानीमा सरकारको लगानी नदेखिएपछि समुदायबाटै पानीको व्यवस्थापन सुरु भयो ।
यसैलाई निरन्तरता दिँदै हामीले उपभोक्ताबाट न्यूनतम सञ्चालन शुल्क लिएर भए पनि नियमित रूपमा पिउने पानी उपलब्ध गराउँदै आएका छौँ । यदि यसलाई सरकारले खानेपानीमा संस्थागत व्यापार भएको ठान्दछ भने, सरकारलेनै संस्था सञ्चालन गरोस्, हामी एक मिनेट पनि ढिलो नगरी संस्था हस्तान्तरण गर्न आतुर छौँ ।
बेलझुण्डी खानेपानीको संक्षिप्त परिचय गराइदिनुस् न ?
यो संस्था २०३४ सालमा स्थापना भएर २०३९÷०४० सालमा आयोजना सञ्चालनमा आएको हो । जुनबेला यो संस्थामा जोडिएका जम्मा ७२ धारा थिए । तुलसीपुर उपमहानगरपालिकाको साविक वडा नं. ९ को छिल्लीकोटको डाँडीकाट र रोल्पाको साविक डुम्रिङ गाविसको रिचे गोदे देखिन्छ भने त्यहाँबाट पानी नआएपछि छिल्लीकोटकै बगाले मुहानबाट पानी ल्याएर यो आयोजना सञ्चालन भयो ।
पछिल्लो समयमा रोल्पाको रुण्टिगढि र सल्यान जिल्लाको गार्पाको स्रोतबाट पानी ल्याएर बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपभोक्तालाई पानी वितरण भइरहेको छ । हाल संस्थामा धारा सङ्ख्या करिब दुई हजार रहेका छन् । अब हामीले यो सङ्ख्या बढाएर तीन हजार चार सय पु¥याउने लक्ष्यमा छौँ । हाल संस्थाको सेवा क्षेत्र तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १६, १७, १८ र १९ रहेको छ । यो संस्थामा लाभान्वित सङ्ख्या करिब १८÷१९ हजारको सङ्ख्यामा रहेका छन् । घरधुरी सङ्ख्या मात्रै २१ सय जति रहेको अनुमान गरेका छौँ ।
सहलगानीको आयोजना सञ्चालनमा ल्याउनु भो, यो आयोजनाले कति वर्ष पछि सम्मको जनसङ्ख्यालाई थेग्न सक्ने छ ?
हामीले आयोजना सुरु गर्नु अघिको प्राविधिक डिजाइन अनुसार २० वर्षको हो । आगामी २० वर्ष सम्मको जनसङ्ख्यालाई हालकै संरचनाबाट उपभोक्तालाई आवश्यक पानी वितरण गर्न सकिने छ । अहिलेको अवस्था हेर्ने हो भने पानी यति फोर्सले आउँछ कि धेरैका धाराका टुटी समेत टुटफुट भए । तीन तला माथिसम्म पनि मोटर नलगाएरै पानी चढ्ने अवस्था छ ।
यदि हामीले थप स्रोत मात्रै खोज्न सकेमा मात्र पनि यो आयोजनाले अरू पचास वर्षको जनसङ्ख्यालाई भरथेग गर्न सक्दछ तर यसमा चुनौती पनि थुप्रै छन् । आयोजनाको नियमित मर्मत सम्भार र रेखदेख गरिरहनु पर्दछ । चुहावट रोक्न निरन्तर अनुगमन पनि उत्तिकै आवश्यकता छ । मुहान संरक्षणमा पनि हामीले उत्तिकै पहल गर्नु पर्ने अवस्था छ । यसमा उपभोक्ताहरूको पनि सहकार्य र जागरण आवश्यक छ ।
अब खानेपानी आपूर्तिमा के–कस्ता चुनौतीहरू आउन सक्छन् ?
अहिले विश्व समुदाय जलवायु परिवर्तनको नकारात्मक असरका कारण निकै प्रभावित छ । जलवायु परिवर्तनको असरलाई कम गर्न हामीले धेरै वातावरणमैत्री काम गर्नु पर्ने छ । हामीले अहिलेसम्म जसोतसो मुहानको पानी उपभोक्तालाई उपलब्ध गराउँदै आएका त छौँ, तर मुहान पनि दिगो उपाय हुन सक्ने छैन । किनकि हामीले पछिल्ला चार पाच दशकमा धेरै पानीका मुहान सकिसकेको प्रत्यक्ष देखेका छौँ ।
सबैभन्दा ठुलो चुनौती भनेकै यही हो । यो चुनौतीबाट मुक्ति पाउन हामीले मुहान संरक्षणको कामलाई दीर्घकालीन एवम् योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । अन्तमा फेरि पनि उपभोक्तालगायत आम जिल्लाबासीलाई भन्न चाहन्छु कि अब हामीले मुहान संरक्षणको अभियानमा जोडिन नितान्त आवश्यक छ । मुहानको कुरा मात्र होइन सतहमुनीको पानी पनि हरेक वर्ष भासिँदै गएको छ ।
यी सबै चुनौतीलाई हामीले समयमै ध्यान दिनु पर्ने छ । वार्षिक रूपमा वर्षात हुने दर पनि कम कम हँुदै गएको छ । यो किन भइरहेको छ भन्ने विषयमा पनि राज्यका हरेक निकायले अनुसन्धान गर्न आवश्यक देख्दछु । प्रकृति संरक्षणप्रतिको जागरण अनिवार्य होस् भन्ने पनि अपेक्षा गरेको छु र मलाई बेलझुण्डी खानेपानीका विषयमा गोरक्ष राष्ट्रिय दैनिकमार्फत् केही कुरा राख्ने अवसर दिनु भएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
