घोराहीमा ‘कोडफेष्ट’ हुँदै, दश टिम सहभागी हुने

गोरक्ष समाचारदाता
दाङ, २७ कात्तिक । आईटी क्षेत्रमा अवसरको खोजी गर्ने र योगदान दिने उद्देश्यले दाङका विद्यार्थीले प्रविधिमा आधारित प्रतियोगिताको आयोजना गर्ने भएका छन् । प्रविधिको प्रयोग गरेर कृषि, उद्योगलगायतको क्षेत्रको व्यापार, व्यवसायलार्ई प्रवद्र्धन गर्नका लागि कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रतियोगिताका सहभागीहरूले प्रस्तुती तयार गर्नेछन् र प्रतियोगितामा प्रथम हुने समूहले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने छ ।

सूचना र प्रविधिसम्बन्धी ‘कोडफेष्ट–२०२५’ नाम दिइएको यस्तो प्रतियोगिता दाङमा पहिलो पटक हुन थालेको हो । यस अघि दाङका विद्यार्थी यस्तो प्रतियोगितामा भाग लिन जिल्ला बाहिर जानुपर्दथ्यो । आयोजक कोड फर चेन्ज (सिएमसी) ले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर मङ्सिरको ५ र ६ गते घोराहीमा कोडफेष्ट गर्न थालेको जानकारी दिएको हो ।

विद्यार्थीलार्ई नवप्रवर्तन, सिर्जनशिलता र समस्या समाधानका लागि संलग्न उद्देश्यले आयोजना गरिएको कोडफेष्टमा दाङ र बाँके जिल्लाबाट सूचना र प्रविधिका क्षेत्रमा अध्ययनरतसँगै चासो राख्ने दश समूहको सहभागीता रहने कोड फर चेन्जका पब्लिक रिलेसन लिड कमल भट्राईले जानकारी दिएका छन् । उनका अनुसार दशवटा समूहमध्ये प्रत्येक समूहमा दुईदेखि चार जनासम्मको सहभागीता रहने छ ।

जिल्लामा पहिलो पटक हुन थालेको कोडफेष्टले विद्यार्थीलार्ई सिप, ज्ञान र अवसर आदानप्रदानमा सहयोगसँगै जिल्लामा सूचना प्रविधिको विकास र व्यवसाय प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको कोड फर चेन्जका टेक्निकल लिड सञ्जय कार्कीले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा प्लस टु तथा व्याचलर तहमा सूचना प्रविधिमा अध्ययनरत र चासो राख्ने विद्यार्थी सहभागी हुने भएका छन् ।

कोडफेष्ट व्यवसायी, उपभोक्ता र प्रविधिलार्ई एकीकृत गर्न र आपसी सहकार्य बढाउनका लागि सहयोग गर्ने कोड फर चेन्जकी मेम्वर आकांक्षा पाठकले जानकारी दिइन् । उनका अनुसार कोडफेष्टमा सहभागी दशवटा टिमले फरक–फरक विषयका समस्या पहिचान गरी समाधानका बारेमा तयार गरेका अवधारण प्रस्तुत गर्नेछन् ।

दाङमा पहिलो पटक हुँदै गरेको कोडफेष्टले सूचना प्रविधिमा रुची राख्ने विद्यार्थी र व्यवसायीलार्ई सहयोग गर्ने कोड फर चेन्जका पूर्व लिड संगम शर्माले बताए । कोड फर चेन्जका प्रोजेक्ट लिड सागर रामरुद्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव शुभेच्छा शर्माले गरेकी थिइन् ।