गोरक्ष समाचारदाता
लमही, २६ कात्तिक । छाडा गाईको व्यवस्थापन र संरक्षण गर्न श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको छ । लमही नगरपालिका–६ खैरीमा मङ्गलवारबाट महायज्ञ सुरु भएको हो ।
एक सय ५० गाई पालिएका छन् । घाँस, पराल र पानीको अभावमा गाईहरू रहेपछि तिनको व्यवस्थापन गर्न समुदायको अग्रसरतामा महायज्ञ आयोजना गरिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले महायज्ञको उद्घाटन गरेका छन् । उनले गौ संरक्षणमा समुदायको सक्रियता अपरिहार्य रूपमा चाहिने बताए । ‘गौमाताको संरक्षणबाट नै समाजमा सकारात्मक ज्ञान र चिन्तन बढाउन सकिन्छ’, उनले भने, ‘अहिले गाई संरक्षण नगर्ने, छाडा छोड्ने प्रवृत्ति हाबी छ । यसलाई रोक्न जरुरी छ ।’
गौशाला व्यवस्थापन संस्थाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले गौ संरक्षणका लागि स्थानीय सरकारले सबैखाले प्रयत्न गरिरहेको बताए । गौशाला व्यवस्थापनका लागि चाहिने पूर्वाधार, आहारा र पानीका लागि समेत स्थानीय सरकारले सहयोग गरिरहेको बताए ।
उपप्रमुख लक्ष्मी योगीले गौशालालाई व्यवस्थित गरेर त्यसबाट आम्दानी लिन सक्ने गरी योजना बनाउनु पर्नेमा जोड दिइन् । सो अवसरमा आदर्श नमुना माध्यमिक विद्यालय देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल, समाजसेवी शेषदत्त चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गौ संरक्षण समितिका सचिव शिवलाल पन्थीले विषय प्रवेश गरेको कार्यक्रममा ज्ञानप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अनुप बुढा मगरले गरेका थिए । महायज्ञमा प्रमुख कथा वाचकको रूपमा पण्डित विष्णु वल्भाचार्य रहेका छन् ।