किरण थापा
जेन–जी आन्दोलनप्रति सुरुमा अत्यधिक आशा गरिएको थियो । नयाँ पुस्ताले जब सडकमा उत्रिए, पुरानो राजनीतिक ढाँचा, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थाले, जनतामा नयाँ विश्वास जाग्यो, अब परिवर्तन साँच्चिकै सम्भव छ । युवा पुस्ताको हातमा मोबाइल र सामाजिक सञ्जाल थिए, जसले आवाजलाई गाउँ–सहरको सीमाबाट निकालेर देशव्यापी बनायो ।
न्यायका स्वरले गुञ्जियो, नागरिक समाज पुनः सक्रिय भयो र पुरानो सत्ताको ढाँचा हल्लिएको जस्तो अनुभव भयो । लामो समयको निराशापछि जनताले यो आन्दोलनलाई नयाँ बिहानीको सङ्केतका रुपमा हेरका थिए तर विस्तारै त्यो उत्साह मन्द हुँदै गयो । आन्दोलनभित्र भिन्न–भिन्न मत, गुट–उपगुट र व्यक्तिगत स्वार्थका खेल देखा पर्न थाले ।
एउटै उद्देश्यका लागि सुरु भएको अभियान क्रमशः टुक्रिन थाल्यो । कोही आफ्नै फाइदामा तानिए, कोही राजनीतिक झुकावका कारण अलग धारमा गए । जस उद्देश्यका लागि यो आन्दोलन सुरु भएको थियो– न्याय, पारदर्शिता र जवाफदेहिताको खोज– त्यो विस्तारै ओझेलमा प¥यो । यद्यपि यति हुँदा हुँदै पनि, जेन–जी आन्दोलनले एउटा गहिरो परिवर्तनको बीज रोप्यो, जनतामा जागरणको भावना फैलायो ।
पुरानो पुस्तालाई मौनताको मूल्य सम्झाउँदै नयाँ पुस्तालाई बोल्ने साहस र आत्मविश्वास प्रदान ग¥यो । यसले देखायो– मौन रहनु सजिलो हुन्छ, तर मौन रहँदा अन्याय बलियो बन्छ । नेपालले पछिल्ला दशकहरुमा अत्यधिक पीडा र सङ्कट भोगेको छ । माओवादी १० वर्षे युद्धले देशको राजनीतिक र सामाजिक संरचनालाई नै उल्ट्याइदियो । समानता, न्याय र परिवर्तनका नारामा सुरु भएको युद्धले हजारौंको ज्यान लियो, असंख्य परिवार विस्थापित भए, र गाउँदेखि सहरसम्म भय, द्वन्द्व र विभाजन फैलायो ।
युद्धपछिको संक्रमणकालीन न्याय प्रणालीले पीडितका घाउ मलम लगाउने अपेक्षा गरिएको थियो, तर त्यसले केवल औपचारिकता देखायो । सत्य निरुपण र मेलमिलाप आयोगहरुले काम गर्यो, तर जसले अत्याचार गरे, उनीहरु अझै सत्तामा छन् । जसले सहन गरे, उनीहरु अझै मौन छन् । युद्धका घाउहरु केवल शरीरमा मात्र होइन, मानसिक रुपमा पनि अझै बाकि छन् । युद्धपछिका पुस्ताले बाँच्न त सिके, तर मौनतालाई जीवनयापनको उपकरण बनाए ।
२०७२ सालको विनाशकारी भूकम्पले देशको अर्को अध्याय लेख्यो । प्रारम्भमा विश्वभरबाट सहयोगको बाढी आयो, जनतामा एकताको भावना जाग्यो, तर समयसँगै त्यही सहयोग भ्रष्टाचार र अनियमितताको जालमा फस्यो । राहत वितरणमा अन्याय भयो, पुनर्निर्माणका योजनामा असमानता देखियो, र पीडितहरु अझै पनि राहतको प्रतीक्षामा रहिरहे ।
जसले राहत ल्याउनुपर्ने थियो, उनीहरु ठेक्कापट्टा बाँड्नमा व्यस्त भए । यसरी भूकम्पले हाम्रो भौतिक संरचना मात्र होइन, नैतिक संरचनामा पनि दरार पारेको थियो । त्यसपछि आयो कोभिड–१९ को महामारी– जुन नेपालको शासन प्रणालीका लागि अहिलेसम्मको सबैभन्दा ठूलो परीक्षा बन्यो । नागरिकले स्वास्थ्य सेवा, अक्सिजन र सुरक्षाको माग गरे, तर सरकार जनचाहना पूरा गर्नुभन्दा पनि राजनीतिक चलखेलमै व्यस्त रह्यो ।
औषधि किन्नेदेखि राहत बाँड्ने कामसम्म धेरै ठाउँमा भ्रष्टाचार भयो । अस्पतालमा अक्सिजन नपाएर धेरै मानिसले ज्यान गुमाए, जसले जनतामा दुःख र रिस दुवै ल्यायो । तर समय बित्दै जाँदा ती घटना हामी बिस्र्यौं, किनभने जीवन त अघि बढाउनै पर्छ । नेपालको राजनीति अझै पनि पुरानै समस्यामा फसिएको छ, भ्रष्टाचार, कमजोर शासन र जवाफदेहिताको अभाव ।
नेताहरु ठूला कुरा गर्छन्, तर काममा खासै परिवर्तन देखिँदैन । सबै राजनीतिक दलहरु सत्ता र स्वार्थमा व्यस्त छन्, जनताको पीडा भने भाषणमा मात्र सीमित छ । ठूला घोटाला केही दिन समाचारमा आउँछन् र फेरि हराउँछन्, यसले देखाउँछ कि हामी अझै पनि “जवाफदेहिताको अन्त्य” मनाइरहेका छौं । यदि न्यायको अर्थ जिम्मेवारलाई कारबाही गर्नु हो भने, नेपालमा अझै न्याय अपूर्ण छ । शासन र नेतृत्वप्रति
जनताको विश्वास कमजोर बन्दै गएको छ, जसले नयाँ पुस्तालाई निराश बनाएको छ । यसैबीच, दशकौँदेखि विभिन्न संस्थाहरुले नागरिकलाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत बनाउन धेरै प्रयास गरको पाईन्छ । विद्यालय, सामुदायिक तालिम र सामाजिक अभियानमार्फत जनतालाई सिकाइयो कि अन्याय र बेइमानीको विरुद्ध बोल्नु अपराध होइन, यो त नागरिकको अधिकार हो । तर चेतना त जगाइयो, तर व्यवहारमा खास परिवर्तन आएको छैन ।
अहिले पनि नेताहरु आफ्नै पार्टीको गल्तीविरुद्ध बोल्न डराउँछन् । पुराना शक्तिहरुको दबाब, स्वार्थ र राजनीतिक डरका कारण युवा नेताहरु पनि मौन छन् । दशकौँ बितिसक्दा पनि हाम्रो दैनिक जीवनमा खासै सुधार आएको छैन । भ्रष्टाचार र दुरुपयोग पहिलेझैं बाक्लो छ । विदेशी निकायबाट आएका अर्बौँ सहयोग रकम कहाँ गए ? जनताको जीवनमा त्यसको प्रभाव किन देखिँदैन ? त्यो पैसा कसको गोजीमा पस्यो ? यस्ता प्रश्नहरु अझै अनुत्तरित छन् । सत्तामा बसेकाहरुले जवाफ दिने चाहना राख्दैनन्, र जनताले थाकेका छन्, आशा गर्न पनि ।
यस्तै निराशाको बिचमा, भदौ २३ र २४ का घटनाले नेपाली राजनीति भित्रको वास्तविकता फेरि उजागर ग¥यो । केही पार्टीका शीर्ष नेताहरुले घटना बाह्य शक्तिको खेल हो, भन्दै जिम्मेवारी पन्छाउने प्रयास गरे, तर जनता र आफ्नै कार्यकर्ताहरुले त्यो कुरा सहजै मान्ने अवस्था भने रहेको पाइन्छ । केही कार्यकर्ताले ‘हो, हामी आफैंले गल्ती गरेका हौं’ भन्ने आत्मस्वीकृति जनाउँदै सुधारको माग गर्न थालेको अवस्था धेरै पार्टीमा देखिन्छ ।
यसले परिवर्तनको चेतना अब जनस्तरमा मात्र होइन, पार्टीभित्रका तल्लो तहसम्म पनि फैलिँदै गएको छ तर समस्या अझै पुरानै सोचमा छ, अहंकार, स्वार्थ र पार्टीभित्रको एकतर्फी निर्णयको संस्कार । जेन–जी पुस्ताको विद्रोहले यो कुरा स्पष्ट ग¥यो कि परिवर्तन केवल सडकमा होइन, प्रत्येक राजनीतिक दलभित्रै आवश्यक छ ।
पुराना नेताहरु अझै ‘मैले मात्र जानेको छु’ भन्ने मानसिकतामा बाँधिएका छन्, जसले नयाँ पुस्ताको ऊर्जालाई दबाइरहेको छ । नेपालका सबै राजनीतिक दलभित्र परिवर्तनको चाहना त जागेको छ, तर त्यसलाई व्यवहारमा उतार्ने साहसको कमी पाईन्छ । युवा पुस्ताले प्रश्न उठाउन थालेका छन्, मौनता तोड्न थालेका छन्, र यस्लाई आशाको पहिलो किरणका रुपमा लिन सकिन्छ ।
जेन–जी पुस्ताको आन्दोलनले, साँचो परिवर्तन भाषणमा होइन, सोच र संस्कृतिमा हुन्छ भन्ने कुरा देखाएको छ । जब नेताहरुले अहंकार त्यागेर जनताको आवाज सुन्ने बन्छन्, तब मात्र भदौ २३–२४ जस्ता घटना इतिहासको पीडा होइन, शिक्षाको स्रोत बन्नेछन् । जेन–जी पुस्ता पनि अहिले त्यही पुरानो निराशाको चक्रमा फस्दै गएको छ । परिवर्तनको ठूलो आशा लिएर सुरु गरिएको आन्दोलन फेरि पुरानै सत्ताको घेरामा अड्किएको छ ।
पुराना राजनीतिक दलहरुले युवा पुस्ताको उत्साह र आदर्शलाई आफ्ना स्वार्थका लागि प्रयोग गर्न थालेका छन् । जसले कहिल्यै परिवर्तन ल्याउने सपना देखेका थिए, ती दलहरु नै अहिले भ्रष्टाचार र सत्ताको खेलमा रमाइरहेका छन् । सहिदका सपना, आदर्श र बलिदान बिस्तारै बिर्सिँदै गएका छन् । देश फेरि त्यही पुरानै अवस्थामा पुग्दैछ, जहाँ बोल्नेहरु थाकेका छन् र मौन रहनेहरु अझ शक्तिशाली बन्दै गएका छन् ।
यस्तै निराशाको बीचमा, भदौ २३ र २४ का घटनाले नेपाली राजनीति भित्रको वास्तविकता फेरि उजागर ग¥यो । केही पार्टीका शीर्ष नेताहरुले ‘यो घटना बाह्य शक्तिको खेल हो’ भन्दै जिम्मेवारी पन्छाउने प्रयास गरे, तर जनताले र आफ्नै कार्यकर्ताहरुले त्यो कुरा सहजै मान्ने अवस्था भने छैन ।
कार्यकर्ताहरुले ‘हो, हामी आफैंले गल्ती गरेका हौं’ भन्ने आत्मस्वीकृति जनाउँदै सुधारको माग गर्न थाले । यसले देखायो कि परिवर्तनको चेतना अब जनस्तरमा मात्र होइन, पार्टीभित्रका तल्लो तहसम्म पनि फैलिँदै गएको छ । तर समस्या अझै पुरानै सोचमा छ– अहंकार, स्वार्थ र पार्टीभित्रको एकतर्फी निर्णयको संस्कार ।
जेन–जी पुस्ताको विद्रोहले यो कुरा स्पष्ट ग¥यो कि परिवर्तन केवल सडकमा होइन, प्रत्येक राजनीतिक दलभित्रै आवश्यक छ । पुराना नेताहरु अझै ‘मैले मात्र जानेको छु’ भन्ने मानसिकतामा बाँधिएका छन्, जसले नयाँ पुस्ताको ऊर्जालाई दबाइरहेको छ । नेपालका सबै राजनीतिक दलभित्र परिवर्तनको चाहना त जागेको छ, तर त्यसलाई व्यवहारमा उतार्ने साहसको कमी छ ।
युवा पुस्ताले प्रश्न उठाउन थालेका छन्, मौनता तोड्न थालेका छन् र यही नै आशाको पहिलो किरण हो । जेन–जी पुस्ताको आन्दोलनले देखाएको छ—साँचो परिवर्तन भाषणमा होइन, सोच र संस्कृतिमा हुन्छ । जब नेताहरुले अहंकार त्यागेर जनताको आवाज सुन्ने बन्छन्, तब मात्र भदौ २३–२४ जस्ता घटना इतिहासको पीडा होइन, शिक्षाको स्रोत बन्नेछन् ।
मानव मनोविज्ञान भन्छ मानिस बाँच्नका लागि बिर्सन्छ, सहन सिक्छ, र अघि बढ्छ । यही सामाजिक मनोविज्ञान को स्वभाव हो । युद्ध, भूकम्प, महामारी–हरेक पीडापछि हामी फेरि उठ्यौं, हाँस्यौं, काममा फक्र्यौं । तर समस्या यही हो–हामीले पीडालाई बुझेनौं, केवल बिस्र्यौं । हामी अघि बढ्यौं, तर घाउहरु सँगै लग्यौं । यही कारण हो कि अहिलेको समाजमा एक किसिमको भावनात्मक असंवेदनशीलता देखिन्छ ।
अन्याय देख्दा पनि हामी चुप बस्छौं, भ्रष्टाचार सुन्दा रिस गर्छौं तर क्रियामा रुपान्तरण गर्न सक्दैनौं । यो मौनता डरको मात्र होइन, थकान र मानसिक बोझको परिणाम हो । हामी बाँच्नका लागि मौन छौं, तर मौन रहँदा न्याय
मर्छ । तर, जेन–जी पुस्ता यही मौनता तोड्ने प्रयास हो । उनीहरुले बोलेका छन्, प्रश्न गरेका छन्, र चेतनाको नयाँ स्वर दिएका छन् । उनीहरुका आवाजले पुरानो पुस्ताको मौनतालाई चुनौती दिएको छ ।
उनीहरुले भने– अब मौनता होइन, जवाफदेही शासन चाहिन्छ । तर चुनौती यही हो– के उनीहरुले निरन्तर रहन सक्छन् ? के उनीहरु पनि स्वार्थ र सत्ताको मोहमा फस्नेछन् । किनभने यदि उनीहरुले पनि त्यही बाटो रोजे भने, इतिहास फेरि दोहोरिनेछ । नेपालको हरेक कालखण्डले हामीलाई एउटा कुरा सिकाएको छ– मौनता कहिल्यै स्थायी समाधान होइन ।
युद्धको मौनता, भूकम्पपछिको मौनता, महामारीपछिको मौनता– यी सबैले हामीलाई थकित बनायो, तर चेतनाको स्वर अझै मरेको छैन । आजको नयाँ पुस्ता त्यो स्वर हो– मौनताको साटो जागरणको, निराशाको साटो आशाको । उनीहरुले देशलाई केवल बाँच्नका लागि होइन, बदल्नका लागि हेरेका छन् । हामीले हरेक पटक अघि बढ्यौं, तर अब केवल अगाडि बढ्नु मात्र होइन, दृढ भएर सामना गर्न पनि सिक्नुपर्छ ।
माओवादी युद्धका सहिदहरु, भूकम्पका पीडितहरु, महामारीमा ज्यान गुमाउनेहरु–सबैले एउटै सन्देश दिएका छन् कि अर्को पुस्ता उनीहरु जस्तै मौन नबसोस् । नेपाल अहिले पनि संक्रमणकालमै छ– राजनीतिक मात्र होइन, मानसिक र भावनात्मक रुपमै पनि । पुरानो पुस्ता थकित छ, नयाँ पुस्ता उठ्दैछ, र यही चेतनाको पुनर्जागरणमा देशको भविष्य लुकेको छ ।
(लेखक गैरसरकारी संस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन् ।)