मङ्सिरभित्रै महाधिवेशन गरौँ : नेता गिरी

गोरक्ष समाचारदाता
दाङ, २६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पार्टीको १५औं महाधिवेशन नियमित रूपमा मंसिर महिनाभित्रै सम्पन्न गर्न सुझाव दिएका छन् । मङ्गलवार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले महाधिवेशनलाई लिएर लोक हसाउने काम नगरौं भन्दै नेताहरूलाई सचेत गराएका हुन् ।

नेता गिरीले देशभरिबाट विशेष महाधिवेशनको माग आएका कारण त्यसको सम्मान गर्दै मंसिरमै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसलाई अहिले एकजुट बनाउने र युवाको आकांक्षा सम्बोधन गर्ने समय हो, बहस र विवाद होइन।’ उनले कारबाहीमा परेका नेता तथा कार्यकर्तालाई आममाफी दिनुपर्ने सुझाव पनि दिएका छन ।

नेता गिरीले भने, ‘विगतका गल्ती स्वीकार गर्दै अब कांग्रेस नयाँ सोच र नेतृत्वसहित जनतामाझ जानुपर्छ ।ं उनका अनुसार पार्टी सुधारको अभियान वडास्तरदेखि सुरु हुनुपर्ने र नेतृत्व छनोट पारदर्शी हुन जरुरी छ । उनले अन्त्यमा भने, ‘अब विध्वंश होइन, राष्ट्रिय पुनर्निर्माणमा जुट्ने बेला हो, त्यसको नेतृत्व कांग्रेसले लिनुपर्छ ।’