गढवामा खाद्यद्वारा धान खरिद गर्न सुरु,मुल्य पाउँदा किसान खुसी

लीलाधर वली
दाङ, २५ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देउखुरीको गढवा गाउँपालिकामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले सोमवारदेखि गढवा गाउँपालिकामा रहेका किसानले उत्पादन गरेको धान खरिद गर्न सुरु गरेको हो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खाद्यले धान खरिद गर्दा किसान खुसी भएको गढवा गाउँपालिका–४ रामनगर निवासी रामनिवास यादव बताउँछन् । यादवले सरकारले तोकेको प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसाका दरले ४० क्विन्टल धान बिक्री गरेको बताए ।

गाउँमा व्यापारीले २५ सय रुपैयाँ प्रतिक्विन्टल धान मागी रहेको समयमा तीन हजार चार सय ६३ रुपैयाँ क्विन्टलका दरले धान बिक्री गर्न पाउँदा खुसी लागेको भन्दै यादवले भने, ‘सरकारले तोकेकै मूल्यमा धान बिक्री गर्न पाउँदा खुसी लागेको छ तर सबै धान खाद्यले नलग्दा बाँकी धान कसरी बिक्री गर्ने भन्ने समस्या थपिएको छ ।’  स्थानीय किसानको बिक्री गर्ने धान धेरै भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र गढवा गाउँपालिकाको सहमति अनुसार प्रतिकिसान बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने सहमति भएको छ । रामनिवास जस्तै सोही ठाउँ निवासी तुलसीराम यादव भने खुसी भएका छन् । सरकारले तोकेकै मूल्यमा धान बिक्री गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।

‘खाद्यले गाउँमै आएर सरकारले तोकेकै मूल्यमा धान खरिद गरिदिँदा खुसी लागेको छ । श्रमको मूल्य उठ्ने अवस्था भएको छ’, उनले भने, ‘धेरै धान उत्पादन गर्ने किसानलाई केही समस्या भए पनि आपूm जस्ता थोरै धान उत्पादन गर्ने किसानलाई राहत मिलेको छ ।’ यादवले एक बिघा खेतमा उत्पादन गरेको ३५ क्विन्टल धान बिक्री गरेको बताए । किसानले उत्पादन गरेको धानलाई खाद्यले उचित मूल्य दिने भए पनि उत्पादन अनुसारको धान नलगिदिँदा समस्या भएको किसानले गुनासो गरेका छन् । धान खरिदका लागि कोटा प्रणाली लागु गर्दा बढी उत्पादन गर्ने किसानलाई समस्या भएको गढवा–५ गढवा निवासी खिमबहादुर चौधरी बताउँछन् । किसानले उत्पादन गरेको खुल्ला रूपमा खरिद गरेको भए सहज हुने उनी बताउँछन् ।

किसानले उत्पादन गरेको धान बिक्रीका लागि गाउँपालिकाले सहजीकरण गरे पनि केन्द्रबाटै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निश्चित कोटा निर्धारण गरिदिँदा धान बिक्रीका लागि किसानलाई समस्या भएको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले बताइन् । खाद्य कम्पनीलाई निश्चित कोटा मात्र निर्धारण भएकाले किसानले उत्पादन गरेको सबै धान खरिद गर्न समस्या भइरहेको भन्दै उपाध्यक्ष चौधरीले भनिन्, ‘किसानले उत्पादन गरेको सबै धान खरिदका लागि व्यवस्था गरिदिन आग्रह गरिरहेका छौँ तर खाद्यले निश्चित कोटाका कारण एक किसानबाट बढीमा ४० क्विन्टल मात्र धान खरिद गर्न सक्ने बताएको छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कोटा प्रणालीका कारण धेरै धान उत्पादन गरेका किसान समस्या परेको बताइन् । उनका अनुसार गाउँपालिकामा किसानले करिब १५ देखि १६ हजार क्विन्टल धान उत्पादन गर्ने गरे पनि खाद्यले यो वर्ष अहिलेसम्म दुई हजार क्विन्टल मात्र धान खरिद गर्ने बताएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरकी शाखा प्रमुख तुलामाया लोवाले कोटा प्रणालीका कारण जिल्लामा पनि तीन पालिकामा कोटा निर्धारण गरेर धान खरिद गर्न सुरु गरिएको बताइन् । केन्द्रले दिएको पाँच हजार कोटा अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्विन्टलसँगै लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट १५÷१५ सय क्विन्टल धान खरिद गर्न थालिएको बताइन् ।

‘धान खरिदका लागि केन्द्रबाट निश्चित कोटा निर्धारण भएका कारण जिल्लामा समस्या भएको छ’, कार्यालय प्रमुख लोवाले भनिन्, ‘तर केन्द्रले कोटा नबढाउँदासम्म हामीले चाहेर मात्र खरिद गर्न सक्ने अवस्था छैन ।’ खाद्यका सूचना अधिकारी शक्तिराम डाँगीका अनुसार पहिलो दिन एक सय ७० क्विन्टल ८० केजी धान खरिद गरिएको छ । सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय दुई रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।