गोरक्ष समाचारदाता
तुलसीपुर, २६ कात्तिक । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ । सोही अन्तर्गत तुलसीपुरमा यो दिवस मनाउनका लागि मंगलवार तयारी बैठक सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको सरोकारवालाको तयारी बैठक छलफलमा यस वर्ष विभिन्न कार्यक्रम गरी अभियान भव्यताका साथ मनाउने निर्णय भएको महिला विकास अधिकृत माया श्रेष्ठले जानकारी दिइन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसलाई प्रभावकारी र समुदायदेखि तहसम्म पु¥याई महिलामाथि हुने हिंसा विरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि लाग्ने सहभागीले बताएका थिए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष विभिन्न २५ वटा कार्यक्रम गरेको र एक हजार बढीको सहभागिता रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिएकी थिइन्् ।
महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, नाटक, सचेतनामूलक सन्देश र विभिन्न छलफललगायतका सचेतना कार्यक्रम गरेको उनले बताइन् । कार्यक्रममा सहभागी ओरेक नेपाल दाङका प्रतिनिधि कल्पना चौधरीले पछिल्लो समयमा घरेलु हिंसाका घटना धेरै आउने गरेको भन्दै दिवसको अवसरमा त्यसको न्यूनीकरणका लागि अभियान चलाउनुपर्ने बताइन् ।
कार्यक्रममा सहभागीले दुरदराजमा बालविवाहसम्बन्धी सचेतना बढाउनु पर्ने बताएका थिए । कार्यक्रममा वडा सदस्य गौरी नेपाली, यमुना नेपालीले हरेक विद्यालयमा पुगेर बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक सन्देश र कार्यक्रम गर्न सुझाव दिएका थिए । विपद व्यवस्थापन शाखाकी सुशीला शाहले महिलालाई जीवन जिउने कला र सकारात्म सोचको विकास हुने खालका हर तरहका अभियान चलाउन सके लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिने बताइन् ।
कार्यक्रममा शिक्षा शाखाका मनबहादुर खड्काले अभियानसँग जोडिएर शिक्षा शाखाले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको बताए । दलित महिला संघका अध्यक्ष युवा कराराले अघिल्लो वर्ष आफुहरूले पालिकासँगको सहकार्यमा कार्यक्रम गरेको भन्दै यस वर्ष पनि कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका सूचना अधिकारी बालाराम खड्काले राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक सहयोगमा लैङ्गिगतामा आधारित हिंसा न्यूनीकरणका लागि विगतदेखि विविध कार्यक्रम गर्दै आएको बताउँदै यस वर्ष पनि पालिको समन्वयमा कार्यक्रम गर्ने बताए ।
इलाका प्रहरी कार्यालय प्रमुख होमबहादुर पराजुलीले अभियान अन्तर्गत प्रभावकारी कार्यक्रम गर्नुपर्ने भन्दै आफूहरूले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न सचेतना अभियान गर्दै आएको बताए । ‘हामीले सचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छौँ, अभियानमा हाम्रो साथ सहयोग रहने छ’, उनले भने ।
कार्यक्रममा पत्रकार दीप्तिशिखा चौधरीले सञ्चार क्षेत्रबाट आफूहरूले सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको भन्दै अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा कार्यपालिका सदस्य वसन्ता केसी, न्यायिक समितिका सदस्य लालमती भण्डारी, दिलकुमारी परियार, रिखा शर्मा, ओसीएमसीकी डिला भुसाल, बेसका रुपलाल चौधरी, रेडक्रसका सुशील न्यौपानेलगायतले अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरीले अभियान सबैको साझा भएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताइन् ।