खेमराज रिजाल
बिजौरी, २३ कात्तिक । गत भदौ २७ गते दिउँस बिच बिजौरीमा भेटिँदा उनको एउटा हातमा लौरो, अर्कोमा पत्रिका । जेन–जी समूहको आह्वानमा भएको आन्दोलनमा यति विघ्न क्षति भए पनि उनले सोधेका थिए, ‘के हुन्छ बाबु अब … ।
जेन–जी भनेका को हुन् ? कसबाट परिचालित छन् ? यति धेरै सम्पत्ति किन जलाए ? कसले दियो जलाउन निर्देशन … ।’ यस्तै यस्तै अनुत्तरीत प्रश्नले मलाई उनी फेरि यही प्रश्न नदोहो¥याउन भन्ने लाग्थ्यो । किनकि उनका प्रश्न गहन थिए । मेरो जवाफ मात्रले चित्त बुझाउन सायद कसैलाई पनि पर्याप्त हुँदैन ।
शनिवार फेरि उनी बिच बिजौरीको प्राप्ति आयुर्वेद मेडिकलमा भेटिए । चिनेको उहिल्यै हो तर मैले नाम सोधेको थिएन । उमेर अनुमान लगाउन सकिन्थ्यो तर सोधेको थिएन र उमेरमा उनले गरेको पेसा पनि । ‘बाबु ! यी पुरानाले अझै पनि नछाड्ने हुन् ? एमालेमा फेरी उही ओली, कम्युनिस्ट मिलेर बनेको पार्टीमा पनि फेरि प्रचण्ड, माधव र झलनाथ, कांग्रेसमा युवालाई नेतृत्व दिनै मरिहत्ते, यही हो त आन्दोलनको उपलब्धि ?’
प्रश्नैप्रश्न गरेपछि मैले उहाँको नाम सोधेँ, घर सोधेँ अनि उनको राजनीतिक रँग र उमेरमा गरेका पेसा व्यवसाय । सहजै उत्तर दिए उनले, ‘मेरो नाम मोहनसिंह केसी, राजमार्गमै जोडिएको तुलसीपुर–१९ बिजौरीमा घर छ । उमेरमा त के गरियो के गरिएन, सबथोक त याद छैन, उमेर छिप्पिँदै जाँदा पुराना कुरा धेरै हेक्का हुने रहेनछ । बल्ल उमेर बताए, ८८ वर्ष काटेँ नि । यो उमेरमा पनि पत्रिका हातमा छ । चस्मा नलगाई पढ्छु, ठुला अक्षर त’ ।
औलो उन्मूलन कार्यक्रममा उनी सामाजिक सहजकर्ताका रूपमा काम गरेका रहेछन् । त्यो बेला औलोको जलत्रास थियो । जलत्रास भन्नुको अर्थ पानीमा गए पनि नछाड्ने । धेरैको ज्यान जान्थ्यो, औलोले । गाउँको टाठाबाठा भएर होला उनले औलो उन्मूलन कार्यक्रममा धेरै वर्ष काम गरे । बाँकेमा थियो, उनको पोस्टिङ ।
‘हो, उमेरमा त म निकै आँटिलो थिएँ नि, त्यसैले सामाजिक काममा गाउँलेले मलाई अघि सार्थै र मद्दत पनि गर्थे, बाबुलाई भन्नै विर्सेछु, बेलझुण्डी खानेपानी मैले नै ल्याएको हुँ नि, काठमाडौंसम्म पुगेर मन्त्रालयमा लडेर ल्याएको हो, बेलझुण्डी खानेपानी योजना ।’ त्योसम्म त हालका खानेपानी नेतृत्वले पनि स्वीकारे ।
‘हामीले फरक नेतृत्व हेर्न पाएनौँ, २०६० सालदेखि उही अनुहारहरू, मुलुकमा कुशासन व्याप्त भएर त होला नि यहाँ एयरपोर्ट नबनेको, चारलेन नबनेको’, उनले यो पनि सम्झाए, ‘कुशासनको मतलव जेन–जी आन्दोलनमा नेताका घरमा पैसा जलाइए नि । मैले मोबाइलमै देखेको । साचो होइन र ?’
दुई दशकसम्म पनि उही मान्छे नेता बनिरहन सुहाउँछ ? बुढ्यौलीमा त आराम गरे पनि हुन्न र ? के नमरुन्जेल उनीहरूले नै सरकार पार्टी चलाउने हो ? तर बाबु हामीले भनेर भएन, यत्रो आन्दोलन पछि त छाड्न तयार छैनन् … ।’
फुलेको कपालमा हँसिलो अनुहारभित्र उनमा निराशा लुकेको स्पष्टै देखिन्थ्यो । जेन–जीदेखि यी ८८ वर्षीय बृद्धसम्मले बुझेको यही हो । जसरी जेन–जी समूहलाई सामाजिक सञ्जाल चाहिएको थियो, यी बृद्धलाई पनि त चाहिएको छ । त्यसैले टिकटकमै राजनीति बुझ्छन्, उनले । सुरुमा त रेडियो सुन्थे, समाचार छुटाउँदैनथे तर अचेल रेडियो छैन । उनले यो झोला बोक्ने बाबु पत्रकार हो भनेर मलाइ एक दशक अघि नै चिनेका रहेछन् ।
बेलझुण्डी खानेपानीको समाचार मेरो बाइलाइन प्रकाशित भएको दिनदेखि उनले मलाई पत्रकारका रूपमा चिनेका थिए । समाचार सुगुर खोलाको मुहानको स्थलगत अवलोकनको थियो । उनलाई ‘न्युज एडिक’ भन्दा सायद फरक नपर्ला । गत मङ्गलवार दिनभरको झरीमा पनि उनी गोपालको मेडिकलमा पत्रिका आएन भन्दै खोजिरहेका देखिन्थे ।
जेन–जी आन्दोलनपछि मुलुक अब कसरी अघि बढ्छ, स्थिर सरकार बन्ने आधार कसरी निर्माण हुन्छ, दुइ÷दुइ पटक संविधान सभा गरेर लेखेको यो संविधान मर्छ कि मर्दैन, राजनीतिको सहज अवतरण अब कसले गराउने हो ? यस्तै यस्तै प्रश्न उनका बुढ्यौली मनमा खेलिरहन्छन् । हरेक प्रश्नको उत्तर भने उनले कतैबाट पाउदैनन् । घोत्लिरहन्छन् राति अबेरसम्म । निद्रा बिहानै खुल्छ तर अर्को दिनको समाचारमा पनि उनले प्रगति देख्दैनन् ।
‘बाबु ! म ८८ वर्षको भएँ, मैले आजसम्म पाँच वर्ष सरकार चलाएको प्रधानमन्त्री देखेको छैन’, उनले इतिहास सँझाए । सरकार ढाल्ने र ढलाउने खेलो त राणा, पञ्चायत र बहुदलमा पनि थियो । सायद स्थिर सरकार बन्ने कानुन संविधान सभाले पनि लेख्न सकेन भन्ने उनलाई लाग्छ । खोई के लेखेछन् कुन्नि सङ्घीय संविधानमा । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा पनि त्यति नबुझेको बताए । ‘यसले सही निर्देश गर्ने हो कि झन निरङ्कुश हुने हो, मलाइ त त्यति सारो थाहा छैन’, उनले यसमा पनि आशङ्का व्यक्त गरे ।
‘तपाईंको पार्टी कुन हो नि ?’ प्रश्न पोखिन नपाउँदै, ‘उ त्यसैको पार्टी हो म, उसले जहाँ भोट हाल्छ, मैले पनि उसैमा, सोध्नुस् न ?’ उनले औषधी पसलमै उभिएका विदुर गौतमलाई देखाउँदै भने । त्यसपछि मैले उनको पार्टी चिन्तनबारे कन्फ्युज हुनु पर्ने भएन । उमेरले जति पाका छन् उनी व्यवहारले पनि पाका छन् ।
‘एमालेले पार्टी फर्कन सबैलाई ढोका खुल्ला छ, तर नीति र नेतृत्वको अब्जेक्सन गर्न पाइँदैन’, एमाले महासचिव शंकर पोख्रेलले भर्खरै बोलेको यो अभिव्यक्ति उनलाई चित्त बुझेको छैन । यो त लोकतन्त्र नै नभएको उनको बुझाइ छ । कांग्रेसमा नयाँ अनुहारहरू नेतृत्वमा आएको देख्ने उनको चाहना छ तर केन्द्रीय समितिको यतिका दिनको बैठकले महाधिवेशन टुङ्गो नलगाउँदा उनलाई ग्लानि छ । बिदा भएर अलि पर पुगेका केसी फेरि म तिरै फर्किए, ‘जेन–जी आन्दोलनमा घुसपैठ भयो भन्छन् नि ? कसको घुसपैठ हो यो … ?’ यो प्रश्न पनि मेरा लागि अनुत्तरित नै भयो । भनेँ, ‘अहिले घर जानुस्, जानकारीमा अयो भने अर्को भेटमा भनौँला ।’ यति भन्दै शनिवार मोहनसिंह केसीसँग छुटेँ ।