लीलाधर वली
दाङ, २३ कात्तिक । सरकारले प्रत्येक वर्ष धानको मूल्य निर्धारण गर्ने गरे पनि किसानले भने पाउने गरेका छैनन । धान खरिदका लागि नजिकमा सरकारी निकाय नहुँदा सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा किसानले धान बिक्री गर्ने गरेका छन् ।
सरकारले निर्धारण गरेको मूल्यमा व्यापारीले धान खरिद नगर्ने र सरकारी निकाय नजिकमा नहुँदा कम मूल्यमै धान बिक्री गर्नुपर्ने बाध्यता भएको किसान बताउँछन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको मूल्य धान खरिद गर्ने भए पनि कम्पनीले निश्चित ठाउँमा मात्र धान खरिद गरिदिनाले अन्य ठाउँका किसान समस्यामा पर्ने गरेका छन् ।
गाउँमा धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नआउने र खाद्यले तोकेको ठाउँमा धान ढुवानी गर्न समस्या हुने भएकाले स्थानीय व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएको घोराही उपमहानगरपालिका–५ निवासी मोहन वली बताउँछन् । व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्दा वर्षामा धान रोप्दादेखि काटेर दाउँदासम्म लागेको खर्च पनि उठाउन समस्या हुने गरेको बताउँछन् । उनले यो वर्ष २७ सय रुपैयाँ प्रतिक्विन्टलका दरले १८ क्विन्टल धान बिक्री गरेको बताए ।
सरकारले धानको मूल्य निर्धारण गरेको सुनेपछि किसानले धान बिक्री गर्दा त्यो मूल्य नपाउने गरेको घोराही उपमहानगरपालिका–१६ खिरिट्टे निवासी दीपक बस्नेत बताउँछन् । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य तोक्ने गरे पनि धान खरिद गर्न भरपर्दाे व्यवस्था नगर्दा किसानले मूल्य पाउनसक्ने अवस्था नरहेको बताए । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देउखुरीबाट धान खरिद गर्न थालेको सुनेको भन्दै बस्नेतले भने, ‘खाद्यले गाउँमा आएर किसानको धान खरिद गर्दैन । खाद्यलाई धान बिक्री गर्नका लागि किसानले आफँै देउखुरी वा तुलसीपुर लग्न सक्ने अवस्था छैन ।’
किसान र खाद्यबिच पालिकाले समन्वय गरेर धान बिक्रीका लागि कुनै निश्चित ठाउँ निर्धारण गर्ने र त्यस अनुसारको सूचना किसानलाई दिएर धान खरिद गर्ने व्यवस्था गर्न सके किसानले उब्जाएको धानले मूल्य पाउने अवस्था रहने उनी बताउँछन् । उनका अनुसार अहिले गाउँमा आउने व्यापारीले धान अनुसार प्रतिक्विन्टल साढे २६ सयदेखि तीन हजार रुपैयाँमा खरिद गर्ने गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले भने स्थानीय तहसँग भएको सम्झौता अनुसार जिल्लामा धान खरिद गर्न थालिएको जनाएको छ । जिल्ला प्राथमिक खरिद समितिले तोकेको ठाउँबाटै धान खरिद गर्ने भएकाले बिक्री गर्न इच्छुक जिल्लाका अन्य ठाउँका किसानले पनि देउखुरी नै लैजानुपर्ने खाद्यले जनाएको छ । जिल्लामा धान खरिदका लागि गढवा गाउँपालिकाले पहिलेदेखि चासो देखाउँदै आएकाले सम्झौता गरेर कात्तिक २३ गतेदेखि धान खरिद गर्न सुरु गर्न थालिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगी बताउँछन् ।
डाँगीले भने, ‘विगतका वर्षदेखि नै गढवा गाउँपालिकाले धान खरिदका लागि पहिले नै सम्झौता गर्ने किसानलाई त्यही अनुसारको सूचना गर्ने गरेकाले हामीले धान खरिद गर्ने गरेका छौँ तर अन्य पालिकाबाट पहलै हुँदैन ।’ धान खरिदका लागि गढवासँगै लमही नगरपालिका र राप्ती गाउँपालिकामा रहेका किसानसँग पनि धान खरिद गर्ने भए पनि सम्झौता भने हुन नसकेको सूचना अधिकारी डाँगीले बताए ।
कार्यालयका सूचना अधिकारी डाँगीका अनुसार यो बर्ष कात्तिक २४ गतेदेखि देउखुरीको गढवाबाट धान खरिद गरिने बताए । ‘देउखुरीको गढवाबाट धान खरिद गर्न कात्तिक २३ गतेदेखि सुरु गर्दैछौँ’, सूचना अधिकारी डाँगीले भने, ‘गढवामा सकिएपछि लमही र राप्ती गाउँपालिकाका किसानसँग पनि धान खरिद गर्ने तयारी छ ।’ खाद्यले तत्कालका लागि दाङमा पाँच हजार क्विन्टल धान खरिद गर्ने गरी परिपत्र भए पनि धान धेरै आएमा कोटा बढ्नसक्ने बताए ।
धान खरिदका लागि खरिद केन्द्र निर्धारणसँगै काँटा र बोरा देउखुरी लगिसकेको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन् । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ ।