गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन

प्रिया स्मृती गजमेर
लमही, २६ कात्तिक । लमही नपर प्रमुख एवम् अस्पतालका अध्यक्ष जोगराज चौधरीले बिरामीप्रति मुस्कानसहितको व्यवहार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मङ्गलवार लमही अस्पतालमा बसेको समीक्षा तथा छलफल बैठकमा अध्यक्ष चौधरीले अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीलाई समान व्यवहार गर्नुपर्ने बताए ।

उनले पावर वा पहुँचका आधारमा नभई हरेक बिरामीलाई समान अधिकारका साथ सेवा दिन अस्पतालका कर्मचारीलाई आग्रह गरे । ‘अस्पतालमा आउने बिरामीलाई मुस्कानसहित सेवा दिनुहोस्, यहाँ कोही पनि पावरमा होइन, आफ्नै अधिकारका आधारमा उपचार गर्न आउँछन्’, अध्यक्ष चौधरीले भने ।

बैठकमा अस्पतालमा जनशक्तिको अभाव, औषधी आपूर्तिमा देखिएका समस्या, अस्पताल सुरक्षा र बिरामीलाई छिटोछरितो सेवा उपलब्ध गराउने विषयमा गहन छलफल भएको थियो । अस्पतालका उपाध्यक्ष लक्ष्मी योगीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले बिरामीले अस्पतालमा प्रवेश गर्नेबित्तिकै सहज र सहयोगी वातावरण अनुभव गर्नुपर्ने बताइन् ।

बैठकमा अस्पताल सञ्चालक समितिका सदस्य अजय न्यौपाने, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीले जनशक्ति अभाव र औषधी कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताएका थिए । अस्पताल प्रशासन प्रमुख हरि खनालले आवश्यक जनशक्ति र औषधी आपूर्तिका लागि सम्बन्धित निकायसँग चाँडै पहल गरिने जानकारी दिए । बैठक अस्पताल सञ्चालक समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको थियो ।