लमही अस्पतालमा अनुगमन, ५९ प्रतिशत अङ्क

प्रिया स्मृती गजमेर
दाङ, २३ कात्तिक । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्याङ्कन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्याङ्कनमा लमही अस्पतालले ५९ प्रतिशत अङ्क प्राप्त गरेको हो ।

कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवासुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समीक्षा गरिएको थियो । अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले अस्पतालका राम्रा अभ्यास र सुधार आवश्यक क्षेत्रबारे तथ्यगत रूपमा प्रस्तुत गर्दै केही सुधारका पक्षमा ध्यान पु¥याए आगामी मूल्याङ्कनमा अङ्क वृद्धि हुने सुझाव दिए ।

अनुगमन टोलीले अस्पतालको सेवा स्तर, जनशक्ति व्यवस्था, औषधी आपूर्ति, सरसफाई तथा बिरामीमैत्री वातावरणबारे समेत अवलोकन गरेको थियो । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले सुधार आवश्यक पक्षहरू पहिचान गर्दै अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए ।

उनले भने, ‘स्वास्थ्यकर्मीले बिरामीसँग यति आत्मीय व्यवहार गर्नुपर्छ कि बिरामीको आधा रोग त्यसै निको होस् । भगवान्भन्दा बढी स्वास्थ्यकर्मीप्रति बिरामीको विश्वास हुन्छ, त्यसैले सबैले यो कुरा मनन् गरेर सेवा दिनुपर्छ ।’ लमहीकी उपप्रमुख लक्ष्मी योगीले सीमित स्रोत र जनशक्ति अभाव बिच पनि अस्पतालले देउखुरीका तीन पालिकासहित चारै पालिकामा स्वास्थ्य सेवा विस्तार गरिरहेको बताइन् । उनले अस्पतालको संरचना र स्रोत व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखिन् ।

निक सायमन इन्स्टिच्युटका निर्देशक डा। कासिम साहले लमही अस्पतालको सेवा प्रवाह अन्य अस्पतालभन्दा सन्तोषजनक रहेको बताए । डा। साहले लमही अस्पतालले आगामी दिनमा अझ स्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा लमही नगरपालिका–४ का वडाध्यक्ष सुवास न्यौपाने, अस्पताल विकास समितिका सदस्य अजय न्यौपाने, अस्पतालका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । अस्पतालका निमित्त प्रमुख हरि खनालले अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको प्रगति र उपलब्धिबारे जानकारी दिएका थिए ।