प्रिया स्मृती गजमेर
लमही, २५ कात्तिक । लमही बजारको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेका होटल र बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका खाजा–नास्ता पसल तथा ठेलामा सोमवार अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा केही होटलले बासी र सडेको खाना बिक्री गरेको भेटिएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शरद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित अनुगमन कार्यलाई तीव्रता दिइएको हो ।
यसैगरी राजमार्ग किनारमा रहेका ठेलामा चाट बिक्री गर्ने व्यापारीलाई रङ मिसावट नगरी स्वच्छ वातावरणमा व्यापार सञ्चालन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा केही ठेलाबाट रङ मिसाइएको केराउ बरामद गरिएको बताइएको छ भने केही व्यापारीले अण्डामा रङ मिसाउने र प्याज–लसुन काटेर लामो समयसम्म राख्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
खाजा पसलमा अत्यधिक रङ प्रयोग गरिएको कारण धेरै पसलबाट जेरी र मासुजन्य परिकार बरामद गरी नष्ट गरिएको हो । अखाद्य पदार्थ मिसाएर बनाइने परिकारले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले व्यवसायीलाई सचेत गराइएको टोलीले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङका खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाइले पटक पटक सचेत गराउँदा पनि केही व्यवसायीले अटेर गरेको बताए । उनले भने, ‘अब पनि सुधार नगर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइनेछ ।’
अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाई, लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शरद पाण्डे, होटल व्यवसायी संघ लुम्बिनी प्रदेशकी सुमित्रा भट्टराई, लमही होटल व्यवसायी समिति अध्यक्ष नारायणप्रसाद भुसाल, वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार हरि गिरीलगायतको सहभागी थिए ।