नदीजन्य पदार्थको अवैध उत्खनन्को आरोमा पाँच ट्याक्टर पक्राउ

गोरक्ष समाचारदाता
घोराही, २५ कात्तिक । दाङमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा प्रहरीले पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–४ पर्सियास्थित राप्ती नदी र बबई गाउँपालिका–७ स्थित ओदाले क्षेत्रबाट ढुंगा, बालुवा तथा मिस्कट अवैध रूपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरी टोलीले पाँच वटा ट्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

सोमवार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले ओदाले क्षेत्रमा उत्खनन् गरिरहेका रा.१.त.२५५९, लु.२.त.९५७२ र रा.१.त.४८४० नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार ती ट्याक्टरलाई बबई गाउँपालिकाले प्रति ट्याक्टर दश हजारका दरले ३० हजार रुपियाँ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी शाहका अनुसार देउखुरी क्षेत्रको गढवा गाउँपालिका–४, पर्सियास्थीत राप्ती नदीबाट मिस्कट उत्खनन् गरिरहेको अवस्थामा आइतवार साँझ प्रहरीले रा.१.त.३२०१ र रा.१.त.२७९७ नम्बरका दुई ट्याक्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ट्याक्टरलाई गढवा गाउँपालिकाले प्रति ट्याक्टर ३० हजारका दरले जरिवाना गरी आवश्यक प्रक्रिया पूरा गरेपछि सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभएको छ ।