‘सुनौलो हजार दिन’का आमा र बालबालिकाको पोषण लेखाजोखा सुरु

तुलबहादुर कवँर मगर

भालुबाङ, २३ कात्तिक । देउखुरीको राप्ती गाउँपालिकामा ‘सुनौलो हजार दिन’का आमा र पाँच वर्ष मुनिका बालबालिकाको पोषण लेखाजोखा कार्यक्रम शनिवारदेखि सुरु भएको छ । मातृशिशु स्वास्थ्य सुदृढीकरण र कुपोषण न्यूनीकरणलाई लक्षित गर्दै गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडामा एकैसाथ सुनौलो हजार दिन कार्यक्रम सुरु गरेको हो ।

अभियान अन्तर्गत करिब चार हजार बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था मूल्याङ्कन गरिने लक्ष्य रहेको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा आमाहरूको तौल, उचाइ र पाखुराको नाप लिइँदै शरीर द्रव्य सूचकाङ्क (बिएमआइ) गणना गरिन्छ । यसबाट गर्भवती तथा स्तनपान गराइरहेका महिलाको पोषण अवस्था सन्तुलित छ कि छैन भन्ने पहिचान गरिनेछ ।

बालबालिकाको तौल, उचाइ र पाखुराको नाप (एमयुएसी) मापन गरी पोषण सूचकाङ्क (जेडएसीओआरइ) निकालिन्छ । यही आधारमा बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाइन्छ । कुपोषणको जोखिममा रहेका बालबालिकालाई आवश्यक परामर्श, पौष्टिक आहार तथा आवश्यकता अनुसार उपचार सेवामा रिफर गर्ने व्यवस्था गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ आमा र शिशु नै भविष्यको समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै ‘सुनौलो हजार दिन’ कार्यक्रमलाई पालिकाको प्राथमिकतामा राखिएको बताए । गाउँपालिका अध्यक्ष विष्टले भने, ‘यो अवधिमा गरिने सही पोषणको लगानीले बालबालिकाको शारीरिक, मानसिक र सिकाइ क्षमतामा दीर्घकालीन प्रभाव पार्छ ।’

कात्तिक २२ देखि २४ गते तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र समुदायको सक्रिय सहभागिता रहेको छ ।