कार्यालय खोल्ने भनिएसँगै बजारमा देखियो चहलपहल

बालाराम खड्का
दाङ, २८ बैशाख । सरकारले लकडाउन घोषणा गरेको कम्तीमा डेढ महिनापछि दाङका स्थानीय बजारहरु भरिभराउ भएका छन् । केही आशा, केही उत्साह र केही त्रासबीच नागरिकहरु बजारमा आएका छन् । कोरोनाको संक्रमण फैलने जोखिम यथावत हुँदाहुँदै पनि लकडाउनका समयमा सिजनको खेतीपातीका लागि मल–बीउ जुटाउन, औषधि मुलो गर्न, विकास निर्माणका लागि निर्माण सामग्रीको व्यवस्थापन गर्न र सबै कामका लागि पैसाको जोहो गर्न नागरिकहरु नजिकको बजारमा ओइरिएका देखिन्थे । लामो समयपछि सरकारले केही भीडभाड हुने सरकारी कार्यालयहरुबाहेक विकासे कार्यालय, स्थानीय पालिकाका कार्यालय, कृषि पशु तथा सबै स्वास्थ्य संस्थाहरु नियमित सेवा सञ्चालन गर्ने निर्णयसँगै लकडाउन छिचोल्दै आ–आफ्नो कार्यालय पुगेका थिए । किसानहरुको कोखिलोमा बीउपल देखिन्थ्यो । मल भने यसअघि नै जोहो गरिसकेका छन्, किसानहरुले ।

स्वाभाविक भीडभाड बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको छ । सातामा एक दिन वा दुई दिनमात्रै खुल्ने निजी बैंकहरु पनि आइतवारदेखि नियमित खुल्ने भनिएपछि सेवाग्राहीहरु पैसा निकाल्न बैंकहरुमा झुम्मिएका थिए । भीड व्यवस्थापनका लागि धेरैजस्तो बैंकिङ कार्यालयहरुमा सुरक्षाकर्मी खटिएका थिए । ‘लामो समयपछि नियमित बैंक खुल्ने भएपछि भीडभाड धेरै बढ्नु स्वाभाविक थियो, तैपनि सकेसम्मको व्यक्तिगत सुरक्षा व्यवस्थापन गरी सेवा प्रवाह गरेका छौं’, तुलसीपुरस्थित बैंकका एक अधिकारीले भने । प्रायः दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाड देखिन्थ्यो । भीड व्यवस्थापनमा नेपाल प्रहरीका जवानहरुको समेत उल्लेख्य सहभागिता देखिन्थ्यो ।

त्यसैगरी एग्रोभेटहरुमा भीड बढी थियो । मकै छर्ने अन्तिम समय छोप्दै किसानहरु मकैको बीउको जोहो गर्न एग्रोभेटसम्म आइपुगेका थिए । किनकि यो बर्ष स्थानीय सरकारले अझै पनि किसानहरुलाई मकैको अनुदानको बीउ उपलव्ध गराएका छैनन् । किसानले निजी एग्रोभेटबाट महंगो मूल्यमा मकै छरिसकेपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाले अनुदानको मकैको बीउ वितरण गर्ने तयारी गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पनि भीड अत्यन्तै बढी थियो । प्रवेशद्वारमा केन्द्रित भीड सवारी पास लिनका लागि केन्द्रित देखिएको थियो । अधिकांश पास लिन खोज्नेहरु निर्माण व्यवसायीहरु थिए । धेरै निर्माणका आयोजनाहरुको बजेट असार मसान्तमा फ्रिज हुने भन्दै सरकारले दिएको यो विकास निर्माणको समयलाई अधिकतम सदुपयोग गरी मजदुरहरुको आर्थिक समस्या टार्नका लागि उनीहरुको भीड थियो । त्यसपछि बिरामीलाई अन्यत्र लगेर सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पास लिन आएका थिए । लकडाउन लम्बिएसँगै दाङ जिल्लामा इँटा उद्योगमा काम गर्ने स्वदेशी कामदारको पनि समस्या छ । केही छिमेकी जिल्लाका छन् त केही भारतीय सीमा जिल्लाका पनि । इँटा उद्योगमा अब मंसिर पुस महिनासम्म मजदुरहरुको काम ठप्प हुन्छ । यो समयमा उनीहरु आ–आफ्नो घर फर्केर खेतीपानी गर्ने गरेका थिए । तर यसको व्यवस्थापन हुन सकेको छैन ।

खुल्ने भनिएका सरकारी कर्मचारीहरुले आ–आफ्नो परिचयपत्र बोकेर निजी सवारी साधनहरुमा कार्यालय पुग्न आइतवार सहज थियो । अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु बोक्ने सवारीहरु पनि निर्वाधरुपमा चलिरहेका छन् । निर्माण सामग्रीहरु बोकेर कार्यस्थलसम्म पुग्न पनि सुरक्षा निकायले रोकछेक गरेको अवस्था छैन । तरकारी र खाद्यान्न बोक्ने मालबाहक साधनहरु पनि आइतवार सडकमा धेरै देखिएको स्थानीयबासीहरुले बताएका छन् ।

साताको दुई दिन हार्डवयेर पसल पनि खुल्ने
यसैबीच जिल्लामा हप्तामा दुई दिन हार्डवयेर पसलहरु पनि खुल्ने भएका छन् । लामो समयको लकडाउनसँगै ठप्प भएको विकास निर्माणलाई सुचारु गर्ने निर्णयसँगै निर्माण सामग्री आपूर्तिका लागि हप्तामा दुई दिनका लागि पसल खुल्ने भएका हुन् । जिल्लाका विभिन्न स्थानमा शुरु हुने विकास निर्माणका लागि सामग्री आपूर्ति गर्न स्थानीय सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
आर्थिक बर्षको अन्त्उ हुन थालेको तथा बर्षातले पनि निर्माणमा अवरोध हुने भएकाले भीडभाड बढी नहुने गरी काम गर्ने वातावरण मिलाउन स्थानीय प्रशासन प्रयत्नशील रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । यससँगै जिल्ला सुरक्षा समितिको बैठकले हार्डवेयर पसलहरु पनि तोकिएको समयमा सञ्चालन गरिने भएको हो । शनिवार बसेको बैठकले गरेको निर्णयअनुसार विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री सरिया, सिमेन्ट र इँटा कारोबार गर्ने व्यवसायीहरुलाई निर्माण कार्यमा सहजीकरणका लागि हप्ताको दुई दिन बुधवार र शनिवार पसलहरु खोल्न पाइने छ । दुवै दिन यी पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न पाउनेछन् । त्यसपछि सम्बन्धित निर्माणस्थलमा पु¥याउन सरोकारवाला निर्माण व्यवसायीहरुले पहल गर्नेछन् । त्यस्तै आयोजनालाई आवश्यक पर्ने कामदारहरु उपलव्ध स्थानीय व्यक्तिहरुलाई परिचालन गरेर सुचारु गर्ने निर्णय पनि गरिएको छ । संकट व्यवस्थापन केन्द्रको जिल्ला गत संरचनाको बैठकले यो निर्णय गरेको हो । सो केन्द्रका संयोजकका रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

उच्च सतर्कता अपनाऔं : प्रमुख जिल्ला अधिकारी
दाङ, २८ बैशाख । स्थानीय बजारहरुमा चहलपहल देखिएको अवस्थामा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले थप उच्च सतर्कता अपनाउन जिल्लाबासीहरुलाई अनुरोध गरेका छन् । अहिले सरकारले विकास निर्माणका केही अत्यावश्यक कामका लागि खुकुलो वातावरण बनाएको भए पनि यो समयमा उच्च सावधानी अपनाई दैनिक कामकाज गर्न पनि उनले आग्रह गरेका छन् । ‘लकडाउन हटेको पनि होइन, खुकुलो भएको पनि होइन, तर अत्यावश्यक विकास निर्माणका काम सुचारु गर्ने निर्णयले बजारमा चहलपहल बढेको छ, यो अवस्थामा अझै सावधानी हुन स्थानीय प्रशासनको आग्रह हो’, गोरक्षसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले भने । उनले विकास निर्माणका काममा पनि शारीरिक दूरी कायम गरी संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा व्यवस्थापन गरी काममा जान पनि आग्रह गरेका छन् । दाङ जिल्ला पनि सीमानाकासँग जोडिएको र संक्रमणको उच्च जोखिमकै अवस्थामा रहेको पनि उनले बताएका छन् । संक्रमित भइसकेपछिको अवस्था दुर्भाग्यपूर्ण हुने भन्दै प्रजिअ रिजालले अझै पनि संयमता अपनाएर अत्यावश्यक काममा बाहेक घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गर्न पनि आम नागरिकहरुलाई आग्रह गरेका छन् । ‘नयाँ आर्थिक बर्ष शुरु हुँदैछ, बर्षातको मौसम पनि शुरु हुँदैछ, यसबीचमा पक्की पुल निर्माण, सडक निर्माणलगायतका केही गौरवका योजनाहरु पनि सञ्चालन गर्नुछ, यसका लागि निर्माण व्यवसायीहरुलाई उपयुक्त माध्यम र प्रक्रियाबाट निर्माण सामग्री उपलव्ध गराउन स्थानीय प्रशासन तयार छ’, रिजालले भने । साथै विकास निर्माणका नाममा अनावश्यक भीडभाडको अवस्था नगरिदिन पनि सरोकारवाला निर्माण व्यवसायी, श्रमिकहरुलगायतलाई आग्रह गरे ।