अमरराज आचार्य
दाङ, बैशाख । धेरैले जन्मोत्सव मनाउन पाएका छैनन्, केहीको भात खुवाइको आधिकारिक भोज हुन सकेको छैन । वैवाहिक संस्कार पनि सुनसानजस्तै देखिएको छ । तीनवटा बसमा विवाहका जन्ती जानेहरुले लकडाउनको बेला भोज–भतेर समेत गर्न पाएका छैनन् । यस्तै अवस्थामा आफ्नो जन्मदिन पनि मनाउन पाएका छैनन् । उनीलाई फूल दिन पाए हुन्थ्यो, तर उनी अन्तै छिन्…।
लकडाउन एउटा बाध्यता थियो । नयाँ बर्षमा शुभकामना दिने व्यक्तिहरु हुन् वा घर सर्ने र जन्मदिवस मनाउनेहरु । केक पसलदेखि गिफ्ट पसलहरु समेत बेचैनमा छन् । मानौं उनीहरुले नाफा नोक्सानभन्दा पनि फेरि व्यवसाय सञ्चालनको वातावरण र कोरोनाको उन्मुक्ति खोजिरहेका छन् । विश्वका समाचारहरु हेरिरहेका छन्, आफू बाँच्ने अभ्यास खोजिरहेका छन् । पसलमा चाहिएको मोडेलको फूल तयार भएको छ, प्रकृतिले पनि आफ्नै चाहनाअनुरुपको फूल फुलाएको छ । तर उपहार ग्रहण गर्ने नागरिकहरु भने बेचैनी प्रतिक्षाको मोडमा छन् । ‘यो फूल उपहार दिनेबेला कोरोना भागिजावस्’, नागरिकको यस्तै चाहना छ, प्रेमीहरुको पनि यस्तै चाहना छ ।
नयाँ वर्षको अवसरमा बढी कारोबार हुने गिफ्ट पसलहरु यस वर्ष भने सुनसान रहेका छन् । नयाँ वर्षमा गिफ्ट प्रदान प्रचलनका कारण चहल–पहल हुने गिफ्ट पसलहरु लकडाउनका कारण अहिले बन्द रहेका छन् । व्यापार पनि शून्य रहेको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय नेपालमा पनि गिफट दिने प्रचलन बढ्दै गएको छ । यस वर्ष नयाँ वर्षको गिफ्टको व्यापार नभएको क्रिस्टल गिफ्ट पसलका सञ्चालक धुव्र पौडेलले जानकारी दिए । व्यापार हुने समयमा नै यस प्रकारको समस्या भएको उनको भनाइ रहेको छ ।
‘अन्य समयमा भन्दा नयाँ वर्षमा ३० प्रतिशत व्यापार बढी हुने गरेको थियो’, पौडेलले भने । अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षमा व्यापार राम्रो हुने गरेको व्यवसायीहरु बताउँछन् । तर यस वर्ष कलडाउनको कारण व्यापार शून्य रहेको उनको भनाइ रहेको छ । यसले गर्दा व्यवसायीहरु समस्यामा परेको उनको भनाइ रहेको छ । ‘अति आवश्यक पसल नभएकाले खोल्न नपाउने भएकाले व्यापार हुन नसकेको हो’, पौडेलले भने । लकडाउन खुकुलो भइरहेको अवस्थामा नजिकैको हार्डवेयर पसल खुलेको छ, तर फूल बेच्न सरकारले दिएको छैन ।
अर्का व्यवासायी एभर ग्रिन गिफ्ट सप एण्ड म्युजिकलका प्रोपाइटर भोला खनालले पनि गिफ्ट पसलको व्यापार शून्य रहेको बताए । कोरोना भाइरसको संक्रमणबाट सरकारले गरेको लकडाउनको कारण व्यापार शून्य भएको उनको भनाइ रहेको छ । ‘यस्तो परिस्थितिका कारण व्यापार बन्द रहेका छन्’, खनालले भने । अन्य समयमा नयाँ वर्षलगायत अन्य विभिन्न चाडवाडहरुमा व्यापार बढी हुने उनको भनाइ छ । आफूहरुको अति आवश्यक प्रकारको व्यापार नभएको कारण पनि बन्द नै रहेको बताए । उद्योग व्यापार सञ्चालन हुन नसकेपछि घरभाडा, बैंक व्याज कसरी तिर्ने भन्ने समस्याले सताउन थालेको व्यवसायीहरुको भनाइ रहेको छ । यस अवस्थामा राज्यले सहयोग गर्नुपर्ने उनीहरु बताउँछन् ।